दाङमा ‘हेभिवेट’ पुरूष नेतासँग महिला नेतृको रोचक प्रतिस्पर्धा

Bhugolpark

२५ आश्विन, २०७९,०७:२५

दाङमा प्रतिनिधिसभातर्फ तीन वटै निर्वाचन क्षेत्रमा ‘हेभिवेट’ पुरूष उम्मेदवारसँग महिला नेतृको रोचक प्रतिस्पर्धा हुने भएको छ।

आगामी मंसिर ४ गते हुने निर्वाचनमा प्रमुख दलमध्ये नेकपा एमालेले २ वटा निर्वाचन क्षेत्रमा महिला उम्मेदवार उठाएको छ भने माओवादी केन्द्रले एउटा क्षेत्रमा महिलालाई टिकट दिएको छ। यो सँगै तीनै निर्वाचन क्षेत्रमा महिला नेतृहरू ‘हेभिवेट’ पुरूष उम्मेदवारसँग प्रतिस्पर्धामा छन्।

शान्ता चौधरी भर्सेज मेटमणि चौधरी

दाङको निर्वाचन क्षेत्र नं. १ मा नेकपा एमालेले शान्ता चौधरीलाई उम्मेदवार बनाएको छ। कमलरी आन्दोलनले जन्माएकी नेतृ चौधरीलाई यसअघि एमालेले समानुपातिकबाट सांसद बनाएको थियो। 

शान्ताले यहाँ आफ्नै पूर्व सहकर्मी नेकपा एकीकृत समाजवादी पार्टीका नेता मेटमणि चौधरीसँग प्रतिस्पर्धा गर्नुपर्नेछ।

 

सत्ता गठबन्धनका साझा उम्मेदवार मेटमणि हालका सहकारी विकास मन्त्रीसमेत हुन्। २०७४ सालको निर्वाचनमा उनले नेकपा एमालेका तर्फबाट यहीँ  निर्वाचन क्षेत्रबाट चुनाव जितेका थिए।

तत्कालिन एमालेका जिल्ला इञ्चार्ज तथा केन्द्रीय सदस्य चौधरी पछिल्लो समय पार्टी विभाजन भएसँगै माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा लागेका हुन्।

राजनीतिक पृष्ठभूमी हेर्दा शान्ताभन्दा मेटमणि सिनियर नेता हुन् । विगतमा चौधरीद्बयले एमालेमा रहेर थुप्रै सहकार्य गरेका थिए।

कमलरी आन्दोलनदेखि पछाडि पारिएको वर्ग थारू समुदायमा राजनीतिक चेतना भर्न उनीहरू दुबैले सँगै मिलेर काम गरेका थिए।

अहिले विगतका सहकर्मी बीचमा हुने प्रतिस्पर्धालाईँ राजनीतिक वृत्तमा निकै रोचक रूपमा हेरिएको छ। निर्वाचन क्षेत्र नं. १ थारू बाहुल्यता भएको क्षेत्र हो। 

शान्ताको लागि एमाले नेतृ तथा पूर्व सांसद गंगा चौधरी तगारो बन्दैछन्। पार्टीले गंगालाई टिकट नदिएपछि विद्रोह गरेरे गंगाले शान्ता बिरूद्ध बागी उम्मेदवारी दिएकी छन्। यसबाट शान्ताको मत काटिने सम्भावना छ।

रेखा शर्मा भर्सेज शंकर पोखरेल

निर्वाचन क्षेत्र नं. २ मा गठबन्धन दलबाट नेकपा माओवादी केन्द्रले पूर्वमन्त्री रेखा शर्मालाई प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार बनाएको छ।

शर्माले २०६४ सालको संविधान सभा निर्वाचन पश्चिम दाङबाट जितेकी थिइन्। त्यतिबेला दाङमा पाँच निर्वाचन क्षेत्र थिए। उतिबेला सबै क्षेत्र माओवादीले क्लिनस्वीप गरेको थियो।

यसपटक पूर्व सभामुख कृष्णबहादुर महरा पछि सरेपछि रेखालाई पार्टीले उम्मेदवार बनाएको हो। दाङ निर्वाचन क्षेत्र नं. २ को घोराही क्षेत्रमा पर्छ। यहाँ बंगलाचुली गाउँपालिका र घोराही उपमहानगरपालिका गरी दुई पालिका मात्रै छन्। रोल्पा र प्यूठानसँग सीमा जोडिएको यो क्षेत्रमा अधिकांश मानिस रोल्पाबाट बसाई सरेर आएका छन्। 

आस्थाका दृष्टिकोणले रोल्पालीहरू अधिकांश माओवादी निकट छन्। त्यसको लाभ रेखालाई हुनसक्छ। उनी मन्त्री हुँदा वा राजनीतिक रूपमा पनि कुनै पनि विवादमा नमुछिएकी नेतृ हुन्। त्यसको लाभ उनले उठाउन सक्छिन्। यो नेपाली कांग्रेसको बलियो पडक भएको क्षेत्रसमेत हो। त्यसैले उनलाई थप फाइदा हुनसक्छ।

तर, उनलाई नेकपा एमालेका महासचिव शंकर पोखरेललाई हराउन सहज हुनेछैन्।

२०७४ सालको निर्वाचनमा शंकर पोखरेल वाम गठबन्धनको तर्फबाट निर्वाचन क्षेत्र नम्बर २ को (क) बाट निर्वाचित भएका थिए। त्यसपछि उनी लुम्बिनी प्रदेशको मुख्य मन्त्री बनेका थिए ।

त्यति बेला निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा बाम गठबन्धनकै कृष्णबहादुर महरा निर्वाचित भएका थिए। शंकरको गृहनगर तुलसीपुर उपमहानगरपालिकानै हो। 

शंकरले २०५१ पछि हालसम्म कुनै पनि केन्द्रको संसदीय निर्वाचन जितेका छैनन्। त्यसैले उनी २०७४ सालमा आफ्नो निर्वाचन क्षेत्र नं. ३ छोडेर क्षेत्र नं. २ मा  चुनाव लड्न गएका थिए। 

पछिल्लो समय शंकरको पक्षमा दंगाली जनताको मनमा एउटा राम्रो छाप छ। उनकै पहलमा र उनी मुख्यमन्त्री हुँदा लुम्बिनी प्रदेशको स्थायी राजधानी रूपेन्देहीबाट दाङ सार्न भूमिका खेलेको जस उनैलाई छ।

त्यसैलाई उनले भोट तान्ने प्रमुख अस्त्रको रुपमा प्रयोग गर्ने देखिन्छ। मनोनयन दर्ता गरेपछि उनले आइतबार त्यो कुरा पनि प्रमुखताका साथ उठाएका थिए।

गत वैशाख १० मा भएको स्थानीय तह निर्वाचको परिणामका कारण पनि शंकर उत्साहित छन्। गठबन्धन दलका उम्मेदवारलाई हराउँदै घोराही उपमहानगरपालिकासहित बहुमत वडाध्यक्षमा एमालेले जित निकालेको थियो।

तर, कतिपय माओवादी नेताले आज पनि त्यो हारको प्रमुख कारण कांग्रेस भित्रकै आन्तरिक घात/अन्तर्घातलाई बताउँने गर्छन्। अहिले त्यस्तो स्थिति नरहेकाले रेखाको पल्ला भारी हुने माओवादी पक्षको दाबी छ। 

जे जस्तो भए पनि इमान्दार छबिकी रेखा र पार्टी भित्र कम्युनिष्ट आन्दोलन र जबजको ब्याख्याता मानिने शंकरबीचमा रोचक प्रतिस्पर्धा पक्कै हुनेछ।

कोमल वली भर्सेज दीपक गिरि

निर्वाचन क्षेत्र नं. ३ मा नेकपा एमालेले कोमल वलीलाई प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार बनाएको छ।

वली २०७४ सालको निर्वाचनताका राप्रपा छोडेर एमाले प्रवेश गरेकी हुन्। पार्टीले समानुपातिक सांसद बनाएपछि कोमल यो बीचमा राष्ट्रिय सभा सदस्य समेत बनेकी थिइन्। दाङ टिकरीकी कोमल कला क्षेत्रबाट उदाएकी नेतृ हुन्।

गायिका हुँदै रेडियो नेपालमा लामो समय समाचार वाचिकाको रूपमा काम गरेकी उनले राप्रपाबाट राजनीतिक यात्रा सुरू गरेकि थिइन् ।उनीलाईँ कला र वक्तित्व शैलिमा माहिर भएकी कारणले गर्दा अधिकांश एमाले नेताकार्यकर्ताले रुचाएको मानिन्छ ।

पार्टी भित्र संस्थापन पक्षधर गृहमन्त्री बालकृष्ण खाण पक्षलाई हराएर दीपक गिरि लुम्बिनीका ठूला नेता मानिन्छन्।

निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत पर्ने चार पालिकामध्ये तुलसीपुरबाहेक स्थानीय तह निर्वाचनमा कांग्रेसले शान्तिनगर, दंगीशरण र बबई गाउँपालिकामा एकलौटी जित निकालेको थियो। सोही परिणामका आधारमा पनि गिरि बलियो देखिन्छन्।

पूर्व सिँचाई मन्त्रीसमेत रहेका गिरिले त्यतिखेर जिल्लामा पुल, बाटो लगाएत पूर्वाधार निर्माणमा थुपै कामहरु गरेका छन्। त्यो बाहेक उनकै पहलमा सुरू भएको बृहत सिँचाई परियोजना दाङका लागि महत्वपूर्ण परियोजना मानिएको छ।

विगतमा उनको कामलेनै यसपालि गिरिलाई सहज हुने अनुमान पार्टी पङ्तीले गरेको छ।  तर जे होस् कोमल र दीपक बीचको प्रतिश्पर्धा निकै रोचक हुने देखिएको छ।


164 Views

Comments