३१ वैशाख,काठमाडौँ । कृषि तथा ग्रामिण पर्यटनसँग जोडिएका महिला उद्येमीलाई डिजीटलाईजेसनमार्फत सशक्तिकरण गर्ने उद्देश्यले वैशाख ३० देखि जेठ १ गतेसम्म होटल हिमालय, कुपण्डोल ललितपुरमा दक्षिण एशियाली महिलाहरूको सम्मेलन २०८१ हिजोबाट सुरु भएको छ । सम्मेलनमा नेपाल, भारत, श्रीलंका, भुटान, माल्दिभ्स, पाकिस्तान र अफगानिस्तानका लघु, साना र मध्यम स्तरका महिला उद्यमी व्यवसायीहरू, सम्बन्धित देशका सरकारी प्रतिनिधिहरू, नागरिक समाज, बुद्धिजीवी वर्ग तथा अनुसन्धानकर्ता, प्रविधि प्रदायक संस्था, अन्तर्राष्ट्रिय संस्था, कर्पोरेट क्षेत्र, युवा तथा विद्यार्थी, विकास एजेन्सीहरू, संचारकर्मी लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।
पहिलो पटक नेपालमा भइरहेको सो सम्मेलनले निम्नलिखित मुख्य उद्देश्यहरू राखेको छः
१. दक्षिण एशियाली महिलाहरूद्धारा संचालित लघु, साना र मध्यम स्तरका व्यवसायहरूको प्रवद्र्धन गर्नु ।
२. लैङ्गिक डिजिटल ग्यापलाई कमगर्न पुलको रुपमा कामगर्नु ।
३. महिलाहरूको आर्थिक सशक्तिकरणमा टेवा पुर्याउनु ।
आदि रहेको छ ।
सो समारोहको उदघाटन हिजो सम्माननीय उप-राष्ट्रपति रामसहाय प्रसाद यादवले गर्नुभएको थियो । आफ्नो उदघाटन मन्तव्यका क्रममा प्रमुख अतिथि उप-राष्ट्रपतिले “दक्षिण एसियाका महिलाको पुँजी र बजारमा प्रवेश अति आवश्यक छ । आरक्षणबाट ३३ प्रतिशत राजनैतिक सहभागितापछि आर्थिक सशक्तिकरणमा काम गर्नु जरुरी छ” भन्नुभयो । उहाँले लैङ्गिक असमानता न्यूनीकरण र आर्थिक सशक्तिकरण बढाउन डिजिटल रुपान्तरणमार्फत महिला सशक्तीकरण आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले विभिन्न क्षेत्रहरूमा महिला सहभागिता प्रवर्द्धन गर्ने महत्त्वलाई प्रकाश पार्दै दक्षिण एसियाका सामूहिक चुनौति लैङ्गिक असमानताको मूल कारणहरू पहिचान गर्न र दक्षिण एसियाली अर्थतन्त्रको सन्दर्भमा व्यापार, उत्पादन, पर्यटन व्यवस्थापन र कृषिमा महिला सहभागिताको महत्व अपरिहार्य रहेको कुरा दोहोर्याउँनुभयो । आर्थिक सशक्तिकरण प्रजातान्त्रिक रूपमा आर्थिक अधिकार र महिलाका लागि न्याय, औपचारिक र अनौपचारिक कार्यस्थलहरूमा लैङ्गिक असमानता पूरा गरेर मात्र हासिल गर्न सकिने बताउँनुभयो। उहाँले कार्यक्रम कार्यान्वयनका लागि SWAN, Asia Foundation, UN Women, र USAID जस्ता संस्थाहरूसँग साझेदारीको महत्त्वलाई औंल्याउँदै महिला उद्यमीहरूलाई नेटवर्किङ र जडान गर्ने मञ्चका रूपमा काम गरेको भन्दै सम्मेलनमा आयोजनकको प्रशंसा गर्नुभयो ।
सो समारोहमा विशेष अतिथि महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले लैंगिक उत्तरदायी बजेट अझै पर्याप्त हुन नसकेको बताउनुभयो । उहाँले दिगो विकास लक्ष प्राप्ति गर्न सरकारी क्षेत्रमा महिलाको प्रतिनिधित्व बढाउनुपर्नेमा जोड दिनुभयो । भर्खरैको जनगणनाको तथ्याङ्क अनुसार यी अधिकारहरूको प्रयोग गर्ने महिलाहरूमा थोरै वृद्धि भएको उल्लेख गर्दै उहाँले सम्पत्ति अधिकारको महत्त्वलाई जोड दिनुभयो । चौधरीले महिला सशक्तिकरणका तीन स्तम्भहरू: महिलाका लागि जोखिम उद्धार, सांस्कृतिक सीमाना तोड्ने र आर्थिक विकासलाई बढावा दिनु जरुरी रहेको बताउनुभयो । उहाँले विगत दुई दशकमा मातृ मृत्युदरमा भएको सुधारलाई उल्लेख गर्दै विशेष गरी सरकारी मन्त्रालय र स्थानीय सरकारहरूमा लैङ्गिक-उत्तरदायी बजेटमा चुनौतीहरू सम्बोधन गर्न आग्रहसमेत गर्नुभयो ।
“ग्रामीण पर्यटनमा दिगो विकास र महिला सशक्तिकरण”लाई मुख्य विषयवस्तु बनाएको आयोजकहरूले बताएका छन् । आयोजक संस्थाका अनुसार यस परिवर्तनकारी सम्मेलनले “दक्षिण एशियाभरिका महिलाहरूले आर्थिक सशक्तिकरणका विषयमा झेलेका र भोगीरहेका अप्ठ्यारोको विषयवस्तुलाई लक्षित गरेको छ । जसमा वित्तिय पहुँच, बजारीकरण, डिजिटल प्रविधि र व्यवसायिक विकास रहेका छन् । साथसाथै लघु, साना र मध्यम स्तरका व्यवसायहरूलाई विषेश जोड दिदै ग्रामीण पर्यटन, कृषि र जलवायु परिवर्तन जस्ता समसामयिक विषयहरुलाई समेट्न खोजेको छ ।
विशेष गरी ग्रामीण पर्यटन व्यवसाय अन्तर्गतका महिलाहरूको आर्थिक सशक्तिकरण, डिजिटल प्रविधिसँग सम्बन्धित सेवा सुविधाहरू, क्षमता विकास, आयश्रोतको बृद्धि, लैङ्गिक समानता र प्रतिस्पर्धात्मक सोचलाई प्रविधि र विश्व बजारसँग समन्वय गर्नको लागि एउटा अवसर प्रदान गर्नु सम्मेलनको मुलभूत उद्देश्य रहेको छ । जसले दक्षिण एशियाली महिलाहरूलाई एउटै संजालमा राखेर उनीहरूको अनुभव आदान प्रदान गरी ग्रामीण महिलाहरूलाई रोजगारीको अवसर सिर्जना गराउने एउटा पुलको भूमिका निर्वाह गर्नेछ । यसमा विभिन्न महिला उद्यमीहरूका सफलताको कथाहरू जस्तैः ईन्टरनेट साथी, ग्रामिण पर्यटन र महिलाहरू आयोजमा परिवर्तन, दिगो अर्गानिक कृषि प्रविधिद्धारा ग्रामिण महिलाहरूको जीवनस्तर उकास्ने जस्ता विषयवस्तुहरूलाई समेटिएको छ ।
SWAN, Asia Foundation, UN Women, र USAID जस्ता संस्थाहरूको आयोजनामा भएको सो सम्मेलनको नारा “ग्रामीण पर्यटनमा दिगो विकास र महिला सशक्तिकरण’ले सार्थकता पाओस् भन्ने कामना भूगोलपार्क परिवार गर्दछ ।
Comments