प्रधानमन्त्री पुष्पकमल दाहालले पाए विश्वासको मत

३० फाल्गुन, २०८०,१६:१२

संसदमा उपस्थित संख्या : २६८,

पक्षमा : १५७, विपक्षमा : ११०, मत दिन्नँ: १ र अनुपस्थित: ७ जना सांसद

३० फागुन, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले फागुन ३० गते तेस्रो पटक प्रतिनिधि सभाबाट विश्वासको मत पाएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीले प्रस्तुत गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा १ सय ५७ मत र विपक्षमा १ सय १० मत प्राप्त भएको छ । बैठकमा दुई सय ६८ सांसद उपस्थित हुनुहुन्थ्यो भने सात सांसद अनुपस्थित हुनुभएको थियो । कुल दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा विश्वासको मतका लागि १ सय ३८ मत आवश्यक पर्छ । विश्वासको मतसम्बन्धी प्रस्तावलाई मत विभाजनको प्रक्रियामा लगिएको थियो । सभामुख देवराज घिमिरेले मत विभाजनको परिणाम सार्वजनिक गर्दै प्रधानमन्त्री दाहालले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा १ सय ५७ प्राप्त भएको जानकारी गराउनुभयो ।

उहाँले सो सङ्ख्या प्रतिनिधिसभामा तत्काल कायम रहेको सदस्य सङ्ख्याको बहुमत भएकाले प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न राख्नुभएको प्रस्ताव बहुमतले पारित भएको घोषणा गर्नुभयो । प्रधानमन्त्री दाहाललाई सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टीका सांसदले विश्वासको मत दिनुभएको थियो ।

७ जना अनुपस्थितमा बिरामी भएर उपचाररत एमालेका नेता वसन्तकुमार नेम्वाङ, राप्रपाकी गीता बस्नेत, जनमतकी सोनु मुर्मु अनुपस्थित रहेको संसद सचिवालयलका प्रवक्ता एकराम गिरीले जानकारी दिए । कांग्रेसका टेकबहादुर गुरुङ र एमालेका टोपबहादुर रायमाझी निलम्बित छन् । सभामुख देवराज घिमिरे मतविभाजनका क्रममा सभाको अध्यक्षता गरेकाले सहभागी भएनन् । इलाम १ मा सुवासचन्द्र नेम्वाङको निधनले बैशाख १५ गते उपनिर्वाचन हुँदैछ ।

एमालेका ७५, माओवादीका ३२, सास्वपाका २१, जसपा १२, एकिकृत समाजवादीका १०, नागरिक उन्मुक्तिका ४, प्रभु साह, अमरेशकुमार सिंह र योगेन्द्र मण्डल गरी १५७ सांसदले विश्वासको मत दिएका थिए । प्रधानमन्त्री दाहालको विपक्षमा कांग्रेसका ८७, राप्रपा १३, जनमत ५, लोसपा ४ र जनमोर्चा १ गरी ११० सांसदले विपक्षमा मतदान गरे । नेमकिताका प्रेम सुवाल तटस्थ बसे ।

यही फागुन २१ गते सत्ता गठबन्धनमा परिवर्तन भएसँगै नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले आज पुनः विश्वासको मत लिनु भएको हो । माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका दाहाल २०७९ साल पुस १० गते प्रधानमन्त्रीमा चयन हुनुभएको थियो । उहाँले पहिलो पटक २०७९ पुस २६ गते विश्वासको मत लिनुभएको थियो । नेपाल कम्युनिष्ट पार्टी (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायतको समर्थनमा प्रधानमन्त्री बन्नुभएका दाहालले पहिलोपटक प्रतिनिधिसभामा रहेका अधिकांश दल र सांसदको विश्वासको मत प्राप्त गर्नुभएको थियो । संसद्मा उपस्थित २ सय ७० सांसदमध्ये २ सय ६८ जनाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिनुभएको थियो । उहाँलाई सो समयमा नेपालको इतिहासमै सबैभन्दा बढी मत प्राप्त भएको थियो ।

त्यसबेला नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)लगायतका सबै दलले उहाँलाई विश्वासको मत दिएका थिए । राष्ट्रपति निर्वाचनका क्रममा सत्ता गठबन्धन परिवर्तन भएसँगै प्रधानमन्त्री दाहालले दोस्रोपटक २०७९ चैत ६ गते पुनः प्रतिनिधिसभाबाट विश्वासको मत लिनुभएको थियो । एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उहाँले विश्वासको मत लिनुभएको थियो । सो समयमा उहाँले १ सय ७२ मत प्राप्त गर्नुभएको थियो । उहाँको विपक्षमा ८९ मत परेको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिएका हुन । उक्तधारामा प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नुपर्ने प्रावधान छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल विश्वासको मत लिन सफल हुनुभएकोमा भूगोलपार्कको तर्फबाट उहाँलाई हार्दिक बधाई एवं उहाँको सरकारले जनताले अनुभूतिहुने गरी सुशासन गरोस् भन्ने शुभकामना समेत दिनचाहान्छौँ ।



383 Views

Comments