४५.८३% प्रतिशतले शिव मन्दिरहरूमा परम्परागत अनुष्ठान र प्रार्थना गर्ने बताउँनुभयो

२१ बैशाख, २०८१,१६:०२

महाशिवरात्रि पर्व २०८०

पूर्व सचिव भीम उपाद्यायले भूगोल पार्कको प्याटफर्ममा गत हप्ता महाशिवरात्रि पर्व २०८० भन्ने विषयमा मिनि पोल (मनमौजी) बनाउँनुभएको थियो ।

२९ फागुन, काठमाडौँ । महाशिवरात्रि पर्व देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना गरी सम्पन्न भएको छ । महाशिवरात्रिमा भगवान् शिवको पूजा–आराधना गरी मनाइन्छ । यसैक्रममा आराध्यदेव भगवान् पशुपतिनाथको दर्शनका लागि भक्तजनको फागुन २६ गते रातिदेखि नै पशुपतिमा भीड लागेका थिए । बिहान २ बजेदेखि फागुन २७ गते पशुपतिनाथमा करिब २० लाखभन्दा बढी भक्तजनले दर्शन गरेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवणीरमण अधिकारीले जानकारी दिनुभयो ।

भक्तजनको सहजताका लागि पशुपतिनाथका चारैवटै ढोका बिहान २ बजेदेखि खोलिएको र एकैचोटीमा नौ जनादेखि १० जनासम्मले दर्शन गर्नसक्ने गरी व्यवस्था मिलाइएको विकास कोषले जनाएको थियो । पशुपतिमा शिवरात्रिमा भारतबाट लाखौँ साधुसन्त र तीर्थयात्री आएका थिए । पशुपति क्षेत्रमा गाँजा, भाङ, जाँड–रक्सी तथा मासु पूर्णरुपमा निषेध गरिएको थियो । पशुपति पुग्ने भक्तजनका लागि एम्बुलेन्स सेवा, करिब ६ सय जना स्वयंसेवक, ७० वटा स्वास्थ्य शिविर, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागका सुरक्षा अधिकारी परिचालन भएका विकास कोषका सदस्य सचिव राजुकुमार खत्रीले बताउनुभएको थियो ।

वैदिक सनातन हिन्दू धर्मावलम्बी महाशिवरात्रीका दिन बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । शिवको पूजा गर्न भनी फागुन २५ गते बिहानैदेखि काठमाडौँको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, भक्तपुरको डोलेश्वरलगायतका मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको थियो । व्रत बस्ने भक्तजनले भगवान शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाएर पूजा गर्ने गर्छन् । महाशिवरात्रीका दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गर्ने चलन पनि छ ।

महाशिवरात्रीको अवसरमा नेपाली सेना दिवस परेकाले नेपाली सेनाले टुँडिखेलमा शिवरात्रि विशेष समारोह पनि आयोजना गरेको थियो । पशुपतिनामा तीन हजारभन्दा बढी साधुसन्त आएको विकास कोषको अनुमान छ । उनीहरूका लागि धुनी, भोजन र बाटो खर्चका लागि पशुपति क्षेत्र विकास कोषले हरेक वर्ष बजेट छुट्टाउँदै आएको छ । पशुपतिनाथ दर्शनार्थ महाशिवरात्रिका दिन ठूलो सङ्ख्यामा आउने भक्तजनको सहजताका लागि पशुपति क्षेत्र विकास कोषले विभिन्न स्थानबाट मन्दिरसम्मको लाइनको प्रवन्ध मिलाएको थियो ।

महाशिवरात्रि पर्वलाई व्यवस्थित बनाउन भकुण्डोलमा नेपाल प्रहरी मूल शिविर रहेको थियो भने सशस्त्र प्रहरी बलको नेपाल सुरक्षा कमाण्ड पोष्ट पशुपतिक्षेत्र नासल चोकमा रहेको थियो । मूल शिविरसँगै कमाण्डपोष्टअन्तर्गत सव कमण्ड पोष्ट खडा गरी समग्र पशिुपति क्षेत्रको महाशिवरात्री पर्वमेला त्रुटिरहित सुरक्षा प्रणाली अपनाइएको सुरक्षाकर्मीले बताएका थिए ।

पशुपतिनाथ मन्दिर नजिकै कोर क्षेत्रमा डाक्टर, नर्स, औषधि र बेडसहितिको नेपाली सेनाको मूल स्वास्थ्य शिविर रहेको थियो । त्यसैगरी सशस्त्र प्रहरी, नेपाल प्रहरीसमेतका गरी करिब ५० वटा स्वास्थ्य शिविर रहेका पशुपति क्षेत्र विकास कोषले जनाएको थियो । आपत्कालीन अवस्थाका लागि एम्बुलेन्स र आगो नियन्त्रक साधनलाई तयारी अवस्थामा राखिएको थियो ।

पशुपतिनाथको दर्शनका लागि यस पटक नौवटा र्याम्प (बाटो) को व्यवस्था गरिएको थियो । उत्तरपट्टी तीन वटा, पूर्वपट्टी दुई वटा, दक्षिणपट्टी दुई तथा पश्चिमपट्टी दुई वटा र्याम्पको व्यवस्था गरिएको थियो । उता पार्किङ तथा ट्राफिक व्यवस्थापनका लागि तिलगङ्गा करिडोरको उपलब्ध ठाउँ, पशुपति क्षेत्र विकास कोषको कार्यालय, प्रहरी वृत्त ट्राफिक प्रहरी विभाग गौशाला, सिफल चौरहाको उपलब्ध ठाउँ, गुह्येश्वरी पारी गरी पाँच स्थानमा व्यवस्थापन गरिएको विकास कोषले जनाएको थियो । विमानस्थल, गौशाला, चाबहिलको रिङरोडमा यात्रुको चापलाई ध्यानमा राखी सडकको आधा भागमा सार्वजनिक सवारी गुड्न दिने र आवश्यकताअनुसार डाइभर्सनकोसमेत व्यवस्था मिलाइएको थियो ।

यसै विषयमा “जनताको अभिमत जस्ताको तस्तै” जनतासामू पुगोस भन्ने हेतुले गत हप्ता पूर्व सचिव भीम उपाद्यायले मिनि पोल बनाउँनुभएको थियो । उक्त मिनि पोलमा सहभागिता जनाउँदै हजारौँले आफ्नो अभिमत व्यक्तगर्नुभएको थियो ।

उक्त मिनि पोलमा भोट गर्नुहुने महानुभावहरूलाई सर्वप्रथम त हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ ।

हामीले यसै विषयमा पहिलो प्रश्न आध्यात्मिक रूपमा तपाईलाई महाशिवरात्रि पर्वको कुन पक्ष सबैभन्दा महत्त्वपूर्ण लाग्छ ? भनि सोधिएका थियौँ । जसमा ४५.८३% प्रतिशतले शिव मन्दिरहरूमा परम्परागत अनुष्ठान र प्रार्थना गर्ने,२५.०% प्रतिशतले उपवास र आफू अनुशासनमा बस्ने, १५.२८% प्रतिशतले दान धर्म र सेवाका कार्यहरूमा संलग्न हुने र १३.८९% प्रतिशतले महाशिवरात्रिको प्रसाद ग्रहण गरी आन्तरिक शान्ति खोज्ने भनि अभिमत दिनुभएको थियो।



121 Views

Comments