सरकारलाई सफल बनाउन पाँच दलबीच सहमति

२१ बैशाख, २०८१,१२:५६

२९ फागुन, काठमाडौँ । सत्ता गठबन्धनमा रहेका पाँच राजनीतिक दलबीच नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा पुनर्गठित वर्तमान सरकारलाई सुदृढ र सफल पार्ने सहमति भएको छ । सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने पाँच राजनीतिक दलका शीर्ष नेतृत्वको बैठकले उक्त सहमति गर्दै राष्ट्रियसभाको रिक्त रहेको अध्यक्ष पदमा माओवादी केन्द्रका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको हो । बैठकले राष्ट्रिय आवश्यकता र जनचाहनाअनुसार सरकारको कामलाई थप प्रभावकारी बनाउन तथा मुलुकको सुशासन, विकास, सामाजिक न्याय र समृद्धिका प्रश्नमा समान सोच राख्ने दलहरूका बीचमा सहकार्यलाई थप मजबुद गर्ने निर्णय गरेको हो ।

दलहरूबीच नयाँ संयुक्त सरकार गठन प्रक्रियामा सकारात्मक अन्य दलहरूसँग संवाद अघि बढाउने तथा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक, शान्ति प्रक्रिया र देशमा स्थायी शान्ति कायम गर्नका लागि यससँग सम्बन्धित अन्य विषयहरू सहमतिका आधारमा अविलम्ब टुङ्ग्याउने सहमति भएको छ । सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित बाँकी कानुन निर्माण गरी सबै तहका सरकारलाई प्रभावकारी बनाउने तथा देशका आर्थिक समस्या सम्बोधन गर्दै राष्ट्रिय हित र लोकतन्त्रलाई सुदृढ बनाउन सरकारको नीति तथा कार्यक्रमलाई मार्गदर्शन गर्ने गरी सरकारमा सहभागी दलहरूका बीचमा साझा न्यूनतम कार्यक्रम तयार गर्ने दलहरूको सहमति छ । दलहरूबीच राजनीतिक दल राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई सुदृढ गर्न तथा समाजवादउन्मुख आर्थिक–सामाजिक विकासका लागि राजनीतिक स्थायित्वको दिशामा अघि बढ्न सहमति भएको समझदारीपत्रमा उल्लेख छ ।

पाँच राजनीतिक दलबीच जनचाहनाअनुरूप सुशासन, विकास र सामाजिक न्यायका आकाङ्क्षा पूरा गर्न, राष्ट्रिय हित र सरोकारलाई प्राथमिकतामा राखेर अघि बढ्ने सहमति भएको छ । सन्तुलित र फराकिलो अन्तर्राष्ट्रिय सम्बन्धको विकास गर्न तथा नेपालको संविधानको मर्म र भावनाअनुरूप सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै समृद्धिको दिशामा प्रभावकारी ढङ्गले अघि बढ्ने दलहरूबीचको समझदारी छ । सातबुँदे सहमतिपत्रमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री दाहाल, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गर्नुभएको छ ।



106 Views

Comments