११४औैँ अन्तर्राष्ट्रिय महिला दिवस

२१ बैशाख, २०८१,१०:३६

२५ फागुन, काठमाडौँ । आज ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रम आयोजना गरेर मनाइँदै छ । विश्व महिला आन्दोलनको आधुनिक अभियान सन् १९१० मार्च ८ तारिखबाट सुरु भएसँगै हरेक वर्ष श्रमिक महिलाका अधिकार स्थापित गर्ने उद्देश्यसहित अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै आइएको छ । महिला हक, अधिकार, सशक्तीकरण एवं लैङ्गिक समानताका लागि आवाज उठाउँदै विश्वभरि एक शताब्दीभन्दा बढी समयदेखि आजकै दिनलाई महिलाका लागि विशेष दिनका रूपमा मनाइँदै आइएको छ ।

सन् १९०८ मार्चमा १५ हजार महिलाले न्यूयोर्क सिटीमा काम गर्ने समय थोरै हुनुपर्ने, राम्रो ज्याला दिनुपर्ने र मतदानको अधिकार हुनुपर्ने मागसहित र्याली गरेसँगै यसको बिजारोपण भएको थियो । यसको एक वर्षपछि अमेरिकाको समाजवादी पार्टीले पहिलो राष्ट्रिय महिला दिवस घोषणा गरेको थियो । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९१० मा अन्तर्राष्ट्रिय महिला दिवस सुरुआत गर्नुपर्नेमा सुझाएकी थिइन् । पहिलो पटक सन् १९११ मा अन्तर्राष्ट्रिय महिला दिवस अस्ट्रिया, जर्मनी, डेनमार्क र स्विट्जरल्याण्डमा मनाइएको थियो । तर संयुक्त राष्ट्रसङ्घले सन् १९७५ मा यो दिवस मनाउन थालेपछि यसले आधिकारिक मान्यता पाएको थियो । श्रमबारे उठेको आन्दोलनलाई संयुक्त राष्ट्रसङ्घले वार्षिक कार्यक्रमका रूपमा अन्तर्राष्ट्रिय महिला दिवसको मान्यता दिएको थियो ।

लैङ्गिक समानता हासिल गर्न महिला तथा बालिकाको सुरक्षा र सामाजिक संरक्षणको पूर्ण प्रत्याभूतिका सार्थ सभ्य र न्यायपूर्ण समाज निर्माण गर्न, महिलाका अधिकार र सशक्तीकरणका सवालमा आवाज बुलन्द गर्न, महिलाको सहभागिता, विभेद, असमानताका सवालमा र्याली, जुलुस तथा विभिन्न सचेतनामूलक कार्यक्रम गरी दिवस मनाइने भएको छ । यस वर्ष ‘महिलामा लगानी : सभ्य र समुन्नत समाजको थालनी’ भन्ने राष्ट्रिय नारासहित ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ ।

“महिलाहरू जागिर नखाइकन घरधन्दामा सिमित भयो भने श्रीमानको सम्पतिमा रजाई गरेर बसेकी” भन्ने एवं “श्रीमती जागिर खान गइन भने बालबच्चाको लालनपालन गर्नछोडेर जागिर खान गइन” भन्ने चलन छ । अहिलेसम्म पुरुषहरूलाई भन्दा महिलालाई नै घरेलु जिम्मेवारी बढी हुने गरेको छ । त्यसतो कुप्रथाको अन्त्य गर्दै समान रूपमा कामको बाँड्भाड गरिनुपर्छ । घरपरिवारको निर्णय प्रक्रियामा महिलाहरूको आवाज सुनी कार्यन्वयन गर्नुपर्छ । यसगरी परम्परागत लैङ्गिक मान्यता र स्टिरियोटाइपहरूलाई परिवर्तन गर्नसक्नुपर्छ । महिलालाई कसैले पनि दास बनाउँने कुचेष्टा गरिनुहुँदैन् ।

त्यस्तै राज्यले पुरुषसरह महिलाहरूलाई पनि कर्मचारी भर्ना गर्नुपर्छ । दलहरूले मन्त्री,सांसदलगायत पदमा पुरुषसरह महिलाहरूलाई पनि समान सहभागिता गराउँनुपर्छ । लैङ्गिक समानतालाई बढावा दिने नीतिहरूको वकालत गर्नुपर्छ । यस वर्ष ‘महिलामा लगानी : सभ्य र समुन्नत समाजको थालनी’ भन्ने राष्ट्रिय नारासहित मनाइने ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसले सार्थकता पाउँछ । यानी महिला सशक्तिकरणमा टेवा पुग्छ भन्ने भूगोलपार्कको ठम्याइ रहेको छ ।



108 Views

Comments