वसन्त पञ्चमी अर्थात सरस्वतीको पूजा देशभर धुमधामले मनाइँदै

२ फाल्गुन, २०८०,१२:२९

२ माघ, काठमाडौँ । वसन्त पञ्चमी अर्थात सरस्वती पूजा देशभर विद्याकी अधिष्ठात्री माता सरस्वतीको पूजाआराधाना गरी मनाइँदै छ । ज्ञान-विज्ञान, कला-शिल्प एवं संगीतकी देवी सरस्वती माताले हामी सबैलाई विद्या, वाणी र प्रशिद्धि प्रदान गरुण भन्दै विशेष गरी शैक्षिक संस्थानमा आज देशभरी धुमधामले सरस्वती माताको पूजाआराधाना गर्ने गर्छन् ।

 विद्याकी देवी भएकाले विशेष गरी साहित्यकार कलाकार पत्रकार शिक्षक र विद्यार्थीहरूले आआफ्नो कला साधानाका वस्तु कलम, कापी र वाद्ययन्त्रलाई सरस्वतीका रुपमा पूजाआराधाना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रुपमा मान्छन् ।

आजको दिन सरस्वतीको पूजाआराधाना गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्तहुने जनविश्वास रहेको छ । आजको दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक-कान छेडनसमेत शुभ मानिन्छ ।

काठमाडौँ उपत्यकामा स्वयम्भू, मैतिदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत देशभर सरस्वतीको मन्दिरमा आज बिहानैदेखि पूजाआर्धना गर्न विशेष गरी बालबालिकालगायत भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ । सरकारले आजको दिन शैक्षिक संस्थाहरुमा विदा दिएको छ । सरस्वती माताले देशविदेशमा रहनुहुने हाम्रा पाठक एवं स्रोता दर्शकहरूको परिवारमा कृपादृष्टि राखी मनोकामना पूरा गरुन भन्दै भूगोल पार्कको तर्फबाट हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ ।



348 Views

Comments