केराका थामबाट बनाइएका सामग्रीतर्फ दर्शकको रोजाइ

२२ बैशाख, २०८१,१५:२१

 २४ माघ, वालिङ (स्याङ्जा) । आफू बसोबास गरेको क्षेत्रमा हस्तकलाका सामान र कृषिजन्य उत्पादन गर्न सकेको खण्डमा परिवारसँगै बसेर स्वदेशमा नै रोजगारी पाउँन सकिन्छ । साथै देशको अर्थतन्त्रलाई पनि थोरै भएपनि टेवा पुर्याउँनका लागि मद्दत मिल्न जान्छ । यसको पछिल्लो उदाहरण बन्न पुगेको छ स्याङ्जाको कालीगण्डकी गाउँपालिका । स्याङ्जाको वालिङमा सञ्चालित महोत्सवमा केराका थामबाट बनाइएका केराका थामबाट बनाइएका सामग्रीतर्फ दर्शकको रोजाइ बढ्दै गएको छ । वालिङ उद्योग वाणिज्य सङ्घले आयोजना गरेको आठौँ वालिङ महोत्सवस्थलमा स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले केराका थामबाट बनाएका सामग्री अवलोकन तथा खरिद गर्नेको घुइँचो बढेको हो ।

उद्योग वाणिज्य सङ्घले कृषि तथा हस्तकलाका सामग्री प्रदर्शनका लागि निःशुल्क उपलब्ध गराएको व्यापारिक कक्षमा गाउँपालिकाले बनाएका हस्तकलाका सामग्री प्रदर्शन गरिएको हस्तकला तथा स्थानीय उत्पादन व्यवस्थापन समितिका संयोजक पिताम्बर भुसालले बताउनुभयो । स्थानीय उत्पादनको प्रचार–प्रसार, प्रोत्साहन, प्रवर्द्धन तथा व्यापारीकरणका लागि आयोजकले निःशुल्क ३० कक्ष उपलव्ध गराएको हो । “महोत्सवमा हस्तकला, कृषि तथा पशुजन्य उत्पादनको प्रदर्शनी र प्रतिस्पर्धाका लागि राखिएको छ”, उहाँले भन्नुभयो, “हस्तकला तथा कृषिजन्य उत्पादनको प्रदर्शनीले मेलामा आउने दर्शकको ध्यान तानेको छ ।” गाउँपालिकाले त्यसै खेर गइरहेका केराका थामबाट चकटी, गलैँचा, मोडा, चप्पल, सोली, ढकिया, काँचो कपडा, खादालगायत हस्तकलाका सामग्री प्रदर्शनमा राखेको छ । गाउँपालिकाको तर्फबाट कक्षमा रहनुभएकी कृषि प्राविधिक कस्तुरी थापाले महोत्सवमा आउने दर्शकले निकै चासोका साथ सामग्रीको अवलोकन गर्नुका साथै खरिद गरेर लैजाने गरेको बताउनुभयो ।

गण्डकी प्रदेश र गाउँपालिकाको साझेदारीमा नवप्रवर्द्धन कोषमार्फत गाउँपालिकाभित्रका ३० जनालाई गत वर्ष तालिम दिइएको गाउँपालिकाका कृषि शाखा अधिकृत अनुप पौडेलले बताउनुभयो । गत वर्ष ‘केराको बहुउपयोगितासम्बन्धी परियोजना’ मार्फत केराका थामबाट हस्तकलाका सामग्री बनाउन ३० जनालाई ४५ दिने तालिम दिइएको हो । “तालिममा सहभागी भएकाहरूले उत्पादन गरेका हस्तकलाका सामग्रीलाई प्रचार–प्रसारका लागि महोत्सवस्थलमा राखेका हौँ”, उहाँले भन्नुभयो, “तालिमपश्चात सिकेको सीपलाई व्यावसायिकरूपमा उत्पादन गर्नुभएका व्यक्ति तथा गाउँपालिका आफैँले उत्पादन गरेका सामग्री ‘स्टल’मा राखेका छौँ ।” केराका थामबाट हस्तकलाका सामग्री बनाउने स्थानीय आठ जनालाई गाउँपालिकाले रोजगारी दिएको छ । अहिले न्यूनतम मासिक पारिश्रमिक दिएर रोजगारी दिएको र आगामी वर्षमा उत्पादनका आधारमा पारिश्रमिक दिने तयारी गरिरहेको उहाँले बताउनुभयो ।

“हाम्रा बारी कान्लामा त्यसै खेर गइरहेका केराको थामको प्रयोग गरी विभिन्न हस्तकलाका सामग्री बनाउन सकिँदोरहेछ भन्ने देखाउनका लागि पनि यसले महत्त्वपूर्ण भूमिका खेलेको छ”, पौडेलले भन्नुभयो, “यहाँ उत्पादन भएका हस्तकलाका सामग्रीको बजारीकरणका लागि गाउँपालिकाले सहयोग गर्ने छ ।” गाउँपालिकाले यो अभियानलाई आवश्यक पर्ने कच्चा पदार्थका रूपमा रहेको केराका बोट वितरण गरेको छ । गाउँपालिकाभित्र करिब एक लाख बोट केरा रहेका र आगामी दिनमा थप गर्दै जाने उहाँले बताउनुभयो ।

गण्डकी प्रदेश र गाउँपालिकाको साझेदारीमा नवप्रवर्द्धन कोषमार्फत गाउँपालिकाभित्रका बारी कान्लामा त्यसै खेर गइरहेका केराको थामको प्रयोग गरी विभिन्न हस्तकलाका सामग्री बनाउन सकिँने कुराको जानकारीसहित तालिम दिएझैँ यस्ता कार्यक्रमहरू टोलटोलमा सुरु गर्नको लागि संघ प्रदेश र स्थानीय सरकारबीच साझेदारीको अवधारणाको विकास हुनुपर्छ । जसले गर्दा थोरै तलवमा जीवनलाई नै दाउमा राखेर खाडी मुलुकमा जानुपर्ने नेपालीहरूको विवशताको अन्त्य हुन जान्छ । एकातर्फ भने अर्कोतर्फ लोभलालच देखाएर वैदेशीक रोजगारीमा पठाइदिने नाममा आफन्त र दलालहरूले गर्दै आएको ठगीको समेत अन्त्य हुने भएकाले यसतर्फ सम्बन्धित निकायको ध्यान बेलैमा जानुपर्ने भूगोल पार्कको दृष्टिकोण रहेको छ ।



163 Views

Comments