गोल्डेनगेट घोषणा जारी गर्दै एपेक आर्थिक नेताहरूको बैठक सम्पन्न

३ जेष्ठ, २०८१,१७:०६

सान फ्रान्सिस्को, २ मङ्सिर, (रासस-सिन्ह्वा) -

सबैका लागि लचिलो र दिगो भविष्य सृजना गर्ने बारे गोल्डेन गेट घोषणा गर्दै सान फ्रान्सिस्कोमा आयोजित ३० औँ एशिया-प्रशान्त आर्थिक सहयोग (एपेक) आर्थिक नेताहरूको बैठक शुक्रबार सम्पन्न भएको छ। "हामीले हाम्रो क्षेत्रमा रहेको प्रचुर सम्भावना र गतिशीलतालाई जारी राख्न, आर्थिक वृद्धिलाई प्रोत्साहन गर्न र जलवायु परिवर्तन लगायत सबै वातावरणीय चुनौतीहरूलाई सम्बोधन गर्न प्राविधिक र आर्थिक प्रगतिको उपयोग गर्नुपर्छ," घोषणामा भनिएको छ। दुईदिने बैठकमा गहन छलफलपछि उक्त घोषणापत्र पारित गरिएको थियो । नेताहरूले दिगोपन, जलवायु, न्यायोचित ऊर्जा सङ्क्रमण, अन्तरसम्बन्ध र समावेशी तथा लचिलो अर्थतन्त्रको निर्माण लगायतका विषयमा केन्द्रित रहेर छलफल गरेका थिए।

सो अवसरमा नेताहरूले स्वतन्त्र, खुला, निष्पक्ष, गैर-भेदभावपूर्ण, पारदर्शी, समावेशी, र पूर्वानुमानयोग्य व्यापार र लगानी प्रवर्धनको उपयुक्त वातावरण निर्माण गर्ने आफ्नो संकल्पलाई पुन: पुष्टि गरेका छन् । सहभागी नेताहरूले नियममा आधारित बहुपक्षीय व्यापार प्रणालीको महत्त्वलाई आत्मसात् गर्दै बहुपक्षीय व्यापार प्रणालीको महत्त्वलाई पुन: पुष्टि गरेका छन् । विश्व व्यापार सङ्गठन यसको केन्द्रमा रहेको छ जसले एपेक क्षेत्रको असाधारण वृद्धिलाई उत्प्रेरित गर्न जारी राख्ने विश्वास व्यक्त गरिएको छ । साथै एपेक अर्थव्यवस्थाहरू उच्च गुणस्तर र व्यापक क्षेत्रीय उपक्रमहरूमा जोडिनका लागि अर्थतन्त्रको प्रवर्धनमा आफ्नो क्षमता निर्माण र प्राविधिक सहयोग विकास एवं विस्तारका विभिन्न प्रयासहरू बढाउन प्रतिबद्ध रहेको घोषणा पत्रमा जनाइएको छ ।

'हामी एक समान खेल मैदान सुनिश्चित गर्न काम जारी राख्नेछौं विश्वले जलवायु परिवर्तनको प्रभावबाट उत्पन्न गहिरो चुनौतीहरूको सामना गरिराखेको छ' घोषणापत्रमा भनिएको छ। यस क्षेत्रको अर्थतन्त्रले आफ्नो स्वच्छ, दिगो, न्यायोचित, किफायती र समावेशी ऊर्जा सङ्क्रमणलाई विभिन्न बाटो मार्फत गति दिन थप गहन प्रयासहरू जारी राख्न आवश्यक रहेको पनि सहभागी नेताहरूले स्वीकार गरेका छन् । विश्वव्यापी शून्य हरितगृह ग्यास उत्सर्जन तथा कार्बन तटस्थतासँग सुसङ्गत मध्य शताब्दी भित्रै वा यसको आसपास नवीनतम वैज्ञानिक विकास र विभिन्न घरेलु परिस्थितिहरूलाई ध्यानमा राखेर अगाडि बढ्नुपर्ने टड्कारो आवश्यकता औल्याइएको छ ।

एपेक अर्थतन्त्रले कम र शून्य कार्बन उत्सर्जन हुने सवारीसाधनहरूतर्फ सङ्क्रमणलाई गति दिने वाचा गर्छन्; दिगो उड्डयन इन्धन; र कम र शून्य उत्सर्जन सामुद्रिक ढुवानी मा जोड दिन्छन्', घोषणापत्रमा उल्लेख गरिएको छ । यसैगरी नेताहरूले व्यवसाय र उपभोक्ताहरूका लागि सक्षम, समावेशी, खुला, निष्पक्ष र गैर-भेदभावरहित डिजिटल इकोसिस्टम सृजना गर्ने आफ्नो प्रतिबद्धतालाई पुन: दोहोर्याएका छन् । बिहीबार र शुक्रबार डाउनटाउन सान फ्रान्सिस्कोको मोस्कोन सेन्टरमा आयोजित बैठकमा नेताहरूले राजनीतिक र व्यापारिक विषयमा विशेष ध्यान केन्द्रित गरेका थिए ।

संयुक्त राज्य अमेरिकाले सन् २०२४ मा एपेकको आयोजकको रूपमा पेरुलाई एपेक आयोजक वर्षको जिम्मेवारी प्रदान गर्दैछ। यस वर्ष सन् १९९३ मा आयोजना भएको पहिलो नेताहरूको बैठकको ३० औं वार्षिकोत्सव हो । सम्मेलन आयोजक अमेरिकाले एपेक बैठक संयन्त्रलाई मन्त्री स्तरबाट अनौपचारिक नेताहरूको बैठकको स्तरमा स्तरोन्नति गरेको थियो।



152 Views

Comments