सुरक्षा परिषद् विस्तारको आह्वान

Bhugolpark

३ जेष्ठ, २०८१,१५:०५

न्यूयोर्क, ५ असोज (रासस /एएनआई):

ब्राजिल, जर्मनी र जापानका विदेश मन्त्रीले सुरक्षा परिषद् विस्तारको आह्वान गरेका छन् । संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभाका सन्दर्भमा बिहीबार भएको बैठकमा उनीहरूले परिषद् विस्तारको आह्वान गर्दै एक अर्काको उम्मेदवारीलाई समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ब्राजिलका विदेशमन्त्री माउरो भिएरा, जर्मनीका सङ्घीय विदेशमन्त्री अन्नालेना बेरबक, जापानका विदेशमन्त्री योको कामिकावा र भारतीय विदेश मन्त्रालयका सचिव (पश्चिम), सञ्जय वर्माले परिषद्को विस्तार र सुधारका बारेमा छलफल गरेका हुन् । विश्वले सामना गर्नुपरेका विविध चुनौतीको प्रभावकारी एवं समयमै सम्बोधन गर्न सुरक्षा परिषद्को अक्षम भएकाले यसको व्यापक सुधार अपरिहार्य भएकामा जोड दिँदै उनीहरूले स्थायी एवं अस्थायी सदस्य थप्नुपर्ने बताएका छन् ।

“विकासशील देशका भूमिका र सहभागिता बढाउन परिषद्मा अस्थायी र स्थायी दुवै तहमा सदस्यता विस्तार गर्न आवश्यक छ,” बैठकपछि जारी संयुक्त विज्ञप्तिमा भनिएको छ । परिषद्मा भौगोलिक प्रतिनिधित्व नहुनुलाई ‘ऐतिहासिक अन्याय’ भन्दै उनीहरूले अफ्रिका, ल्याटिन अमेरिका र क्यारिबियन भेगको प्रतिनिधित्व बढाउनुपर्ने बताएका छन् । प्रतिनिधित्व नभएका समूह र क्षेत्रको सहभागिता बढाउनुपर्ने तथा सबै परिषद्लाई लिएर अफ्रिकी देशले प्रस्तुत गरेका साझा अवधारणप्रति चारवटै देशको दृढ समर्थन रहेको जनाएका छन् ।




341 Views

Comments