तुइनमा अड्किएका सबैको उद्धार

Bhugolpark

५ जेष्ठ, २०८१,१६:२७

इस्लामावाद, ६ भदौ (रासस/ एएफपी):

पाकिस्तानको खैवरपख्तुनख्वा प्रान्तको एक विकट पहाडी गाउँबाट विद्यालय जाने क्रममा तुईनमा अड्किएका दुई जना वयस्कसहित छ जना बालबालिकाको सात घण्टापछि सकुशल उद्धार गरिएको छ । पाकिस्तानी सेनाका कमाण्डोले कठोर परिश्रम एवं सैन्यकौशल प्रदर्शन गर्दै हेलिकप्टर प्रयोग गरेर समुद्र सतहबाट एक हजार दुई सय फिटको उचाइमा अड्किएको तुईनबाट उनीहरूको उद्धार गरेका हुन् ।

एउटा डोरीमा अड्किएको तुइनको नजिक हेलिकप्टर उडाउँदा त्यसका पखेँटाले डोरी काटिने जोखिमलाई दृष्टिगत गरी चालक दल र कमाण्डोले उद्धार कौशल प्रदर्शन गरेका थिए । सेनाले अति जोखिमपूर्ण काम सफलतापूर्वक सम्पन्न गरेकामा कामचलाउ सरकारका प्रधानमन्त्री अन्वर उल अक ककारले सैनिक अधिकृतहरुप्रति बधाई ज्ञापन गर्नुभएको छ । “सामूहिक कार्यभावनाबाट प्रेरित भएर उद्धारमा संलग्न सेना, स्थानीय प्रशासन, उद्धार समन्वय विभाग र जनसाधारणलाई धन्यवाद !” सामाजिक सञ्जालमा प्रधानमन्त्रीले लेख्नुभएको छ ।

तुइनको एउटा डोरी चुँडिएर अर्को डोरीको भरमा आकाशमा नै आठ जना अड्किएका खबर स्थानीय सञ्चारमाध्यमले बिहान सात बजेदेखि प्रकाशन–प्रसारण गरेपछि घर, पसल, चमेनागृह, मल, कार्यालय सबैतिर उनीहरूको उद्धार कहिले र कसरी हुन्छ भन्ने जिज्ञासाका साथ देशभरका पाकिस्तानी टेलिभिजन अगाडि आँखा झिमिक्क नगरी झुम्मिएका थिए । सारा पाकिस्तानीले तुइनमा अड्किएका सबैको सकुशल उद्धारको कामना गर्दै ईश्वरको प्रार्थना गरेका थिए ।

उद्धारस्थलमा एकत्र भएका जनसाधारण र पीडितका परिवारजनले सैनिक अधिकृतहरूप्रति आभार व्यक्त अङ्कमाल गरेका थिए । खुशीले गद्गद् भएका उनीहरूका आँखाबाट अविरल आँसु बगिरहेको थियो । उद्धार गरिएका सबैको स्वास्थ्य परीक्षण गरी प्राथमिक उपचारपछि उनीहरूलाई घर पठाइएको थियो ।



150 Views

Comments