इरानमा सामूहिक बलात्कारको आरोपमा पाँच जनालाई फाँसी

Bhugolpark

६ बैशाख, २०८१,१६:२१

तेहरान, २४ साउन (एएफपी) :

इरानको उत्तरपश्चिम क्षेत्रमा गत वर्ष एक महिलामाथि सामूहिक बलात्कार गरेको अभियोगमा पाँच जनालाई बुधबार मृत्युदण्ड दिइएको इरानको न्यायपालिकाले जनाएको छ । “मे २०२२ मा मारान्ड शहरमा एक महिलालाई अपहरण गरी बलात्कार गर्ने पाँच जनालाई मृत्युदण्ड दिइएको छ,” न्यायपालिकाको मिजान अनलाइनले घोषणा गरेको छ । पूर्वी अजरबैजान प्रान्तमा भएको सामूहिक बलात्कारको चार दिनपछि पक्राउ परेका ती व्यक्ति अन्य अपराधमा पनि सम्लग्न रहेको मिजानले बताएको छ ।

गत महिना पनि इरानले नक्कली कस्मेटिक सर्जरी क्लिनिकमा उपचारको प्रलोभन देखाएर अर्धचेत अवस्थामा बलात्कार गरेको अभियोगमा तीन जनालाई मृत्युदण्ड दिएको थियो । उनीहरूलाई सन् २०२१ को अन्त्यतिर दक्षिणी प्रान्त होर्मोज्गानमा यौन दुव्र्यवहारका थुप्रै घटनामा सहभागी रहेको अभियोगमा दोषी ठहर गरिएको मिजानले जनाएको छ । मानव अधिकारवादी समूह एम्नेस्टी इन्टरनेसनलका अनुसार इरानले एकाधबाहेक अन्य मुलुकको तुलनामा बढी मानिसलाई मृत्युदण्ड दिने गरेको छ ।

इरानमा गत वर्ष कम्तीमा ५८२ जनालाई फाँसी दिइएको थियो । एम्नेस्टीका अनुसार इरानका अधिकारीहरूले ‘सबै अपराधका लागि मृत्युदण्डको सङ्ख्या’मा उल्लेखनीय वृद्धि गरेका छन् र सन् २०२३ मा अहिलेसम्म कम्तीमा २८२ जनालाई मृत्युदण्ड दिइएको छ । यो सङ्ख्या गत वर्षको जुन महिनाको सुरूमा मृत्युदण्ड दिइएकाहरूको सङ्ख्याभन्दा झन्डै दोब्बर हो ।



33 Views

Comments