पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई छुटाउने प्रयास शुरु

Bhugolpark

२३ श्रावण, २०८०,१७:३३

इस्लामावाद, २३ साउन (रासस/एएफपी):

भ्रष्टाचारको आरोपमा तीन वर्षको जेल सजाय पाएका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई जेलमुक्त गर्ने प्रयास प्रारम्भ भएको छ । ‘ट्रायल कोर्ट’को तीन वर्ष जेल बस्नुपर्ने निर्णयलाई चुनौती दिँदै नेता खानका वकिलहरूले आज पुनरावेदन दायर गरेका हुन् । पुनरावेदनमा उहाँलाई धरौटीमा जेलमुक्त गर्न आग्रह पनि गरिएको छ ।

पुनरावेदनउपर भोलि बुधबार सुनुवाइ हुने बताइएको छ । पूर्वअन्तरराष्ट्रिय क्रिकेट स्टार खानलाई गत शनिबार पक्राउ गरिएको थियो । गत वर्षको अप्रिलमा सदनमा विश्वासको मत नपाएपछि प्रधानमन्त्री पटबाट हट्नुभएका उहाँमाथि दुई सयभन्दा बढी मुद्दा लगाइएको छ । पदमा रहँदा आफूले प्राप्त गरेका उपहारको वास्तविक घोषणा नगरेकामा दोषी ठहर्याएर उक्त अदालतले शनिबार नै उहाँलाई तीन वर्षको जेल सजाय सुनाएको थियो ।

पूर्वप्रधानमन्त्री खानलाई राजधानी इस्लामावादबाट करिब ६० किलोमिटर पश्चिममा रहेको ऐतिहासिक एटक शहरको बाहिरी भागमा रहेको औपनिवेशिक युगको जेलमा राखिएको छ । तल्लोस्तरको उक्त जेलमा अमानवीय ढङ्गले उहाँलाई राखिएको उहाँका वकिल मिसाल युसुफजाईले बताएका छन् “अहिले पाकिस्तानमा कानुनी शासन छैन, हामी एक अदालतबाट अर्को अदालतमा हतार गरिरहेका छौँ । मानवका लागि उपयुक्त नहुने दुःखद अवस्थामा उहाँलाई राखिएको छ ।

अति थोरै उज्यालो हुने, पङ्खा मात्र भएको साह्रै सानो सी–क्लासको सेलमा राखिएको र सुत्न र प्रार्थना गर्न एकमात्र गद्दा दिइएको छ,”७० वर्षीय नेता खानलाई विशिष्ट व्यक्तिलाई थुन्ने कारागारमा राख्न मागसमेत गरिएको उल्लेख गर्दै युसुफजाईले बताए ।



207 Views

Comments