चीनको विनिर्माण क्षेत्रको गतिविधिमा लगातार चौथो महिना पनि सङ्कुचन

Bhugolpark

१५ श्रावण, २०८०,१६:३६

बेइजिङ, १५ साउन (रासस/एएफपी) :

विश्वको दोस्रो ठूलो अर्थतन्त्रलाई उकास्ने उद्देश्यले अधिकारीहरूले नयाँ उपायहरू जारी गरेपनि जुलाईमा चीनको विनिर्माण क्षेत्रको गतिविधि लगातार चौथो महिना सङ्कुचित भएको तथ्याङ्कले सोमबार देखाएको छ । नेशनल ब्यूरो अफ स्टाटिस्टिक्स (एनबीएस) का अनुसार आधिकारिक ‘म्यानुफ्याक्चरिंग पर्चेजिङ म्यानेजर इन्डेक्स (पीएमआई)’ ४९.३ मा आएको छ, जुन विस्तार र सङ्कुचनलाई छुट्याउने ५० अङ्कभन्दा कम हो ।

बिनिर्माणसम्बन्धी गतिविधि जुलाईमा जूनको ४९.० को तथ्याङ्कभन्दा सामान्य बढी भए पनि यसमा सामान्य वृद्धि भएको छ । यो वृद्धि ब्लुमबर्ग सर्वेक्षणको पूर्वानुमानभन्दा राम्रो देखिएको छ । एनबीएसका तथ्याङ्कविद् झाओ किङ्हेले भन्नुभयो, “विनिर्माण समृद्धिको समग्र स्तरमा सुधार भइरहेको छ ।” चीनले कोभिड–१९ पछिको पुनरुत्थानको गति कम हुँदै जाँदा र उपभोक्ताको खर्चमा आएको सुस्तताका कारण आर्थिक वृद्धिमा सुधार ल्याउन सङ्घर्ष गरिरहेको छ । सेवा र निर्माण क्षेत्रमा व्यावसायिक भावना मापन गर्ने गैर–विनिर्माण पीएमआई जुनमा ५३.२ प्रतिशत रहेकोमा जुलाईमा ५१.५ प्रतिशत विन्दुमा झरेको छ । यसो हुनुमा चिनियाँ पूँजी बजार सेवाहरू र रियल इस्टेटका गतिविधिमा आएको सङ्कुचन जिम्मेवार रहेको देखिएको छ ।

हालैका महिनाहरूमा निराशाजनक आर्थिक तथ्याङ्कहरूले अधिकारीहरूलाई नयाँ आर्थिक समर्थन उपायहरू अनावरण गर्न उत्प्रेरित गरेको छ । सरकारले सोमबार उपभोग बढाउन २० बुँदे योजना सार्वजनिक गरेको छ, जसमा आवासको माग, संस्कृति र पर्यटन क्षेत्र र विद्युतीय सवारी जस्ता हरित खपतका लागि थप सहयोग समावेश छन् । यसै महिना चीनले दोस्रो त्रैमासिकमा आफ्नो अर्थतन्त्र ६.३ प्रतिशतले वृद्धि भएको बताएको थियो, जुन विश्लेषकहरूको सर्वेक्षणको आधारमा एएफपीले गरेको ७.१ प्रतिशतको प्रक्षेपणभन्दा निकै कमजोर थियो ।

चिनियाँ शीर्ष नेताहरूले अर्थतन्त्रले ‘नयाँ कठिनाइ र चुनौतीहरू’ का साथै ‘प्रमुख क्षेत्रहरूमा लुकेका खतराहरू’ को सामना गर्नुपरेको चेतावनी दिएका छन् । झाओले सोमबार विदेशी मागको कम मात्रालाई सङ्केत गर्दै ‘जटिल तथा गम्भीर बाह्य वातावरण’ र कमजोर माग हुनुलाई चिनियाँ निर्माताहरूको लागि प्रमुख चुनौतीको रूपमा वर्णन गर्नुभयो ।



222 Views

Comments