सुन काण्डमा संलग्न जो भएपनि कार्वाही गर्ने

Bhugolpark

५ श्रावण, २०८०,१४:५६

साउन ५, काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बाहिरिएको सुनकाण्डको अनुसन्धानमा संलग्न जो भएपनि कार्वाही गर्ने बताएका छन् ।

आज मध्याह्न विमानस्थल भन्सार कार्यालयको अनुगमन गरेपछि पत्रकारहरूलाई प्रतिक्रिया दिंदै मन्त्री श्रेष्ठले यो काण्डको सम्पूर्ण नेक्सस केलाउने बताए ।

‘छानबिन र अनुसन्धानको प्रक्रियालाई यसको जरैसम्म पुग्ने गरी अगाडि बढाउनुपर्छ’ मन्त्री श्रेष्ठले भने, ‘जस्तोसुकै र जोसुकै भए पनि यसको नेक्सस र गुटमा पुग्ने गरी कारबाहीको प्रक्रिया अघि बढाउँछौं ।’ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि यही विषयमा कुराकानी भएको उनले जानकारी गराए ।

यसबारे अहिले छानबिन भइरहेको भन्दै उनले राज्यका अरु निकायहरूले पनि त्यसमा सघाउने विश्वास व्यक्त गरे ।

एक पत्रकारले भ्रष्टाचारको जरो उच्च राजनीतिक तहसम्म रहेको भन्ने चर्चा रहेको भन्दै राखेको जिज्ञासामा मन्त्री श्रेष्ठले जुनसुकै पार्टीको भए पनि उन्मुक्ति नपाउने बताए । ‘भ्रष्टाचारको कुरा वा अपराधका घटनाका सम्बन्धमा अनुसन्धान गर्दाखेरि कुनै कोट, कुनै टार, कुनै पार्टी मलाई मतलब छैन’, उनले भने ।



318 Views

Comments