राष्ट्रियसभाबाट आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक, २०८० पारित

Bhugolpark

२९ असार, २०८०,१४:४०

असार २९, काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले आर्थिक विधेयक, २०८० पारित गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले राष्ट्रियसभाको आजको बैठकमा ‘प्रतिनिधिसभाबाट सुझावसहित प्राप्त उक्त विधेयक २०८० लाई मूलरूपमै सुझावबिना पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाइयोस्’ भन्ने प्रस्ताव पेस गर्नुभएकामा बहुमतले उक्त प्रस्ताव पारित गरेको हो ।

आर्थिक विधेयक राष्ट्रियसभाबाट संशोधन बिना मूल रुपमै पारित भएको छ । राष्ट्रियसभाका सांसदहरुले सुर्तीजन्य वस्तुमा कर बढाउने प्रस्ताव पेस गर्नुभए पनि उक्त प्रस्ताव अस्वीकृत भएको थियो । राष्ट्रियसभाको आजको बैठकमा राष्ट्र ऋण उठाउने विधेयक २०८० पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्ने पनि कार्यसूची रहेको छ ।

राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट पारित

राष्ट्र ऋण उठाउने विधेयक, २०८० राष्ट्रिय सभाबाट पारित भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले राष्ट्रियसभाको आजको बैठकमा ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त राष्ट्र ऋण उठाउने विधेयक, २०८० लाई मूलरूपमै सुझावबिना पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाइयोस्’ भन्ने प्रस्ताव पेस गर्नुभएको थियो । उक्त प्रस्ताव बहुमतले स्वीकृत गरेको हो ।

विधेयकमाथिको दफाबार छलफलमा सांसदहरूले सार्वजनिक ऋण बढ्दै गएको र कूल गार्हस्थ्य उत्पादन (जिडिपी) अनुपातमा सार्वजनिक ऋणको प्रतिशत बढिरहेकाले त्यस्तो ऋणको उपादेयता र प्रयोगमाथि प्रश्न उठाउनुभएको थियो । सार्वजनिक ऋणलाई उत्पादनमूलक क्षेत्रमा लगाई पूँजी सिर्जना गरिनुपर्ने सुझाव उहाँहरूले दिनुभएको थियो । उक्त बैठकले आर्थिक विधेयक, २०८० पनि पारित गरेको थियो ।

राष्ट्रियसभाको अर्को बैठक २०८० साल साउन १ गते सोमबार दिउँसो १ बजे बस्नेछ ।


240 Views

Comments