मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको लाम्जुरापासमा दुर्घटनाग्रस्त

Bhugolpark

२६ असार, २०८०,१५:५६

दुर्घटनामा क्याप्टेन चेतबहादुर गुरुङ र ५ जना मेक्सिकन यात्रुको मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

असार २६, काठमाडौँ । मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नं ५ स्थित लाम्जुरापास क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । सोलुखुम्बुबाट काठमाडौँका लागि उडान भरेको हेलिकोप्टर सुर्केबाट सम्पर्कविहीन भएको थियो । उक्त हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले जानकारी दिनुभयो । लाम्जुरापास डाडाँमा दुर्घटना भएको प्रारम्भिक जानकारी आएको उहाँको भनाइ छ । दुर्घटनास्थल सोलुखुम्बुको लिखुपिके र रामेछापको उमाकुण्ड गाउँपालिकाको सिमानामा पर्छ ।

दुर्घटनास्थलमा पाँच जनाको शव फेला परेको उहाँले जानकारी दिनुभयो । दुर्घटनाग्रस्त हेलिकोप्टर खोज्न काठमाडौँबाट अल्टिट्युड एयरको हेलिकोप्टर परिचालन गरिएको थियो भने सोलुखुम्बुबाट नेपाल प्रहरीको टोली खटिएको थियो । सोलुखुम्बुको सुर्केबाट विहान ९:५२ बजे काठमाडौँ उडेको कल साइन ९एनए–एमभी भएको हेलिकोप्टर विहान १०:१ बजे सम्पर्कविहीन भएको थियो । मनाङ एयरका व्यवस्थापक राजु न्यौपानेका अनुसार हेलिकोप्टरमा पाइटलसहित छ यात्रु सवार थिए । उहाँका अनुसार हेलिकोप्टरमा सवार पाँच जना मेक्सिकन नागरिक हुन् ।

दुर्घटनामा क्याप्टेन चेतबहादुर गुरुङ र ५ जना मेक्सिकन यात्रुको मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ । मृत्यु हुने मेक्सिकन यात्रुहरूमा सिफुएन्टेस जी फर्नाडो, रिंकोन इस्माइन, सिफुएन्टेस जी मारिया होजे, गोन्जालेज ओलासियो लुज र गोन्जालेस एब्रिक रहेका छन् ।



237 Views

Comments