महिनावारीका बारेमा खुलेर कुरा गरौं ! ज्ञान लिनेदिने गरौं !!मिथ्यभ्रम तोडन एकअर्कासँग हातेमालो गरौं !!!
देशव्यापी रुपमा जनचेतना फैलाउँदै लैङ्गिक विभेदको अन्त्य गरौं ।
जेष्ठ १४,काठमाडौं । प्रत्येक वर्ष मे २८ का दिन मनाइने सुरक्षित महिनावारी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।
महिनावारी हुनु भनेको एउटा प्राकृतिक प्रक्रिया हो । यसलाई नेपालमा केवल एक सरल जैविक प्रक्रिया नभई जटिल सामाजिक, सांस्कृतिक, पारम्परिक र सामाजिक वर्गीकरणको कारण बनेको छ
महिनावारीसँग जोडिएको सामाजिक लाञ्छनाले गर्दा रजस्वलाको बेला प्रयोग गरिने प्याडलगायत अन्य साधनबारे महिलाले खुलेर बोल्न सकेका छैनन् ।
यसले गर्दा महिनावारीको साधनमा सर्वसुलभ पहुँचको अभावले पनि रजस्वलाको अनुभव, स्वास्थ्य र महिलाको स्वाभिमानलाई प्रतिकूल प्रभाव परेको छ ।
यसले संविधानको धारा १६ मा प्रदत्त ‘प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हक’ को उल्लङ्घन गर्नुका साथै प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी कानूनको बर्खिलाप रहेको महिला, कानून र विकास मञ्चले जनाएको छ ।
नेपालमा महिनावारीको साधनमा सरकारले कर लगाउँछ । विदेशवाट बनेर आउने प्याड वा कच्चा पदार्थमा भन्सार शुल्क लिने देशमध्येमा नेपाल पनि पर्छ । यसले महिनावारीमा प्रयोग हुने साधन महङ्गो भई सर्वसुलभ पहुँचमा बाधा पुयाउनुका साथै ती सामग्रीलाई आधारभूत सामग्रीमा समेट्न नसकी विलासी सामग्रीका रूपमा लिने गरेको छ । जसले गर्दा महिलाले सुलभ तरिकाले प्रयोग गर्न नपाई असुरक्षित घरायसी साधनको प्रयोग गर्न बाध्य भएका छन् । यसकै कारण महिलाको प्रजनन स्वास्थ्यमा नकारात्मक असर पर्न गई दीर्घकालीन रोग लिएर बाँच्न बाध्य भएका हुन् ।
सही साधनको प्रयोगबाट बञ्चित भई दुरदराजका गरिब महिलाहरूले हानिकारक साधन जस्तै टालो, प्रयोग गरिएको ब्यानर, पुराना कपडाको टुक्रा तथा पातसमेत प्रयोग गर्न बाध्य हुन नपरोस् र सर्वसुलभ तरिकाले महिनावारीमा प्रयोग हुने साधन प्रयोग गरी महिलाको मानवअधिकारलाई उपयोग गर्न पाओस् भनी भूगोल पार्क कामना गर्दछ । साथै, महिनावारीको समयमा प्रयोग हुने प्याडलगायत साधनमा लाग्ने अन्तःशुल्क, भन्सार शुल्कलगायतमा नेपाल सरकारले लिने करलाई छुट प्रदान गर्नका लागि आवश्यक व्यवस्था मिलाउन जोडदार माग गर्दछ ।
मर्यादित महिनावारी दिवस २०८० को उपलक्ष्यमा शुभकामनासहित आगामी दिनमा कुनै पनि किशोरी तथा महिलाले महिनावारीको समयमा प्रयोग गर्ने साधनको प्रयोगबाट बञ्चित हुन नपरोस् भनी यस क्षेत्रमा लागेका भूगोल पार्क माग गर्दछ ।
Comments