विपन्न समुदायलाई रेडियो वितरण

Bhugolpark

३१ बैशाख, २०८०,१२:२५

वैशाख ३१,काठमाडौं । सूचनाको पहुँचमा सबै नागरिकलाई पुर्याउने उद्देश्यले चितवनको इच्छाकामना गाउँपालिकाले अतिविपन्न समुदायका परिवारलाइ रेडियो वितरण गरेको छ । पहिलो चरणमा वडा नं ५ का जौगैरा, ढुसघारी र भोटेस्वराका १५ जनालाई रेडियो वितरण गरिएको छ । रेडियो पाएपछि जौगैराका ६० वर्षीय कोतरा चेपाङले खुसी व्यक्त गर्नुभयो ।

आर्थिक अवस्था कमजोर रहेका चेपाङले रेडियोबाट गीत–सङ्गीत, समाचार सुन्न पाउने भइयो भन्दै उहाँले गाउँपालिकाका जनप्रतिनिधिलाई धन्यावाद दिनुभयो । गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङका अनुसार गाउँपालिकाले यस आर्थिक वर्षमा मात्र एक सय रेडियो वितरण गर्दैछ । सातवटै वडाका अतिविपन्न र सूचनाको पहुँचमा नभएका गाउँपालिकाका नागरिकलाई रेडियो वितरण गरिने उहाँको भनाइ छ । अध्यक्ष गुरुङले भन्नुभयो, “सूचना पाउनु नागरिकको अधिकार हो, कोही पनि नागरिक सूचनाको पहुँचबाट टाढा बस्नु हुँदैन, यहाँका कतिपय नागरिक मोबाइल, इन्टरनेट, टेलिभिजन र रेडियोको पहुँचमा छैनन्, ती नागरिकलाई सूचनाको पहुँचमा ल्याउने हाम्रो लक्ष्य हो ।”

यहाँका ग्रामीण भेगमा सूचनाका लागि उपयुक्त माध्यम रेडियो भएको उहाँको भनाइ छ । देश–विदेशका घटनाक्रम तथा गाउँपालिकाको गतिविधि एवं सूचना जानकारी दिन तथा रेडियो सुन्ने बानीको विकास हुने अध्यक्ष गुरुङको विश्वास छ । रेडियो सुन्ने बानीको विकाससँगै रेडियोबाट प्रसारण हुने जनचेतनामूलक सूचना कार्यक्रमले नागरिकमा चेतनाको विकास हुने उहाँको भनाइ छ ।



100 Views

Comments