वैशाख १७, काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन र सरकारबीच सिंहदरबारमा छलफल भएको छ । छलफलमा पुनका माग सम्बोधन गर्न वार्ता समिति गठन गर्ने समझदारी भएको छ । बैठकपछि पुनले भोलिसम्म माग सम्बोधन गर्न सरकारले प्रतिवद्धता जनाएको बताए ।
‘प्रधानमन्त्रीज्यूको निर्देशनअनुसार उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काज्यूको अफिसमा हामीलाई बोलाउनु भयो । हाम्रो मागका बारेमा सल्लाह सुझावहरू माग्नुभयो’, पुनले भने, ‘अहिले हामीले आज बेलुका पाँच बजेभित्रमा दुबै पक्षको एउटा टोली गठन गरेर सकेसम्म आज रातारात गर्ने नभए भोलिसम्ममा यो समस्या समाधान गर्ने भनेर निर्णय भएको छ ।’
पुनले आविष्कारसँग सम्बन्धित माग राखेर शुक्रबारदेखि माइतीघरमा आन्दोलन गर्दै धर्नामा बसिरहेका छन् । वार्तामा सरकारका तर्फबाट रक्षामन्त्री खड्का र मुख्यसचिव शंकरदास बैरागी सहभागी थिए। यस्तै,पुनको तर्फबाट पुनसहित उनी निकट अरु दुईजना थिए । अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई सरकारले ध्यान नदिएको भन्दै पुनले माइतीघरमा दिनरात धर्ना दिइरहेका छन् ।
अनुसन्धान,नवप्रवर्तन र आविष्कार गर्ने नेपालीका लागि प्रत्येक वर्ष संघीय र प्रदेश सरकारले कम्तिमा १ प्रतिशत रकम छुट्याउनुपर्ने पुनको माग छ । समर्थकसहित पुन गत शुक्रबारदेखि रातदिन धर्नामा बसेका छन् ।
Comments