गण्डकीको मुख्यमन्त्रीमा कांग्रेसका सुरेन्द्रराज पाण्डे बन्ने निश्चित

Bhugolpark

१४ बैशाख, २०८०,१५:०८

वैशाख १४, गण्डकी । गण्डकी प्रदेशमा आज नयाँ सरकार बन्दैछ । गण्डकी प्रदेशको चौँथो मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे बन्ने पक्का भएको छ । नेकपा माओवादी केन्द्र सरकारको नेतृत्व गर्ने दाबीबाट पछि हटेसँगै कांग्रेस दल नेता सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री बन्ने भएका हुन् । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सरकार बनाउने दाबी प्रस्तुत गर्न दिएको समय बिहीबार ४ बजे सकिँदै छ । सरकारमा दाबी प्रस्तुत गर्न जानुअघि अहिले कांग्रेस–माओवादीका सांसदहरू पोखराको पाँच तारे होटल पोखरा ग्राण्डमा बैठकमा बसेका छन् । दिउँसो ३ बजे कांग्रेस र माओवादीका सांसद प्रदेश प्रमुखको कार्यालयमा जाने तयारीमा छन् । 

प्रदेश प्रमुख गुरुङले संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठन गर्न गत आइतबार आह्वान गरेका थिए । मुख्यमन्त्री कांग्रेसलाई छाड्दा सातमध्ये तीन मन्त्रालयमा माओवादी केन्द्रको दाबी छ ।

राष्ट्रपति चुनावमा केन्द्रीय सत्तागठबन्धन फेरिएसँगै गण्डकीमा पनि नयाँ सरकार गठन हुन लागेको हो । विश्वासको मत पाउन नसकेपछि नेकपा (एमाले)का खगराज अधिकारी नेतृत्वको सरकार गत शनिबार ढलेको थियो । सत्ता साझेदार माओवादी केन्द्रले गत चैत १० गते समर्थन फिर्ता लिएपछि अघिल्लो सरकार अल्पमतमा परेको थियो । अहिलेको कांग्रेस, माओवादी र एकीकृत समाजवादी सम्मिलित गठबन्धनसँग सरकार बनाउन सहज बहुमत छ । साठी सदस्यीय प्रदेशसभामा कांग्रेसका २७, माओवादी केन्द्रका आठ (सभामुखसहित) र एकीकृत समाजवादीका एक सदस्य छन् ।

दाबी प्रस्तुत गरेपछि प्रदेश प्रमुख गुरूङले आजै पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्ने छन् । ६० सदस्यीय प्रदेश सभामा बहुमत पुग्न ३१ सांसद चाहिन्छ । गण्डकीमा नयाँ सरकार गठन गर्न कांग्रेसका २७, माओवादीका सभामुखबाहेक ७ र एकीकृत समाजवादी प्रवेश गरेका एक जना स्वतन्त्र सांसद एक ठाउँ छन् । 

केन्द्रमा गठबन्धन फेरिएर माओवादीले चैत १० गते समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मतसम्बम्धी प्रस्ताव राखेका थिए । संसदबाट विश्वासको मत नपाएपछि गत वैशाख ९ गते एमाले नेता अधिकारी नेतृत्वको सरकार ढलेको थियो ।



202 Views

Comments