८ दिनदेखि सिंहदरबारको फोहोर उठेन

Bhugolpark

४ बैशाख, २०८०,१०:०३

बालेनको निर्णयपश्चात् सिंहदरबारलगायत केही क्षेत्रको फोहोर उठेको छैन।

४ वैशाख,काठमाडौं : महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन)ले सिंहदरबारको फोहोर नउठाउने भन्दै चैत २५ गते सामाजिक सञ्जालमा लेखे– ‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन। साच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्ने हुन्छ।’ 

यसलगत्तै काठमाडौं महानगरले सिंहदरबारको फोहोर उठाउन छोड्यो। ८ दिनदेखि सिंहदरबार, राष्ट्रपति निवास र सभामुख निवासको फोहोर पनि उठाइएको छैन। सिंहदरबारभित्रको फोहोरमैला व्यवस्थापनको जिम्मा पाएको परिवर्तन सेवा प्रालिले पुनः प्रयोग हुने र कुहिने फोहोर छुट्याएर केही व्यवस्थापन गरे पनि त्यहाँबाट बाहिर निकाल्नु पर्ने फोहोर दैनिक २ टन बढी हुन्छ। ती सबै फोहोर अहिले सिंहदरबार भित्रै छ। प्रालिका सञ्चालक मित्र घिमिरे भन्छन्, ‘फोहोर व्यवस्थापनमा कठिनाही छ।’

महानगरका मेयर बालेन शाहले सिंहदरबार भित्रको फोहोर नउठाउने घोषणा गरेसँगै यो समस्या आएको हो। महानगरले वार्ता नभएसम्म कुनै पनि हालतमा फोहोर नउठाउने बताउँदै आएको छ। सिंहदरबारभित्र बसेको सरकारसँग सहकार्य गर्न र महानगरका समस्या सामूहिक रूपमा समाधान गर्नका लागि पटक–पटक पहल गर्दा पनि कुनै सहयोग नपाएकाले यो निर्णयमा पुगेको मेयर शाह बताउँछन्। 

उनले पछिल्ला समयमा संघीय सरकारको असहयोगका विषयमा विभिन्न प्रतिक्रिया व्यक्ति गर्दै पनि आएका छन्। ‘कि काठमाडौंको हितमा काम गर्नुहोस्, कि सिंहदरबार अरू पालिकामा सार्नुहोस्’, उनको अर्को चेतावनी पूर्ण भनाइ सामाजिक सञ्जालमा आएको थियो। उनले सरकारका विभिन्न मन्त्रालयसँग अव्यवस्थित बस्ती व्यवस्थापन, ट्राफिक लाइट व्यवस्थापन, मूर्ति चोरी, विदेशी नियोगले मिचेको फुटपाथ खाली गर्नुपर्ने, सरकारी विद्यालय र अस्पतालको गुणस्तर वृद्धिका लागि पहल, राष्ट्रिय एम्बुलेन्स सेवा सुरु लगायतका विषयमा सरकारले सहयोग नगरेको बताएका छन्। 

यस्तै एयरपोर्टको नक्सा पास, तीनकुनेको जग्गा तथा खोला करिडोर निर्माण, बागमती सरसफाइ, फोहोरको दीर्घकालीन व्यवस्थापन, रिङरोड विस्तार, मेलम्चीको पानीलगायतका विषयमा सरकारले सुनुवाइ नगरेको जानकारी मेयरले दिएका छन्। महानगर प्रमुखको निर्णयपश्चात् सिंहदरबारलगायत केही क्षेत्रको फोहोर उठेको छैन। 

सूचना तथा सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता रेखा शाहले सिंहदरबारको फोहोर उठाउने विषयमा सरकारले महानगरसँग वार्ता गर्न खोजिरहेको बताइन्। उनले स्थानीय तहको समस्यासँग मिलेर जानका लागि सरकार तयार भएको बताउँदै समस्याको दीर्घकालीन समाधानका लागि सोच्नुपर्ने जानकारी दिइन्।



245 Views

Comments