तनहुँ, बारा र चितवनमा हुने उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता

Bhugolpark

२८ बैशाख, २०८१,१०:३३

२० चैत, काठमाडौं ।भूगोल पार्कले देशविदेशको राजनीतिक, सामाजिक, आर्थिक, खेलकुद, पर्यटन, मनोरञ्जन आदि विविध विधाहरूमा सही सूचना लेखी पाठकहरूलाई समाचार प्रबाह गरी रहेका छौं ।आज हामी आगामी वैशाख १० गते तनहुँ, बारा र चितवनमा हुने उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ भन्ने बारेमा समाचार लेखेका छौं ।

निर्वाचन आयोगले तनहुँ–१, बारा–२ र चितवन–२ मा हुने उपनिर्वाचनका लागि सार्वजनिक गरेको कार्यक्रम अनुसार आज चैत २० गते उम्मेदवारी दर्ता गर्न लागिएको हो । निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ ।

तनहुँ–१, मा कांग्रेसका तर्फबाट केन्द्रीय सदस्य गोविन्द भट्टराईले उम्मेदवारी दिने भएका छन् । उम्मेदवारी दर्ताका क्रममा पार्टीका महामन्त्री गगनकुमार थापा उपस्थित रहने बताइएको छ । एमालेबाट पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र रास्वपाबाट अर्थविद् स्वर्णिम वाग्लेले उम्मेदवारी दिने भएका छन् । एकीकृत समाजवादीबाट पोलिटब्युरो सदस्य प्रतापलाल श्रेष्ठले उम्मेदवारी दिने जिल्ला अध्यक्ष श्रीराम कार्कीले बताए । माओवादीले उम्मेदवारी दिने चर्चा चले पनि उम्मेदवार टुंगो लागेको छैन ।

चितवन–२ मा चितवन–२ मा रास्वपाले केन्द्रीय सभापति रवि लामिछानेलाई नै उम्मेदवार बनाउने भएको छ ।कांग्रेसले यस पटक पार्टीका पूर्वजिल्ला सभापति जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । एमालेले पनि पार्टीका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेलाई उठाउने भएको छ ।गत निर्वाचनमा लामिछाने ४९ हजार २ सय ६१ मत ल्याएर विजयी भएका थिए । तत्कालीन सत्तारूढ गठबन्धनका साझा उम्मेदवार निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उमेश श्रेष्ठको १४ हजार ९ सय ८३ मत आएको थियो भने तेस्रो स्थानमा रहेका एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६ सय ४७ मत पाएका थिए ।

बारा–२ मा सत्ता गठबन्धनका कांग्रेस, माओवादी, लोसपालगायतको समर्थनमा जसपा अध्यक्ष उपेन्द्र यादव चुनावी मैदानमा उत्रिने भएका छन् ।मुख्य प्रतिसप्रर्धा एमालेसँग हुने अनुमान गरिएको छ । नेकपा एमालेबाट बारा–२ मा पुरूषोत्तम पौडेललाई उम्मेदवार बनाउने भएको छ।सोमबार पूर्वमन्त्रीसमेत रहेका पौडेललाइ बारा–२ को उपनिर्वाचन लड्न टिकट दिने निर्णय गरेको एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए। आमजनता पार्टीले सोही क्षेत्र निवासी गत चुनावमा प्रतिस्पर्धा गरेका अधिवक्ता अरुण ज्ञवालीलाई उम्मेदवार बनाउने तयारी छ ।रास्वपाबाट रमेश खरेल उम्मेदवार बन्ने भएका छन् । जनमत पार्टीले गत मंसिरको चुनावमा कांग्रेस, लोसपालगायतको गठबन्धनमा माओवादीबाट उम्मेदवार बनेर दोस्रो भएका शिवचन्द्र कुसवाहलाई पार्टी प्रवेश गराएर उम्मेदवारका रूपमा अघि सारेको छ । कुसवाह ३ सय ५४ मतको फरकले पराजित भएका थिए । यही मतका आधारमा कुसवाहले माओवादीबाट टिकट पाउनुपर्ने अडान राखेका थिए तर पार्टीले जसपा अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने संकेत पाएपछि उनी माओवादी परित्याग गरी जनमतमा लागेका हुन् ।

चैत २१ गते उम्मेदवारी विरुद्ध उजुरी दर्ता, चैत २२ गते उजुरीमाथि छानबिन र सोही दिन साँझ उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।

उम्मेदवारी फिर्ता लिन इच्छुकका लागि चैत २३ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकिएको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न पनि सोही दिन गरिने निर्वाचन आयोगले जनाएको छ ।

२०८० वैशाख १० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म उपनिर्वाचनका लागि मतदान हुनेछ ।

गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा तनहुँ १ बाट निर्वाचित नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रपति भएकाले, बारा २ बाट निर्वाचित जसपाका रामसहाय प्रसाद यादव उपराष्ट्रपति भएकाले र चितवन २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने नागरिकता विवादका कारण सांसद पदबाट मुक्त भएकाले ती क्षेत्रमा उपनिर्वाचन गर्न लागिएको हो ।

रिक्त पद उपनिर्वाचनबाट पूर्ति गर्नुपर्ने कानुनी व्यवस्था भएकाले निर्वाचन आयोगले उपनिर्वाचन गराउन लागेको हो ।


31 Views

Comments