मन्त्रिपरिषद् विस्तार आज, ९ दल सरकारमा सहभागी हुँदै

Bhugolpark

१६ चैत्र, २०७९,१०:२२

नारायणकाजी श्रेष्ठलाई उपप्रधानसहित गृह मन्त्रालयको जिम्मेवारी दिने तयारी छ ।

१६ चैत,काठमाडौँ ।भूगोल पार्कले देशविदेशको समयसामयिक राजनीतिक, सामाजिक, आर्थिक, खेलकुद, मनोरञ्जन आदि विभिन्न विधामा समाचार लेखी पाठकहरूलाई सुसूचित गरी रहेका छौं।आज भने संख्यामा सहमति जुटेपछि सत्तारुढ गठबन्धन मन्त्रालयको टुंगो लगाउन जुटेको विषय लिएर आएका छौं।

आज बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक जारी छ । बैठकमा जनमत पार्टी र जनमोर्चाबाहेक सबै दल सहभागी भएकाका छन्।

बुधबार गठबन्धनको बैठकले मन्त्रालय भागबन्डामा सहमति गरेको थियो । सहमतिअनुसार कांग्रेस ८, माओवादी ५, जसपा २, एकीकृत समाजवादी २, लोसपा, नागरिक उन्मुक्ति, जनमत, आमजनता र नेसपाले १/१ मन्त्रालय लिने तय भएको छ ।

बैठकले न्यूनतम साझा कार्यक्रमलाई अंतिम रूप दिने पनि नेताहरूले बताएका छन् । माओवादीका वरिष्ठ उपाध्यक्षसमेत रहेका नारायणकाजी श्रेष्ठको जिम्मेवारी हेरफेर हुने भएको छ । श्रेष्ठले सम्हालिरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय एकीकृत समाजवादीलाई दिन प्रधानमन्त्री पुष्पकमल दाहाल तयार भएका छन् ।

श्रेष्ठलाई उपप्रधानसहित गृह मन्त्रालयको जिम्मेवारी दिने तयारी छ । गृहमा माओवादीकै अर्का नेता शक्ति बस्नेतको पनि दाबी छ । एकीकृत समाजवादीलाई अर्को मन्त्रालय कुन दिने भन्नेमा सहमति भइसकेको छैन । प्रधानमन्त्री दाहालले शिक्षा र कृषिमध्ये एक मन्त्रालय दिने प्रस्ताव गरेका छन् । एकीकृत समाजवादीले बेदुराम भुसाल र प्रकाश ज्वालालाई मन्त्री बनाउने निर्णय गरिसकेको छ ।

गठबन्धनको ठूलो दल कांग्रेसले अर्थ, परराष्ट्र, रक्षासहित ८ मन्त्रालय पाउने भएको छ । कांग्रेसले सहरी विकास र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमध्ये एक पाउनुपर्ने अडान राखेको छ । यी दुई मन्त्रालयमा माओवादी र अन्य साना दलको पनि दाबी छ । कांग्रेसको भागमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक, कानुन, न्याय तथा संसदीय मामिला, स्वास्थ्य, उद्योग वाणिज्य तथा आपूर्ति, युवा तथा खेलकुदमध्ये एक पर्न सक्ने सम्भावना छ ।

दाहालले जसपालाई शिक्षा, वन, कृषि र उद्योगमध्येबाटै दुई मन्त्रालय दिन चाहेका छन् । जसपाले पनि सहरी मन्त्रालयमा दाबी गरेको छ । प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएको राष्ट्रिय स्वतन्त्र पार्टी भने तत्काल सरकारमा सहभागी नहुने भएको छ । रास्वपा सरकारमा सहभागी हुँदा उसले पाउने तीन मन्त्रालय कांग्रेस र माओवादीबाट मिलाउने समझदारी छ ।

नागरिक उन्मुक्तिबाट अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी आफैं सरकारमा जाने भएकी छन् । लोसपाले श्रम, कृषि, उद्योगमध्ये एउटा मन्त्रालय पाउने भएको छ, जसमा शरदसिंह भण्डारी जानेछन् । नेसपा नेता महेन्द्रराय यादव र आम जनता पार्टीका सांसद प्रभु साह पनि मन्त्री बन्ने भएका छन् ।


392 Views

Comments