१० चैत,काठमाडौं।पछिल्लो डेढ वर्षसम्म हाम्रो विदेशी मुद्रा सञ्चिति कम भएर अर्थतन्त्रमा चर्को दबाव परेको थियो।गत माघमा बल्ल १९ महिनायताकै धेरै सञ्चिति भयो र चाप कम भएको छ। राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार माघसम्म विदेशी मुद्रा सञ्चिति १३ खर्ब ८३ अर्ब रूपैयाँ पुगेको छ।
पछिल्लो समय पर्यटकको संख्या बढ्दै गएपछि यो क्षेत्रको आम्दानीमा पनि वृद्धि भएको छ। पोहोरको तुलनामा यो वर्ष आम्दानी १०७ प्रतिशतले बढेको छ। चालु आर्थिक वर्षको साउनदेखि माघसम्म पर्यटकबाट ३२ अर्ब २३ करोड रूपैयाँ आम्दानी भएको तथ्यांक छ। अघिल्लो वर्ष यही अवधिमा १५ अर्ब ५३ करोड ५ लाख रूपैयाँ मात्र आम्दानी थियो।
विदेशी मुद्रा सञ्चितिमा पर्यटन क्षेत्रको आम्दानीले योगदान पुर्याएको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का प्रथम उपाध्यक्ष प्रदीप पण्डित बताउँछन्।
'विदेशी मुद्रा आम्दानीको मुख्य स्रोतमध्ये पर्यटन पनि एक हो,' उनले भने, 'कोभिडका कारण लामो समय थलिएको पर्यटन क्षेत्रको आम्दानी बढेको थिएन। पछिल्लो केही महिनायता भने पर्यटक बढेका छन्। यसले विदेशी मुद्रा सञ्चितिमा पनि योगदान पुर्याएको देखिन्छ।'
चालु आर्थिक वर्षको साउनदेखि माघसम्म चार लाख ५७ हजार पर्यटक हवाई यातायात मार्फत नेपाल भित्रिएका छन्। जबकि अघिल्लो वर्ष यही अवधिमा एक लाख २२ हजार हाराहारी मात्र आएका थिए।
पर्यटकीय सिजन सुरू हुँदै गर्दा पदयात्रा तथा पर्वतारोहणमा जाने पर्यटकले अग्रिम बुकिङ गरिरहेको उपाध्यक्ष पण्डित बताउँछन्। उनका अनुसार महामारीपछि अहिले बल्ल पर्यटक संख्यामा उत्साहजनक वृद्धि देखिएको हो। योसँगै ट्रेकिङ व्यवसायमा उत्साह छाएको छ।
हरेक वर्ष डेढ लाखभन्दा बढी पर्यटक पदयात्रा तथा पर्वतारोहणमा जान्छन्। यस्तो यात्रामा उनीहरूको बसाइ अवधि लामो हुन्छ। यसले उनीहरूको खर्च बढाउँछ। उनीहरूले जति धेरै खर्च गर्छन्, हामीलाई उति फाइदा हुन्छ।
पर्यटकको बसाइ लम्बाउन निजी क्षेत्र र सरकारले सहकार्य गरे पर्यटन क्षेत्र थप बलियो हुने र यसबाट मुलुकको अर्थतन्त्रमा टेवा पुग्ने पण्डितको भनाइ छ।
'पर्यटकलाई जति धेरै दिन राख्न सकियो त्यति धेरै फाइदा हुन्छ,' उनले भने, 'यसका लागि सरकार र निजी क्षेत्रले हातेमालो गर्दै थप कार्यक्रम ल्याउन सके मुलुकलाई फाइदा हुन्छ।'
पछिल्लो समय ठमेलमा पनि पर्यटक बढेको व्यवसायीहरू बताउँछन्। यहाँका होटलहरूमा लगभग ८० प्रतिशत अकुपेन्सी भएको 'आगन्तुक होटल' का सञ्चालक भविश्वर शर्माले जानकारी दिए।
होटल संघ नेपालका प्रथम उपाध्यक्ष विनायक शाह पनि विदेशी मुद्रा सञ्चितिमा पर्यटन उद्योगको योगदान रहेको बताउँछन्।
'केही समयअघिसम्म विदेशी मुद्रा सञ्चिति घटेको थियो। त्यसको एउटा मुख्य कारण पर्यटन क्षेत्रबाट आर्जन नहुनु नै हो। त्यति बेला पर्यटक कम थिए। अहिले बढ्न थालेका छन्। यसले विदेशी मुद्रा सञ्चितिमा सुधार ल्याउन थप सहयोग पुर्याएको देखिन्छ,' शाहले भने।
उनका अनुसार हाल देशभरका होटलमा २५ प्रतिशत अकुपेन्सी छ। कोरोनाअघि पर्यटकीय सिजनमा होटलहरू पूरा भरिभराउ हुन्थे। पहिलेकै अवस्थामा लैजान अब नयाँ नीतिअनुसार पर्यटन प्रवर्द्धनमा लाग्नुपर्ने उनले बताए।
चीनले गत मार्च १५ देखि आफ्ना नागरिकलाई विदेश घुम्न खुला गरेको छ। उसले घुम्नैपर्ने देशको सूचीमा नेपाललाई पनि समावेश गरेको छ। यसले आगामी दिनमा हामीकहाँ चिनियाँ पर्यटक बढ्ने संकेत दिएको छ।
तर यसका लागि पनि प्याकेज र योजनाअनुसार काम भएन भने यो उत्साह निराशामा परिणत हुन सक्ने उनले गुनासो गरे।
उनका अनुसार चीनबाट नेपाल आउने पर्यटकमध्ये धेरैजसोले 'एड्भेन्चर' मनपराउँछन्। यसलाई लक्षित गरेर हामीकहाँ साहसिक खेलहरू र सुविधासम्पन्न होटलहरू थपिइरहेका छन्। सरकारले अब चिनियाँ नागरिककै लागि कार्यक्रमहरू बनाउनुपर्ने र हवाई सेवा थप्नुपर्ने उनले बताए।
पुराना नीतिअनुसार पर्यटन प्रवर्द्धन गरेर नहुने बताउँदै उनले भने, 'गुरूयोजना नै बनाएर अगाडि बढ्ने हो भने आगामी दिनमा विदेशी मुद्रा भित्र्याउन पर्यटनले अझै ठूलो योगदान दिन सक्छ।'
सन् २०१९ मा हालसम्मकै सबभन्दा धेरै, ११ लाख ९५ हजार पर्यटक नेपाल आएका थिए। सरकारले भ्रमण वर्ष घोषणा गरेको सन् २०२० मा कोरोना लकडाउन सुरू भयो। त्यसपछि एकैपटक अहिले आएर पर्यटक बढ्न थालेका हुन्।
Comments