दलहरूले बुझाए समानुपातिक सांसदको नामावली, रूजु गर्दै आयोग

Bhugolpark

२५ मंसिर, २०७९,०६:४३

दलहरूले प्रतिनिधिसभा र प्रदेशसभा समानुपातिकतर्फ सांसद चयन गरी पठाएको नामावली निर्वाचन आयोगले छानबिन थालेको छ।

यसअघि दलहरूले बन्द सूचीमा पेश गरेअनुसार नामावली छ कि छैन भनेर आयोगले रूजु गर्ने भएको हो।दलहरूलाई आगोगले गत बुधबार तीन दिनको समय दिएर क्लस्टरअनुसार सांसदको नाम पठाउन पत्राचार गरेको थियो। दलहरूलाई शनिबार अपरान्ह ४ बजेभित्र सांसदका नाम पठाउन समय दिइए पनि राति अबेर दलहरूले नाम पठाएका थिए।

क्लस्टरअनुसार सांसदका नाम आएका छन् कि छैनन् छानबिन गरेर आयोगले आज पुन: दलहरूलाई पत्राचार गर्दैछ। समावेशी प्रतिनिधित्व भएको छैन भने दलहरूले नाम सच्याउनुपर्ने हुन्छ। उनीहरूलाई सोमबारसम्म नाम सच्याउन समय दिइने आयोगले जनाएको छ।निर्वाचन आयोगमा रहेका सहायक निर्वाचन अधिकृत यज्ञप्रसाद भट्टराईले दलहरूले पठाएका नाम आयोगले छानबिन गरी प्रमाणित गर्ने बताएका छन्। कुनै त्रुटि भएको भए दलहरूले सोमबारसम्म सच्याउन पाउने उनले जानकारी दिए।

प्रतिनिधिसभातर्फ समानुपातिकमा नेकपा एमालेले ३४, नेपाली कांग्रेसले ३२, नेकपा माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राप्रपाले ७, जसपाले ५, जनमत पार्टीले ५ सांसदको नाम पठाएका छन्।

आयोगले मंसिर २९ भित्र राष्ट्रपति विद्यादेवी भण्डारीलाई निर्वाचन प्रतिवेदन बुझाउने तयारी गरेको छ। त्यसपछि नयाँ सरकार गठन प्रक्रिया सुरू हुनेछ।



218 Views

Comments