33 Year स्नातक तह स्वतन्त्र वाग्मती प्रदेश Kathmandu क्षेत्र नम्बर-5
कतिको लोकप्रिय/अलोकप्रिय छन्? सुशान्त श्रेष्ठ
Approved Disapproved

परिचय



मेरो जन्म २०४६ सालमा काठमाडौंमा भएको हो । बाल्यकालदेखि नै मलाई राजनीतिमा प्राकृतिक किसिमको रुचि थियो । १०-१२ वर्ष हुँदाखेरि मेरा साथीभाइहरू क्रिकेट, फुटबल, भिडियो गेम खेलिरहँदा मलाई राजनीतिमा खुब चासो थियो र नेपालका विभिन्न चरणका प्रजातान्त्रिक आन्दोलनहरूको अध्ययन गर्ने, राजनीतिज्ञहरूको जीवनी एवं नीति पढ्ने गर्दथें । मेरो मावली हजुरबुवा सर्वज्ञमान श्रेष्ठ नेपाली काङ्ग्रेसबाट बाँके जिल्लाको सभापति पनि हुनुहुन्थ्यो । त्यसैले मैले नेपालको राजनीतिक स्थितिको बारे सानो उमेरमा नै ज्ञान पाएँ । साथसाथै मेरो पढाइ पनि राम्रै नै रह्यो । मेरो बुवापट्टिको हजुरबुवा नेपालबाट अमेरिकामा छात्रवृत्ति पढ्न पठाइएका पहिलो नेपालीहरुमा पर्नुहुन्थ्यो । यसैकारण पढाइ र अध्ययनमा मेरो घरमा विशेष जोड थियो । मैले २०६१ सालको एस्. एल्. सि परीक्षामा विद्यालयको उत्कृष्ट व्यक्ति भएर उत्तीर्ण गरें । त्यस पश्चात् मैले ११-१२ को लागि सेन्ट जेभियर्स कलेजमा अध्ययन गरें । त्यस विद्यालयमा पनि अतिरिक्त क्रियकलाप साथै पढाइमा म सक्षम नै रहें ।

मैले पुल्चोक इन्जिनियरिङ्ग क्याम्पसमा इलेक्ट्रिकल इन्जिनियरिङ विषयको लागि पूर्ण छात्रवृत्तिमा नाम निकालें र साथै जर्मनीको याकोब्स युनिभर्सिटिमा पनि इलेक्ट्रिकल इन्जिनियरिङ्ग र कम्प्युटर साइन्स अध्ययनको लागि पूर्ण छात्रवृत्तिमा नाम निकालें । विदेशमा नै अध्ययन गर्दा राम्रो रहला भन्ने सोचले मैले विदेशमा जाने निर्णय लिएँ । जर्मनीमा पढ्ने क्रममा मैले युरोपका धेरै सहरहरूमा घुम्ने र धेरै समय बिताउने मौका पाएँ । त्यहाँ भेनिस, प्राग, रोम जस्ता सांस्कृतिक सहरहरू घुम्दा मलाई विकास गर्ने क्रममा आफ्नो कला-संस्कृतिलाई मास्न पर्दैन रहेछ भन्ने अनुभव भयो । त्यस्तै यी शहरहरूजस्तै मेरै काठमाडौं पनि के कम छ र भन्ने पर्यो । अझ काठमाडौंको इतिहास, कला-संस्कृति र धार्मिक-आध्यात्मिक पृष्ठभूमि हेर्ने हो भने त यी शहरहरूभन्दा पनि उच्च शहर हो भन्ने लाग्यो । आफ्नो शहर र देशको मायाले यसरी मलाई सताइरहन्थ्यो । मैले Austrian Academy of Sciences मा Acoustics Engineering and Industrial Circuits विषयमा रिसर्चरको रूपमा काम गरें । त्यहाँ काम गर्दा मलाई लाग्यो कि विदेशमा अध्ययनको शीर्षक निकै गहिरिएर गैसकेको छ भने नेपालमा हामी अझै पनि आधारभूत विधा जस्तै डाक्टर, इन्जिनियर आदिमा नै अझै अड्किराखेका छौं । त्यस्तै मैले विदेश बसेर विज्ञानको क्षेत्रमा योगदान नै पुराए भने पनि यो योगदान त समुद्रमा पानीको थोपा खनाए जस्तो मात्र हुन्छ भन्ने लाग्यो । यसको सट्टा नेपालमा फर्केर मैले ठूलो योगदान पुर्याउन सक्छु भन्ने भयो । घरपरिवारले विरोध गर्दागर्दै म २०७० सालमा नेपाल फर्किएँ । यो मेरो लागि ठूलो बलिदान नै थियो किनभने विदेशमा मेरो विषयको लागि रोजगारी र आम्दानीको अवसर प्रचुर थियो । मेरा साथीभाइहरूले हाल विश्वकै उत्कृष्ट संस्थाहरूमा काम गरेर धेरै आम्दानी गरेर बस्नुभएको छ ।

नेपाल फर्किसकेपछि मैले सर्वप्रथम देशमा त्यसबखत खड्किरहेको उर्जासमस्यामा केहि न केहि राहत दिन सौर्य उर्जा कम्पनी खोलें र एउटा युवा उद्यमी भई जिल्ला-जिल्लामा सोलार जडान कार्यमा संलग्न भएँ । मैले नेपालका विभिन्न जिल्लाहरूको वास्त्विक स्थिति र बिडम्बनाहरू देख्ने मौका पाएँ । काठमाडौं केन्द्रित विकासको कारण काठमाडौंलाई भार पर्नु त छँदै छ गाउँमा भौतिक-सामाजिक पूर्वाधारको ठूलो कमी पनि देखें । सोलार जडानकै क्रममा मैले देशभरका २०० भन्दा धेरै मन्दिरहरूमा समेत सोलार जडान गरें र हरेक मन्दिरहरूका कथा, महत्त्व, मिथक बुझ्दै हाम्रा सिद्धहरूले स्थापान गरेका यी केन्द्रहरूबाट आशिर्वाद लिएं ।

राजनीतिमा लागिसकेपछि पनि मैले आफ्नो उद्यम चाहिं छोडिन किनभने मैले राजनीतिलाई पैसा खाने भाँडो बनाउन चाहिन त्यसैले मैले ललितपुर महानगरपालिका र वर्ल्ड बैंकसँग मिलेर पाटनका मन्दिरहरूको वर्णन गर्ने एउटा एप् को विकास गरें । यो एपको लागि मलाई धेरै क्षेत्रबाट अनुमोदन मिल्यो तर सरकारी निकायहरूलाई यहि प्रोजेक्टको बृहत परिकल्पना पस्कँदा कुनै पनि अनुमोदन र जोस भेटिन । मैले यहि क्रममा सामाजिक समस्याहरू गुनासो गर्नका लागी गुनासो एप् को पनि विकास गरेँ । यो एप् को पनि मेरो बृहत परिकल्पना छ जस बारे त्यसबखत सरकारी निकायहरूबाट कुनै पनि उत्साहजनक अनुमोदना पाइन । पार्टीमा लाग्दा मैले राम्रो काम गरेकोले होला सायद बागमती प्रदेशका प्रदेश सभासदले मलाई शोकिय सचिव बनाउनुभयो । विगतका पाँच वर्ष स्वकिय सचिवको रूपमा मैले काम गर्दा राजनीति, ब्युरोक्रासीको गहिरो अनुभव पाएँ । मैले हेरक दिन जनताहरूको माग सम्बोधन गर्ने, प्रदेश सभासदले अगाडि सारेका विकास-निर्माणका कार्यहरूलाई सम्पन्न गराउने, नगरपालिकामा १०० औं चोटि धाएर भए पनि फाइल अगाडि बढाउने जस्ता कामहरू गरेँ । देशका विभिन्न सरकारी संरचनाहरू कसरी चल्दा रहेछन्, नियामक निकायहरूको कता कमजोरी छ, जनता र नेता बीचको के-किसिमको सम्बन्ध छ र के किसिमको खाडल छ, राजनीतिक र अराजनीतिक व्यक्ति बीच के- के फरक छ यी सबै शीर्षकहरूबारे राम्रो ज्ञान हासिल गरें ।

राजनीतिक पार्टीहरू कसरी स्वार्थ समूहका फगत पुञ्ज मात्र रहेछन् भन्ने पनि बुझ्ने मौका पाएँ । त्यस्तै कर्मचारीतन्त्रमा कस्तो किसिमको समस्या छ भन्ने पनि बुझें । र मुख्यतः यस्तो बिग्रिएको र कुहिएको राजनीतिक, सरकारी संयत्रको माहोलमा कसरी काम फत्ते गराउन सकिने रहेछ भन्ने बुझें । यहि बुझाइ नै मेरो उम्मेदवारीको मुख्य आधार हो ।