राजनीतिक परिचय :
२०३९ सालमा अनेरास्ववियुमा संलग्न २०४३ सालदेखि वामपन्थी राजनितिमा सक्रिय २०४७ सालबाट नेकपा (एमाले) मा आबद्ध २०५२ सालमा काठमाडौँ महानगरपालिका, ३३ वडा कमिटीको सदस्य २०५६ सालमा भएको नेकपा (एमाले) को काठमाडौँ जिल्ला कमिटीको तेस्रो जिल्ला अधिवेशनबाट कानुन विभागको सदस्य २०६७ साल पुसमा सम्पन्न नेकपा (एमाले) को पाँचौ जिल्ला अधिवेशनबाट काठमाडौँ जिल्ला कमिटीको सदस्यमा निर्वाचित २०७५ सालमा पार्टीको क्षेत्र नं ४ को क्षेत्रीय संयोजक २०७८ असोजमा भएको नेकपा (एमाले) को ऐतिहासिक प्रथम विधान महाधिवेशनमा काठमाडौँ क्षेत्र नं. ४ को प्रतिनिधि तथा चितवनमा सम्पन्न दशौं महाधिवेशनको प्रतिनिधि २०७८ पुसमा भएको नेकपा (एमाले) को छैटौँ काठमाडौँ जिल्ला अधिवेशनबाट जिल्ला कमिटीको उपसचिव पदमा निर्वाचित
निर्वाचन क्षेत्र आधारित कार्यसम्बन्धी प्रतिबद्धता
आगामी पाँच वर्षभित्र काठमाडौँको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ४ मा सङ्घीय सरकार, प्रदेश सरकार तथा स्थानीय तहको समन्वय गरी गराई निम्न कार्य गर्ने गराउने प्रतिबद्धता व्यक्त गर्दछौं ।
भौतिक पूर्वाधार, सडक र यातायात क्षेत्रमा हाम्रो प्रतिवद्धता
आगामी पाँचवर्षमा काठमाडौं क्षेत्र नं. ४ मा सडक सञ्जालले नछोएका कुनै पनि टोल हुने छैनन् । कुनै पनि सडक कच्ची रहने छैनन्, सबै सडक स्तरीय र पक्की हुनेछन् । गोरेटो बाटोमा समेत कम्तीमा ब्लक छाप्ने कार्य सम्पन्न गरिने छ। धोबीखोला करिडोर र साततले-आनीगुम्बा सडक दुई वर्षभित्र निर्माण गरिने छ सबै सडकहरूको स्तरोन्नति, मर्मतसौन्दर्यकरण गरिनेछ । प्राचीन बस्तीलाई तथा मठमन्दिरलगायतको सांस्कृतिक तथा पुरातात्विक महत्वका संरचनालाई जोगाउँदै वैकल्पिक सडक निर्माणमा जोड दिइनेछ । सडकलाई पैदलयात्रीमैत्री बनाउन सम्बन्धित सबै निकायका प्रतिनिधि सम्मिलित समिति निर्माण गरी एकीकृत रूपमा कार्य अगाडि बढाइने छ । यस क्षेत्रभित्र पर्ने चक्रपथ खण्डको निर्माण गर्दा पुरातात्विक सम्पदा र प्राचीन बस्तीको संरक्षण गर्दै वैकल्पिक व्यवस्थापनको उचित व्यवस्था मिलाइने छ । गोपीकृष्ण हल अगाडिबाट तिलगङ्गा निस्किने गरी 'अन्डरपास' वा 'फ्लाइओभर' सडक निर्माणबारे सम्भाव्यता अध्ययन गरिने छ । विकल्पमा गोपीकृष्ण हल अगाडिबाट चक्रपथलाई घुमाएर धोवीखोलाको करिडोर हुँदै रातोपुल पुऱ्याउने र रातोपुलबाट तिलगङ्गा निस्किने गरी 'अन्डरपास' वा 'फ्लाइओभर' सडक निर्माण गर्ने बारे पनि अध्ययन गरिने छ । सम्भाव्यता अध्ययनले उचित ठहयाएको अवस्थामा 'फ्लाइओभर' वा 'अन्डरपास' सडक निर्माणको प्रक्रियालाई यथाशीघ्र अगाडि बढाइने छ । यस क्षेत्रभित्रका प्रत्येक वडाहरूमा सुव्यवस्थित पार्किङको व्यवस्था गरिने छ ।
खानेपानी, ढल तथा डुवान नियन्त्रणको क्षेत्रमा हाम्रो प्रतिबद्धता
यस क्षेत्रका कतिपय ठाउँमा खानेपानीको समस्या छ । अबका पाँच वर्षमा यस क्षेत्रका कुनै पनि घर धाराविहीन हुने छैनन् । कुनै पनि धारा पानीविहीन हुने छैनन् । मेलम्ची खानेपानी आयोजनाको बाँकी काम सम्पन्न गरी काठमाडौँ क्षेत्र नं. ४ भित्रका सबै घरमा पानी वितरण गरिने छ । खानेपानीको समस्या पूर्ण रूपमा समाधान गरिनेछ । स्थानीय खानेपानी आयोजनाका बाँकी कामहरू सम्पन्न गरिने छन् । खानेपानीका नयाँ स्रोतको पहिचान गरी निर्माण कार्य अघि बढाइने छ । हाल सञ्चालनमा रहेका स्थानीय खानेपानी आयोजनाहरूको शीघ्र निर्माण सम्पन्न गर्ने तथा स्तरोन्नति गरिने छ । धोबीखोलाचखुंचा खोलाखहरे तथा अन्य खोलाहरूमा भइरहेको बक्स कल्र्भट र ढल निर्माणको कार्यलाई आगामी १८ महिनाभित्र सम्पन्न गरिने छ। यी खोलाको कारण आइपर्ने बाढी तथा डुबान नियन्त्रणका लागि एकीकृत आयोजनाको निर्माण गरी यस क्षेत्रलाई बाढी तथा डुबानमुक्त क्षेत्र बनाइने छ । सबै स्थानमा ढल निकासको प्रभावकारी व्यवस्था मिलाइने छ।
नदी सफाइ र सहरको स्वच्छता सम्बन्धमा हाम्रो प्रतिबद्धता
'सफा सडक -स्वच्छ टोल' को नारालाई प्रभावकारी बनाइने छ । धुवाँ र धुलोमुक्त क्षेत्रको रूपमा यस क्षेत्रको विकास गरिने छ । यस क्षेत्रलाई सफा राख्न हरेक टोलमा सार्वजनिक शौचालयको व्यवस्था गरिने छ । पहिलो चरणमा कम्तीमा 'एक वडा एक सार्वजनिक शौचालय' अभियान चलाइने छ। आवस्यकता र जनघनत्वलाई आधार मानी थप बिस्तार गरिनेछ सार्वजनिक शौचालयको निर्माण सँगसँगै साझेदारीमा आधारित शौचालय प्रयोगलाई विकास र विस्तार गरिनेछ । स्थानीय सरकारसँगको सहकार्यमा फोहोरमैला व्यवस्थापनका लागि आवश्यक रणनीति तयार गरी वैज्ञानिक ढङ्गले फोहोरमैला विसर्जन र व्यवस्थापनको कार्य गरिनेछ । वागमती र धोवीखोलाजस्ता यही क्षेत्रसँग जोडिएका ऐतिहासिक र धार्मिक महत्वका नदीको संरक्षण गरिने छ । यी नदीको स्वच्छतालाई जगाउन नदीमा फोहोर फाल्न, ढल मिसाउन नदिने र नदीको सरसफाइ गरी स्वच्छ पानीको बहाव हुने अवस्था सिर्जना गर्नका लागि सङ्घीय सरकारमार्फत आवश्यक व्यवस्था मिलाइने छ । दुवै नदीको मुहानमा ड्याम बनाई वर्षाको पानी सङ्कलन गरी नदीमा बाह्रै महिना स्वच्छ जलप्रवाह हुने प्रबन्धका लागि योजना बनाएर कार्यान्वयन गरिने छ ।
शिक्षा तथा विज्ञान प्रविधिको क्षेत्रमा हाम्रो प्रतिबद्धता
संस्थागत विद्यालय र सामुदायिक विद्यालयहरूको शिक्षणविधि तथा गुणस्तर समान बनाउन सामुदायिक, संस्थागत साझेदारी कार्यक्रम सञ्चालन गर्न आवश्यक समन्वय गरिने छ । सामुदायिक विद्यालय र कलेजहरूको भौतिक संरचना निर्माणस्तरउन्नति तथा आधुनिकीकरण गरिने छ ।