९० उम्मेदवार विजयी, ७३ पराजित
काठमाडौँ — प्रतिनिधिसभा सदस्य निर्वाचनमा सत्तारूढ पाँचदलीय गठबन्धनका ७३ उम्मेदवार पराजित भएका छन् । प्रत्यक्षतर्फ गठबन्धनबाट ९० उम्मेदवार विजयी भएका छन् । दोलखामा गठबन्धन दल माओवादीकै गंगा कार्की विजयी भएका छन् ।
गठबन्धनभित्रको सिट बाँडफाँटअनुसार कांग्रेसले ९१, माओवादी केन्द्रले ४३, एकीकृत समाजवादीले २०, लोकतान्त्रिक समाजवादीले ७ र राष्ट्रिय जनमोर्चाले २ सिटमा उम्मेदवारी दिएका थिए । केही निर्वाचन क्षेत्रमा भने ‘मित्रवत्’ प्रतिस्पर्धा भएको थियो । त्यसमा कांग्रेसले ५७, माओवादी केन्द्रले १७, एकीकृत समाजवादीले १०, लोसपाले ४ र राष्ट्रिय जनमोर्चाले १ सिट जितेका छन् । स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साहलाई रौतहट–३ र घनश्याम भुसाललाई रूपन्देही–१ मा र जनमुक्ति पार्टीका केशबहादुर थापामगरलाई रूपन्देही–२ मा गठबन्धनले समर्थन गरेको थियो । तीमध्ये साह मात्रै विजयी भएका छन् ।
गठबन्धनबाट उम्मेदवारी दिएका मध्ये कांग्रेसका ३४, माओवादी केन्द्रका २५, एकीकृत समाजवादीका १०, लोसपाका ३ र जनमोर्चाका १ उम्मेदवार पराजित भएका छन् । यो कुल उम्मेदवारीको करिब ४५ प्रतिशत हो । कांग्रेसका ३८ प्रतिशत, माओवादी केन्द्रका ५८ र एकीकृत समाजवादीका ५० प्रतिशत उम्मेदवारले विजयी हुन नसकेका हुन् । गठबन्धनकै उम्मेदवार कांग्रेसका सुदीपनरसिंह राणा र लोकतान्त्रिक समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णको जमानत जफत भएको छ । राणा बाँके–३ मा र कर्ण पर्सा–१ मा उम्मेदवार थिए ।
कांग्रेस पराजित भएकामध्ये २१ क्षेत्रमा एमाले, ४ क्षेत्रमा राप्रपा, ३ क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी, २ क्षेत्रमा जसपा, २ क्षेत्रमा स्वतन्त्र तथा १–१ क्षेत्रमा नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार विजयी भएका छन् । रूपन्देही–४ मा गठबन्धनकै दल कांग्रेसका प्रमोदकुमार यादव र लोसपाका सर्वेन्द्रनाथ शुक्ल प्रतिस्पर्धामा उत्रँदा शुक्ल विजयी भए । कांग्रेसका १३ पदाधिकारीमध्ये ११ पदाधिकारी उम्मेदवार थिए, त्यसमध्ये सहमहामन्त्रीहरू भीष्मराज आङ्देम्बे, महालक्ष्मी उपाध्याय, महेन्द्र यादव र उमाकान्त चौधरीसमेत पराजित भएका छन् । चौधरी खानेपानीमन्त्री हुन् ।
कांग्रेसकै गृहमन्त्री बालकृष्ण खाँणले रूपन्देही–३ मा चुनाव जित्न सकेनन् । प्रधानमन्त्री पत्नी आरजु राणाको विशेष रुचिमा राष्ट्रिय योजना आयोगको उपाध्यक्षबाट राजीनामा दिएर चितवन–१ मा उम्मेदवार बनेका कांग्रेसका विश्वराज पौडेल तेस्रो भए । राज्यमन्त्री उमेश श्रेष्ठ चितवन–२ मा सबैभन्दा धेरै मतान्तरले पराजित भए । काठमाडौं–६ मा पूर्वमन्त्री भीमसेनदास प्रधान र सप्तरी–१ मा कांग्रेस नेता रामदेव साह तेस्रो भए । अरू ३० नेता निकटतम प्रतिद्वन्द्वीका रूपमा पराजित भए ।
कांग्रेसका पूर्वउपसभापति विजयकुमार गच्छदार, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, पूर्वसहमहामन्त्री सुनीलबहादुर थापा र पूर्वकोषाध्यक्ष चित्रलेखा यादवले पनि चुनाव जित्न सकेनन् । केन्द्रीय नेताहरू सुजाता कोइराला, बलबहादुर केसी, पद्मनारायण चौधरी, अर्जुनप्रसाद जोशी, सीताराम मेहता, सुरेन्द्रप्रसाद चौधरी, पुष्पा भुसाल, देवेन्द्रराज कँडेल, रामजनम चौधरी, अभिषेकप्रसाप शाह र शिवप्रसाद हुमागाईं पनि निकटतम प्रतिद्वन्द्वी मात्र हुन सके । यसअघि वाम गठबन्धन हुँदासमेत कांग्रेसबाटै चुनाव जितेका भरतकुमार शाह र प्रमोदकुमार यादवले यस पटक चुनाव हारे ।
माओवादी केन्द्रका पनि चार पदाधिकारीसहितका नेताले चुनाव हारेका छन् । पाँच वर्षअघि वाम गठबन्धन गर्दा प्रत्यक्षमा ३६ सिट जितेको माओवादी अहिले त्यसको आधामा खुम्चिएको छ । गठबन्धनमा माओवादी केन्द्रले सिट लिएका क्षेत्रमध्ये १० सिटमा एमाले विजयी भएको छ भने जसपा, राप्रपा र स्वतन्त्र उम्मेदवारले २–२ सिट जितेका छन् । नागरिक उन्मुक्ति पार्टीले १ सिट जितेको छ । माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङलाई लमजुङमा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले उछिने । उपाध्यक्ष पम्फा भुसाल ललितपुर–३ र पूर्वसभामुख ओनसरी घर्ती काठमाडौं–२ मा रोकिए । उपमहासचिवहरू गिरिराजमणि पोखरेल महोत्तरी–१ मा, मातृकाप्रसाद यादव धनुषा–१ मा, अर्का उपमहासचिव चक्रपाणि खनाल कपिलवस्तु–१ मा पराजित भए । स्थायी कमिटी सदस्यसमेत रहेका खेलकुदमन्त्री महेश्वरजंग गहतराजले बाँके–१ मा चुनाव हारे ।
एकीकृत समाजवादीका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाल इलाम–२ मा एमालेका महेश बस्नेतसँग पराजित भए । उपमहासचिव जगन्नाथ खतिवडालाई उदयपुर–२ मा, पूर्वमन्त्री विरोध खतिवडालाई मकवानपुर–२ मा, पूर्वमन्त्री एवम् पार्टी सचिव रामकुमारी झाँक्रीलाई गुल्मी–२ मा पनि एमाले उम्मेदवारले नै हराए ।
मधेस प्रदेशमा गठबन्धन गरेर लोसपाका अध्यक्ष महन्थ ठाकुर महोत्तरी–३ बाट, वरिष्ठ नेता शरतसिंह भण्डारी महोत्तरी–२ मा र नेता रामप्रकाश चौधरी सर्लाही–१ मा निर्वाचित भएका छन् । गठबन्धनबाटै उम्मेदवार भए पनि सप्तरी–२ मा जयप्रकाश ठाकुर, धनुषा–३ मा अनिलकुमार झा, बारा–३ मा लालबाबु सिंह पराजित भए । पर्सा–१ मा गठबन्धनका उम्मेदवार लक्ष्मणलाल कर्णको जमानत जफत भयो ।
प्रत्यक्षतर्फ चुनावी परिणाम अन्तिम चरणमा हुँदा सत्ता गठबन्धन दलहरूले मिश्रित प्रतिक्रिया दिएका छन् । कांग्रेस प्रवक्ता प्रकाशशरण महतले आशा गरेअनुरूप चुनावी परिणाम हासिल नभएको बताए । ‘गठबन्धन दलबीच कतिपय ठाउँमा राम्रो समझदारी र सहकार्य हुन नसक्दा परिणाममा केही तलमाथि परेको छ तर आत्तिहाल्नुपर्ने अवस्था छैन । सरकार गठनका लागि गठबन्धनले साधारण बहुमत पाएको छ,’ उनले भने ।
माओवादी केन्द्रले शनिबार र आइतबार केन्द्रीय पदाधिकारी बीच चुनावको अनौपचारिक समीक्षा गरेको छ । ‘हामीले अहिले प्रारम्भिक समीक्षा गर्यौं, विस्तृतमा अब स्थायी कमिटी वा पोलिटब्युरो बसेर समीक्षा हुन्छ,’ बैठकपछि महासचिव देव गुरुङले भने, ‘प्रारम्भिक समीक्षामा हामीले जुन परिणाम हासिल गरेका छौं, त्यसलाई स्विकारेर अघि बढ्नुको विकल्प छैन ।’
प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार गठबन्धन दलको बैठक बोलाएका छन् । दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा चुनावी परिणामको समीक्षा र आगामी सरकारका विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।
Comments