धनराजलाई बधाई दिंदै सहकार्य गर्न प्रतिबद्ध छु, एमाले नेता पद्मा अर्याल

Bhugolpark

१८ मंसिर, २०७९,०६:००

१८ मंसिर, काठमाडौं । स्याङ्जा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङलाई नेकपा एमाले नेता पद्मा अर्याल`ले बधाई दिएकी छन् । यद्यपि कब्जा गरिएको मतबाट गुरुङ निर्वाचित भएको भन्दै अर्यालले उक्त मतलाई नस्वीकार्ने बताएकी छन् । उनले सबै कुरा भुलेर स्याङ्जाको विकासमा सहकार्य गर्न आफू प्रतिबद्ध रहेको पनि उल्लेख गरेकी छन् ।

आइतबार बिहान सामाजिक सन्जालमा अर्यालले लेखेकी छन्, ‘हामीले भनेको एउटै कुरा थियो जनताको मतबाट हामी पराजित हुन तयार छौं । त्यसलाई हामी सहज रुपमा स्विकार गर्दछौं तर कब्जा गरी खसालिएको मतलाई हामी स्वीकार गर्दैनौं । किनकी लोकतन्त्र र कब्जा आपसमा मेल नखाने विषय हुन् । हाम्रो जायज माग तपाईंले सुन्नु भएन र राज्यबाट समेत पनि सुनुवाइ भएन । खैर तपाईंलाई पुनः बधाई छ ।’

मंसिर ४ को निर्वाचनमा बुथ कब्जा भएको प्रमाण भएको, मृतक र विदेशमा रहनेका नाममा समेत मतदान गरिएको अर्यालको जिकीर छ । त्यही मुद्दा उठाउँदै अर्यालले पुनः मतदानको माग गरेकी थिइन् । तर निर्वाचन आयोगले पुनः मतदानको माग अस्वीकार गर्दै मतगणना जारी राख्न निर्देशन दिएको थियो । शनिबार रातिको अन्तिम मत परिणाम अनुसार गुरुङ अर्यालभन्दा ५ हजार बढी मत अन्तरले निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचित भएका धनराज गुरुङले ३१ हजार ४६६ र पद्मा अर्यालले २५ हजार ८३९ मत पाएका छन् ।

पद्माले सामाजिक सन्जालमा धनराजलाई शालीन र लोकतन्त्रमाथि विश्वास गर्ने नेताको रुपमा बुझे पनि निर्वाचनको दिनदेखि आफ्नो बुझाइ झुठो प्रमाणित भएको उल्लेख गरेकी छन् । ‘मैले तपाईंलाई शालीन एवम् लोकतन्त्रमाथि विश्वास गर्ने एउटा नेताको रुपमा बुझेको थिएँ । निर्वाचनका दिन चापकोटको केही बुथमा भएका निर्मम दृश्यले तपाईंप्रतिको मेरो बुझाइ झुठो प्रमाणित गरिदियो । स्वस्थ प्रतिस्पर्धामाथि विश्वास गर्न सक्नु भएन ।’



152 Views

Comments