माओवादीको ‘ढुलमुले चरित्र’

Bhugolpark

१८ मंसिर, २०७९,०५:४५

काठमाडौं : माओवादी केन्द्र अबको सरकार गठन गर्न ‘माओवादीको ‘ढुलमुले चरित्र’देखिएको छ। अपेक्षाअनुसार चुनावी नतिजा आफ्नो पक्षमा नआएको विश्लेषणसहित उक्त पार्टी सरकार गठनमा सबै विकल्प खुला राख्ने पक्षमा उभिएको हो। 

पाँच दलीय सत्ता गठबन्धन छाड्ने निर्णय नभए पनि ‘एमालेसँग मिलेर सरकार गठन’ को विकल्प खुला राख्ने नेताहरूले बताएका छन्। उपाध्यक्ष कृष्णबहादुर महराले सरकार गठनका विषयमा एमालेसँग मिल्न सकिनेलगायत विकल्प खुला राखिएको बताए। ‘अहिले जुन गठबन्धन छ त्यो छोड्ने निर्णय होइन,’ नेता महराले भने, ‘अरू सबै विकल्प हामीले खुलाएका छौं।’ 

चुनावी समीक्षा गर्न शनिबार माओवादी पदाधिकारीको बैठक बसेको थियो। बैठकमा अपेक्षाअनुसार चुनावी परिणाम नआएको निष्कर्ष निकालिएको महराले बताए। महासचिव देव गुरुङले एमालेसँग पनि सरकार गठनका लागि वार्ता र संवाद हुने बताए। राजनीतिक कोर्स जता पनि जान सक्ने उल्लेख गर्दै नेता गुरुङले गठबन्धन अहिले यथावत् रहेको बताए। तर, भावी समीकरणबारे अहिले नै टुंगो नलागेको उनको भनाइ थियो। एमाले नेताहरू पनि आफ्नो पार्टीको नेतृत्वमा सरकार गठन गर्न अरू दलसँग संवाद र सहकार्य गर्ने बताइरहेका छन्। 

बैठकमा नेताहरूले सत्ता गठबन्धनको सबै मत ‘ट्रान्सफर’ नहुँदा पार्टीका धेरै उम्मेदवारले हार व्यहोर्नुपरेको धारणा व्यक्त गरेका थिए। सत्ता गठबन्धन दल माओवादीले प्रतिनिधिसभा चुनावको प्रत्यक्षतर्फ १७ सिट जित हात पारेको छ।   

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ सबैभन्दा धेरै कांग्रेसले ५६ स्थान जितेको छ। दुई स्थानको गणना बाँकी रहँदा एक स्थानमा अग्रता लिएको छ। दोस्रो स्थानमा एमालेले ४४ सिट हात पारेको छ भने दोलखामा पनि माओवादीभन्दा अघि छ ।

 एकीकृत समाजवादीले १०, जसपा, राप्रपा, रास्वपाले ७-७, लोसपा ४, जनमोर्चा, नेमकिपा, जनमतले १-१ र स्वतन्त्रले ५ सिट जितेका छन्। 

यो समाचार तयार पार्दासम्म समानुपातिकमा सबैभन्दा बढी २७ लाख ८८ हजारभन्दा बढी मत एमालेले पाएको छ। त्यसपछि दोस्रो स्थानमा कांग्रेसको २६ लाख ६० हजारभन्दा बढी मत छ। 


135 Views

Comments