प्राप्त प्रत्यक्ष सिट र समानुपातिक रूझानबीच १४० सिट पुग्ने सत्ता गठबन्धनको निष्कर्ष, पाँच दलको बैठक बोलाउने तयारी
देउवा र दाहालबीच संवाद भएलगत्तै भारतीय राजदूत श्रीवास्तव बालुवाटारमा, चुनावी परिणाम र आगामी सरकारबारे चासो
काठमाडौँ — सम्भावित समीकरणका विभिन्न अनुमानबीच कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल पाँचदलीय गठबन्धनकै सरकार बनाउने तयारीमा लागेका छन् । प्रत्यक्ष सिट तथा समानुपातिक रुझानबीच सत्ता गठबन्धनकै बहुमत पुग्ने निष्कर्षसहित उनीहरूले पाँच दलको बैठक बोलाउने समझदारी गरेका छन् ।
गठबन्धन भए पनि उनीहरूले ‘सोचेजस्तो’ मत आदानप्रदान नभएको भन्दै एकीकृत समाजवादी र माओवादीका केही नेताले असन्तुष्टि व्यक्त गरिरहेका छन् । त्यस्तै लामो संवादहीनता तोड्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष दाहाललाई सम्पर्क गरी सहकार्यको प्रस्ताव राखेपछि सम्भावित समीकरणका विषयमा आम चासो बढेको छ । तर, प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले भने शनिबारको छलफलपछि आशंका हटेको दाबी गरे । ‘विद्यमान गठबन्धनलाई निरन्तरता दिने र सरकार निर्माणको गृहकार्यमा लाग्न नेताहरू स्पष्ट हुनुहुन्छ,’ उनले कान्तिपुरसँग भने ।
प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार प्रधानमन्त्री देउवाले गठबन्धनको तेस्रो दल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि शुक्रबार टेलिफोन संवाद गरेका छन् । उनीहरूबीच यही छलफल भएको उनले जानकारी दिए ।
पछिल्लो मतपरिणामअनुसार प्रत्यक्षमा ५२ सिटमा निर्वाचित कांग्रेसले ३ सिटमा अग्रता लिइरहेको छ । दोलखा, स्याङ्जा र बाजुरामा मतगणना सुरु हुन सकेको छैन । यसरी प्रत्यक्षमा कम्तीमा ५७ र समानुपातिकमा ३४ सहित ९१ सिट जित्ने कांग्रेसको हिसाब छ । त्यस्तै १७ सिट जितेको माओवादीले एक सिटमा अग्रता लिइरहेको छ । मतगणना हुन बाँकी दोलखामा पनि जित्ने उसको दाबी छ । प्रत्यक्षमा १९ र समानुपातिकबाट १५ सहित ३४ सिट आफ्नो हुने माओवादी हिसाब छ ।
गठबन्धनको तेस्रो दल एकीकृत समाजवादीले प्रत्यक्षमा १० सिट जितेको छ, समानुपातिकमा उसको प्रतिनिधित्व यकिन छैन । शनिबार मध्यरातसम्म एकीकृत समाजवादी २.५७ प्रतिशतमा छ । उसले ३ प्रतिशत पुर्याए कांग्रेस र माओवादीसहित एमालेले पनि एक/एक सिट गुमाउनेछन् । त्यस्तै गठबन्धनको अर्को सहयोगी लोसपाले प्रत्यक्षमा चार सिट जितेको छ भने जनमोर्चाले एक सिट निश्चित गरेको छ ।
Comments