देशमा समृद्धि ल्याउँनको लागि चुनावी गठबन्धन : पर्यटनमन्त्री श्रेष्ठ

Bhugolpark

३० कार्तिक, २०७९,०५:२१

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठले देशमा समृद्धि ल्याउँनको लागि चुनावी गठबन्धन सत्ता गठबन्धनले पूरा गर्ने बताउनुभएको छ ।

गठबन्धनको कार्यकर्ता भेलालाई कलङ्कीमा सम्बोधन गर्ने क्रममा मन्त्री श्रेष्ठले वाम–लोकतान्त्रिक सत्ता गठबन्धन स्वार्थका लागि नभएर राष्ट्रियताको संरक्षण, राजनीतिक उपलब्धिको रक्षाका लागि बनेकाले समृद्धिको जनआकाङ्क्षा पूरा गर्ने बताउनुभयो । काठमाडौँ क्षेत्र नं ८ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका मन्त्री श्रेष्ठले प्रतिगमनको खतरा रहेसम्म सत्तारुढ दलबीच रहेको गठबन्धन कायम रहने जानकारी दिनुभयो ।

मन्त्री श्रेष्ठले अहिलेको चुनावमा प्रतिगमन र अग्रगमनबीच प्रतिस्पर्धा हुने उल्लेख गर्दै राष्ट्र निर्माण, लोकतन्त्र रक्षा र जनताको समृद्धिको चाहना पूरा गर्न जनताले गठबन्धनलाई आसन्न निर्वाचनमा अत्यधिक मत दिनुपर्ने बताउनुभयो । विगतमा केपी शर्मा ओली नेतृत्वको सरकारले संविधान र लोकतन्त्रलाई समाप्त गर्न खोजेको उल्लेख गर्दै उहाँले देशलाई प्रतिगमनबाट बचाउन निर्वाचनमा सत्ता गठबन्धन एकढिक्क भएको बताउनुभयो ।

काठमाडौँ–८ मा आफूले सुरू गरेका कैयौं योजना निरन्तरताका लागि उम्मेदवार बनेको उहाँको भनाइ थियो । मन्त्री श्रेष्ठले आफ्नो निर्वाचन क्षेत्रलाई नमूना पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने योजना रहेको बताउनुभयो । सम्पदा क्षेत्रका जनताले पर्यटनबाट प्रत्यक्ष लाभ लिने वातावरण बनाउन स्थानीयवासीलाई सीपमूलक तथा आयआर्जनका कार्यक्रममा सामेल गरिने उहाँको भनाइ थियो ।


241 Views

Comments