गायक प्रशान्त तामाङको निधन

Bhugolpark

२६ पुष, २०८२,१३:०९

सलमान खानको फिल्म ‘ब्याटल अफ गलवान’बाट बलिउड डेब्यु गरेका प्रशान्त तामाङ सोही फिल्मको छायांकन सक्काएर घरमा आराम गरिरहेका थिए । त्यसो त फुर्सदमा मात्र होइन, फुर्सद मिलाएरै उनी दिल्लीस्थित घरमा बस्ने गरेका थिए । खासगरी छोरीको हेरचाहका लागि ।

तीन वर्षकी छोरीसँग उनी बाँकी समय खेलेर बिताउथे । श्रीमती एयरहोस्टेस भएको कारण घरमा रहेर छोरीको रेखदेख गर्ने जिम्मा पनि उनकै थियो । कलाकार एवं निर्माता राजेश घतानीका अनुसार उनी छोरीलाई हम्मेसी छाड्दैनथे । यसबीचमा अनगिन्ती कार्यक्रमको अफर आए पनि अस्वीकार गर्दै बसेका थिए, छोरीकै लागि ।

‘छोरीप्रति यतिविध्न लगाव हुनुको पनि कारण छ’ घतानीले अनलाइनखबरसँग भने, ‘उनले छोरीमा आमाको प्रतिविम्ब देख्छु भन्थ्यो ।’ कोरोनाको बेला आमासँगको वियोग उनको जीवनकै सबैभन्दा ठूलो पछुतो थियो ।

त्यसबेला उनी दिल्लीमै थिए । कोरोना महाव्याधिपछि सर्वत्र ठप्प थियो । यता दार्जीलिङमा आमा बितिन्, कोरोनाले नै । प्रशान्तले आमालाई अन्तिम अवस्थामा भेट्न पाएनन् । जबकि उनी परिवारका एकमात्र छोरा थिए ।

‘परिवारप्रति त्यस्तो लगाव राख्ने र करियरका लागि पनि उत्तिकै सचेत थिए’ राजेश घतानी भन्छन्, ‘तर, उनको जीवन धेरै लामो रहेनछ ।’ दिल्लीमा छोरीसँगै बसिरहेका प्रशान्तको कार्डियक अरेष्टका कारण निधन भएको उनले बताए ।

प्रशान्त तामाङले चर्चित भारतीय गायन रियालिटी शो ‘इन्डियन आइडल’ सिजन–३ जितेर दक्षिण एसियाली संगीत क्षेत्रमा विशेष पहिचान बनाएका छन् । दार्जीलिङमा जन्मिएका तामाङ साधारण परिवारबाट आएका हुन् । गायन क्षेत्रमा प्रवेश गर्नुअघि उनी कोलकाताको प्रहरी सेवामा कार्यरत थिए, जहाँ सुरक्षाको जिम्मेवारी र संगीतप्रतिको मोहलाई सँगसँगै अघि बढाएका थिए ।

इन्डियन आइडलमा उनको यात्रा सजिलो थिएन। साधारण पहिरन, सादा स्वभाव र भावनात्मक गायन शैलीका कारण उनी छिट्टै दर्शकको मन जित्न सफल भए । उनको आवाजमा रहेको आत्मीयता, लोकभाव र भावप्रवण प्रस्तुतिले निर्णायक मात्र होइन, करोडौँ दर्शकलाई प्रभावित गर्‍यो । अन्ततः २००७ मा उनले उपाधि जितेपछि नेपालीभाषी समुदायमा उत्सवको माहोल बन्यो ।

यो जित केवल व्यक्तिगत सफलता मात्र थिएन, नेपाली पहिचान र प्रतिभाको अन्तर्राष्ट्रिय स्वीकारोक्ति पनि थियो । उपाधि जितेपछि प्रशान्त तामाङले हिन्दी, नेपाली तथा अन्य भाषामा गीतहरू गाए । उनले चलचित्रका लागि पनि पार्श्वगायन गरे र विभिन्न सांगीतिक कार्यक्रममार्फत दर्शकसँग निरन्तर जोडिँदै आए। पछिल्लो समय भने उनी गायनमा भन्दा फिल्ममा सक्रिय थिए । गायक तामाङले नेपाली फिल्म ‘परदेशी, गोर्खापल्टन’ लगायतमा काम पनि गरेका छन् ।

पछिल्लो समय उनले बलिउड/ओटीटीमा पनि कदम चालेका थिए । अमेजन प्राइमको पाताल लोक सिजन २ (२०२५) मा उनले स्नाइपर ड्यानियल लेचो (भिलेन) को शक्तिशाली भूमिका निर्वाह गरे, जसको प्रशंसा व्यापक रूपमा भएको थियो । प्रशान्तले सन् २०११ मा पूर्व एयर होस्टेस मार्था एलीसँग विवाह गरेका थिए र सन् २०२२ मा छोरी आरियाको जन्मपछि परिवारसँग खुसी जीवन बिताइरहेका थिए ।

दुर्भाग्यवश, जनवरी ११, २०२६ (आज) दिल्लीस्थित आफ्नै निवासमा मात्र ४२ वर्षको उमेरमा उनको असामयिक निधन भयो । उनको यो प्रस्थानले नेपाली भाषी संगीत तथा चलचित्र जगतमा ठूलो शोक उत्पन्न गरेको छ ।

उनले नेपाली पहिचान र गोर्खा गौरवलाई विश्व मञ्चमा चिनाउन महत्वपूर्ण योगदान दिएका थिए । उनको सम्झना सधैं अमर रहनेछ।

विश्वका नेपालीलाई एकढिक्का बनाएको त्यो अभूतपूर्व क्षण

जब उनी इन्डियन आइडलको मञ्चमा उभिए, विश्वभरका नेपालीभाषीलाई एउटै धड्कनमा बाँध्यो । उपस्थितले भारत, नेपाल, भूटान, बंगलादेशदेखि विश्वभर छरिएका नेपाली र भारतीय समुदायलाई एकै ठाउँ उभ्यायो । त्यो एकदमै भावनात्मक माहौल थियो । प्रतियोगिता केवल गायनको प्रतिस्पर्धा रहेन, पहिचान, स्वाभिमान र अपनत्वको उत्सव बन्यो । प्रशान्त तामाङको सादगी, शालीन व्यवहार र आत्मीय मुस्कानले दर्शकलाई आफूजस्तै महसुस गरायो ।

उनी जब गीत गाइरहन्थे, भाषाको भिन्नता हराउँथ्यो, राष्ट्रिय सीमाहरू मौन बन्थे, केवल स्वर र भाव बाँकी रहन्थ्यो । यही कारण उनका प्रस्तुतीहरू भारतका शहरदेखि नेपाली पहाडसम्म समान रूपमा सुन्न थालिए । उनको समर्थनमा भारतका विभिन्न राज्य, नेपाल र विश्वका नेपाली–भारतीय समुदायबाट अभूतपूर्व मतदान भयो । यसले देखायो कि सांगीतिक भावना साझा हुँदा भूगोल गौण हुन्छ । मिडियाले पनि यसलाई केवल प्रतियोगिता नभई सांस्कृतिक एकताको घटना मानेर चित्रित गर्‍यो । स्टुडियो बाहिर दर्शक–श्रोताहरु भावुक हुन्थे, आँसु र गर्व सँगै देखिन्थ्यो ।


63 Views

Comments