रास्वपाद्वारा समानुपातिक उम्मेदवारी आह्वान, जेनजी र प्रवासबाट फर्किएकालाई आरक्षण

Bhugolpark

२३ कार्तिक, २०८२,१२:०६

२३ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ मा हुने निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको उम्मेदवारको आवेदन आह्वान गरेको छ ।

प्रवक्ता मनिष झाका अनुसार सहमहामन्त्री विपिनकुमार आचार्यले प्रस्तुत गरेको उम्मेदवार छनोटको रुपरेखामा आधारित रहेर उम्मेदवारी आह्वान गरिएको हो । उम्मेदवार बन्न चाहनेहरुका लागि केही सर्त तथा मापदण्डहरु निर्धारण गरिएको छ ।

रास्वपाको उम्मेदवार हुन चाहने व्यक्ति सार्वजनिक पदको दुरुपयोग नगरेको, वैवाहिक अवस्था वैध रहेको, जात–लिंगको आधारमा अपमान वा कमजोर समूहको शोषण जस्ता आचरण नगरेको, आम्दानी पारदर्शी भएको लगायतका स्वघोषणा गर्नुपर्ने छ । उम्मेदवार छनोट प्रक्रिया पारदर्शी, विधिसम्मत र निष्पक्ष भए/नभएको मूल्यांकनका लागि अडिट समिति बनाउने रास्वपाले जनाएको छ ।

रास्वपाले समानुपातिक बन्दसूचीको खाकालाई थप उन्नत, वैज्ञानिक र वस्तुपरक बनाउँदै संविधानले निर्दिष्ट गरेको जातीय क्लस्टर मात्र नभई क्लस्टरमा आधारित जनसांख्यिक प्रादेशिक अनुपात र २०७९ सालको आम निर्वाचनमा पार्टीले प्राप्त गरेको समानुपातिकतर्फको मतको प्रादेशिक अनुपादका आधारमा ११० जना उम्मेदवारको बन्दसूचीको खाका निर्माण गरेको जनाएको छ । यो व्यवस्थाले प्रदेशको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्नुका साथै प्रदेशको क्लस्टरमा आधारित जनसांख्यिक अनुपातलाई पनि सम्बोधन गरेको रास्वपाको दाबी छ ।

जेनजीको स्पिरिको प्रतिनिधित्वलाई समानुपातिक बन्दसूचीमा समेट्दै ४० वर्षबीचका युवाका लागि उनीहरुको जनसंख्या अनुपातकै आधारमा २७ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिएको छ । त्यसैगरी प्रवासबा उम्मेदवार बन्न फर्किने नेपालीका लागि १० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिएको रास्वपा प्रवक्ता झाले जानकारी दिए ।


10 Views

Comments