काठमाडौँस्थित नेपाल ल क्याम्पसका विद्यार्थीहरूले अन्तरिम प्रधानमन्त्री बन्न संविधानलाई आधार मानेर गर्न अनुरोध गरेका छन्। हातमा संविधानको किताब बोकेर नेपाल ल क्याम्पस अगाडि संविधानलाई आधार मानेर प्रधानमन्त्रीको निचोड लगाउन भन्दै प्रदर्शन गरेका छन्। हाल जेन्जीहरूको आन्दोलन चलिरहेको छ । को प्रधानमन्त्री बन्ने भन्ने विषयमा जेन्जीहरू आफैबीच लफडा भइरहेको अवस्था छ।
यसै विषयलाई मध्यनजर गर्दै नेपाल ल क्याम्पसका विद्यार्थीहरूले संविधानलाई आधार मानेर प्रधानमन्त्रीको निर्धारण गर्न आग्रह गरेका छन्।
नेपाल ल क्याम्पसका विद्यार्थी रोहित ओझाले जेन्जीहरूलाई संविधानका धाराहरूको विषयमा पूर्ण रुपमा ज्ञान नभएको र संविधान देशको मूल कानुन यसलाई लत्याउन नहुने भन्दै संविधानको किताब सहित प्रदर्शन गरेको बताएका छन्। उनले सर्वोच्च अदालत, न्यायिक प्रशासन रहेको र अन्तरिम प्रधानमन्त्री यसैलाई आधार मानेर बनाउनु पर्ने बताएका छन्।
यस्तै सुरज रेग्मीले संविधानको महत्त्व बुझाउँदै जेन्जीले गरेको आन्दोलन सही भएपनि उनीहरूको नाममा भएका सार्वजनिक सम्पत्तिमाथि आग्जनीले हाम्रो आफ्नै सर्वस्व गएको बताएका छन्। उनले सार्वजनिक सम्पत्तिमा आग्जनी गर्ने व्यक्तिको पहिचान गरी सार्वजनिक गरिनुपर्ने बताएका छन्।
योसँगै मन्दिप शाहले आम नागरिकले संविधान पढ्न जरुरी रहेको बताउँदै जेन्जी समूहलाई पनि यसको बारेमा ज्ञान राख्न आवश्यक रहेको बताएका छन्। उनले संविधानले दिएको हक हित अधिकारका कुराहरु पालना गर्दै नेपाललाई सुशासन, नागरिकलाई जिम्मेवार सँगै अनुशासित बनाउने काम संविधानले गर्छ यसलाई लत्याउने काम गर्नु नहुने बताएका छन्।
नेपाल ल क्याम्पसकाका विद्यार्थीहरूले संविधान किताब देखाउँदै सबै लाई पढ्न अनुरोध गर्दै यसको रक्षामा उत्रन आग्रह गर्दै प्रदर्शन गरेका छन्।
Comments