२३ दिनदेखि अखिल क्रान्तिकारीका विद्यार्थी रिले अनशनमा

Bhugolpark

३० श्रावण, २०८२,१४:४३

३० साउन, काठमाडौं। नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका विद्यार्थी शुल्क घटाउनु पर्ने माग राखेर त्रिभुवन विश्वविद्यालयमा रिले अनशनमा बसेको २३ दिन पुग्यो। तर, माग सम्बोधन नभएको गुनासो विद्यार्थीहरूको छ ।


‘हामी रिले अनशनमै छौँ । माग सम्बोधन भएको छैन,’ अखिल क्रान्तिकारी त्रिवि इन्चार्ज ममता जोशीले भनिन्। अन्तर्राष्ट्रिय सम्बन्ध, द्वन्द्व र शान्ति, सामाजिक कार्य, लैङ्गिकता सम्बन्धी अध्ययन कार्यक्रमलाई ९ महिना अघि केन्द्रीय विभागमा गाभिएको थियो।


विभागमा गाभिएपछि शुल्क घटाउनु पर्ने माग विद्यार्थीहरूले राखेका हुन् ।विभागका शिक्षक, कर्मचारी र भौतिक संरचनाको व्यवस्थापन गर्नुपर्ने माग पनि अखिल क्रान्तिकारीको छ । १९ दिनसम्म उपकुलपतिको कार्यकक्ष अगाडि रिले अनशनमा बसेका थिए।


१९ औँ दिनको दिन प्रहरीसँग झडप भएपछि विद्यार्थीहरू बाहिरै रिले अनशनमा बसेका हुन् । त्रिविले आन्दोलनरत विद्यार्थीसँग वार्ता गर्न समिति पनि बनाएको छ । विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक प्राध्यापक पशुपति अधिकारीको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति बनाइएको छ । वार्ता समितिले पटक पटक वार्ता गरेपनि सहमति जुट्न सकेको छैन ।


18 Views

Comments