चीन र भारतको सम्बन्ध सुधारतर्फ, छिट्टै सिधा हवाई उडान सुरु हुने

Bhugolpark

३० श्रावण, २०८२,११:०४

काठमाडौं । पाँच वर्षपछि चीन र भारतबीच छिट्टै सिधा हवाई उडान सुरु हुने भएको छ । चीनले भारतसँग सिधा उडानहरू पुनः सुरु गर्न निरन्तर सम्पर्कमा रहेको छ । 

 

यसको औपचारिक घोषणा ३१ अगस्टदेखि १ सेप्टेम्बरसम्म तियानजिनमा हुने शांघाई सहयोग संगठन (एससीओ) सम्मेलनको दौरानमा हुनसक्ने अनुमान गरिएको इकोनोमी टाइम्सले जनाएको छ । 


चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले केही समयदेखि चीन र भारत सिधा उडानहरूको छिट्टै पुनर्बहालीका लागि वार्ता गरिरहेको बताए । यसैबीच, भारतीय वाणिज्य दूतावास, शांघाईका महावाणिज्यदूत प्रतीक माथुरले बिहीबार चाइना इस्टर्न एयरलाइन्सका वरिष्ठ अधिकारीहरूसँग भेटघाट गर्दै र नागरिक उड्डयन तथा पर्यटन क्षेत्रमा सहयोगबारे छलफल गरेका थिए ।

कोभिड–१९ महामारी र लद्दाखमा सीमा विवादपछि २०२० मा भारत–चीनबीच सिधा हवाई सेवाहरू बन्द भएका थिए । यसअघि चाइना इस्टर्न एयरलाइन्स र एयर चाइना दिल्लीलगायत धेरै भारतीय सहरहरूका लागि दैनिक उडानहरू सञ्चालन गर्थे ।

 

चीनको विदेश मन्त्रालयका प्रवक्ताले सिधा उडानहरूको पुनर्बहालीबाट दुवै देशका २.८ अर्बभन्दा बढी जनताबीच यात्रा, आदान–प्रदान र सहयोगलाई बढावा मिल्ने बताइएको छ । 

भारत र चीनबीच विगत चार वर्षदेखि ठप्प रहेको वार्ता अब विस्तारै सामान्य हुँदै गएको छ । यसै क्रममा चिनियाँ विदेश मन्त्री वाङ यीको १८ अगस्टमा भारत आउने र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग विशेष प्रतिनिधिस्तरको वार्ता गर्ने सम्भावना छ । 

“ड्रागन र हात्तीको साझेदारी, एक–अर्काको सफलतामा सहयोगी बन्नु, दुवै देशका लागि सही बाटो हो,” लिन जियानले अगाडि भने, “हामी भारतसँग राजनीतिक विश्वास बढाउने, व्यावहारिक सहयोगलाई अगाडि बढाउने, मतभेदहरूलाई सही तरिकाले समाधान गर्ने र बहुपक्षीय मञ्चहरूमा सँगै काम गर्न तयार छौँ ।”


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अप्रत्याशित कदमका बीच भारत र चीनले आफ्नो सम्बन्धमा सुधारको दिशामा कदम चालिरहेका छन् । यसैक्रममा चीनका विदेश मन्त्री वाङ यी अर्को हप्ता भारत भ्रमणमा आउँदै छन् । राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग सीमा विवादबारे छलफल हुने बताइएको छ । यो २०२० मा दुवै पक्षका सैनिकहरूबीच गलवान घाटीमा भएको झडपपछि दोस्रो उच्चस्तरीय भेटघाट हुन लागेको हो ।  एससीओ सम्मेलनमा सहभागी हुँदै मोदी

यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यस महिनाको अन्त्यमा चीनमा हुने शांघाई सहयोग संगठन (एससीओ) सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनफिङसँग भेटवार्ता गर्नेछन् । प्रधानमन्त्री मोदीको यो सात वर्षमा पहिलो चीन भ्रमण हुनेछ । 


गत वर्ष अक्टोबरमा वास्तविक नियन्त्रण रेखा (एलएसी)मा गस्ती सम्झौतापछि सीमा तनावमा कमी आएको छ । यसले व्यापार, लगानी र हवाई सेवाहरूमा परेको प्रभावलाई कम गर्ने बाटो खुलेको छ ।

भारत र चीनले २०२० देखि बन्द रहेका सिधा उडानहरूलाई पुनः सुरु गर्नेमा सहमति जनाएका छन् । र, तीन बाटाहरूमार्फत सीमा व्यापार बहाली गर्नेमा छलफल गरिरहेका छन् । 

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले भने, हामी सबै निर्धारित व्यापार बिन्दुहरूबाट सीमा व्यापार बहालीका लागि चीनसँग जोडिएका छौँ । चीनले पनि यसलाई सीमामा बस्ने मानिसको जीवन सुधार्ने र दुवै सहयोग बढाउने महत्त्वपूर्ण हुने बताएको छ ।


18 Views

Comments