एनआरएनए रुस २०२५–२०२७: नयाँ नेतृत्व चयन

Bhugolpark

१२ श्रावण, २०८२,१७:४१

मस्को, जुलाई २७ — सन् २०२५ जुलाई २७ मा मस्कोमा सम्पन्न १२औं साधारण सभाबाट गैरआवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद् (NCC) रुसको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। नवगठित कार्यसमितिको नेतृत्व अध्यक्षको रूपमा श्री सिताराम “मिलन” कटेलले गरेका छन्। यो निर्वाचन प्रक्रिया शान्त, मर्यादित र अत्यन्त बौद्धिक वातावरणमा सम्पन्न भएको थियो, जहाँ कुनै पनि विवाद, असहमति वा प्रतिस्पर्धा देखिएको थिएन। यसले रुसमा बसोबास गरिरहेका नेपाली समुदायभित्र आपसी समझदारी र सहकार्यको अनुकरणीय दृष्टान्त प्रस्तुत गरेको छ।

३३ वर्षीय श्री कटेल खोटाङ जिल्लामा जन्मिएका हुन्। उनले प्रारम्भिक तथा माध्यमिक शिक्षा नेपालमै पूरा गरेपछि सन् २०१२ मा उच्च शिक्षाका लागि छात्रवृतिमा रूसको राजधानी मस्को आएका थिए। RUDN University मा स्नातक तहको कानून अध्ययन सन् २०१७ मा सम्पन्न गरेपछि उनले सन् २०१९ मा सोही विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय कानुनमा स्नातकोत्तर उपाधि हासिल गरे। विश्वविद्यालय जीवनमा उनी नेतृत्वमा सक्रिय रहँदै सन् २०१६ र २०१७ मा RUDN स्थित नेपाली विद्यार्थी संघको अध्यक्ष पदमा निर्वाचित भएका थिए। हाल उनी रुससहित विभिन्न देशमा व्यवसायिक क्षेत्रमा सक्रिय छन्। एनआरएनए रुसमा उनी दुई कार्यकालसम्म युवा संयोजक (२०१९–२०२३) र पछिल्लो कार्यकालमा महासचिव (२०२३–२०२५) को रूपमा सक्रिय रहँदै संगठनात्मक काममा उल्लेखनीय योगदान पुर्‍याइसकेका छन्।

अध्यक्षको रूपमा उनले "एनआरएनएमा युवाको नेतृत्व — आजको आवश्यकता" भन्ने मूल नारासहित कार्यभार सम्हालेका छन्। आगामी कार्यकालमा उनले घोषणा गरेका प्रमुख योजनाहरूमा आपतकालीन अवस्थामा सहयोग पुर्‍याउने स्वास्थ्य कोषको स्थापना, सम्पूर्ण रुसभर रहेका नेपालीहरूलाई एउटै अनलाइन सञ्जालमा समेट्ने प्रयास, अध्यागमन तथा कानुनी समस्याको समाधानका लागि हेल्पलाइन सेवा, रूसी साझेदारहरूसँग व्यापारिक सम्बन्ध विस्तार, नेपाली भाषा, संस्कृति, पर्यटन तथा उत्पादन प्रवर्द्धनमा सम्मेलन र प्रदर्शनीमार्फत पहल गर्ने योजना छन्। त्यसैगरी, विभिन्न सहरमा नेपाली समुदायसँग प्रत्यक्ष भेटघाट, नेपाली दूतावाससँग समन्वय गरेर नेपाल–रुस सम्बन्ध थप मजबुत बनाउने प्रयास, मानव तस्करी न्यूनीकरणका लागि सूचना केन्द्र स्थापना, विद्यार्थीहरूको छात्रवृत्तिमा पहुँच र सहभागीता अभिवृद्धि, श्रम स्वीकृति तथा सामाजिक सुरक्षा प्रणालीको जानकारी, विशेष सैन्य अपरेशनमा संलग्न नेपालीहरूको पुनःस्थापनाका लागि पहल, नवउद्यमीहरूको सहभागिता विस्तार र महिला नेतृत्वको सुनिश्चितता पनि घोषणापत्रमा समेटिएका छन्।

श्री कट्टेलको नेतृत्वमा निर्वाचित कार्यसमितिमा उपाध्यक्ष पदमा तीन जना अनुभवी व्यक्तित्वहरू छन्। श्री अमित कुमार कर्ण, जो मस्कोमा लगभग दुई दशक समयदेखि बसोबास गरिरहेका इन्जिनियर तथा व्यवसायी हुन्, श्री संज्ञान कार्की, जो ऊर्जा क्षेत्रमा स्नातकोत्तर डिग्री हाशिल गरेर व्यवसायमा संलग्न हुनुका साथै अघिल्लो कार्यसमितिका कोषाध्यक्ष समेत रहिसकेका व्यक्ति हुन्, र डा. प्रनिल प्रधान, जो RUDN विश्वविद्यालयका मेडिकल स्नातक डाक्टर हुन् र हाल सोही संस्थामा अनुसन्धानकर्ता तथा सह–प्राध्यापकको रूपमा पनि कार्यरत छन्। महासचिवको भूमिकामा श्री प्रविण खातीवडा चयन भएका छन्, जो रुसस्थित नेपाली व्यवसायिक समुदायमा एक परिचित नाम हुन्। युवा संयोजकमा फेरि श्री गिभ्सन ढकालले निरन्तरता पाएका छन्, जो युवाबीच निकै लोकप्रिय छन्। सचिवका रूपमा श्री खगेन्द्र धामी र श्री दयानिधि गुरागाईं नियुक्त भएका छन् भने कोषाध्यक्षमा श्री राम बाबु पाण्डे र सह–कोषाध्यक्षमा श्री यम बहादुर थापा छन्। महिला संयोजकको भूमिकामा श्रीमती हेमा कुमारी “कला” पोखरेलले कार्यभार सम्हाल्नेछिन्। कार्यकारिणी सदस्यहरूमा मुक्तिराम न्यौपाने, नारायण भुसाल, विनय रिजाल, सुजन रायमाझी र गौरव पौडेल रहेका छन्।

यस पटक रुसबाट अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा निर्विरोध चयन हुनुभएका डा. मना मुर्ति भुर्तेल एनआरएनए आन्दोलनका एक अनुभवी र आदरणीय व्यक्तित्व हुन्। सुरुवाती दिनदेखि नै संघसँग आबद्ध रहेका डा. भुर्तेल नेपाली डायस्पोराबीच अन्तर्राष्ट्रिय रूपमा चिनिने नाम हुन्।

यो नवगठित कार्यसमिति युवाको नेतृत्व, दृष्टिकोण र ऊर्जाबाट प्रेरित भएर अगाडि बढ्ने प्रतिबद्धतासहित गठन भएको छ। रुसस्थित नेपालीहरूको हकहितको संरक्षण र प्रवर्द्धनका साथै नेपालमा योगदान पुर्‍याउने दृढ संकल्प लिएको यो टोलीले संस्था र समुदायलाई नयाँ दिशामा लैजाने अपेक्षा गरिएको छ। सुरुवात सधैं सजिलो हुँदैन, तर साँचो नेतृत्व भनेको भविष्यको उज्यालो सुनिश्चित गर्दै जिम्मेवारीको बत्तीलाइ बलियो बनाउँदै हस्तान्तरण गर्नु हो।

केन्द्रमा NRNA बीच विवाद भएतापनि रुसको एनआरएनए भने एक ढिक्का छ।


39 Views

Comments