१६ जुलाई २०२५ मा Joule जर्नलमा प्रकाशित अध्ययनअनुसार वैज्ञानिकहरूले एक नयाँ सौर्य-ऊर्जामा आधारित प्रविधि विकास गरेका छन्, जसले चन्द्रमाको माटोबाट पानी निकाल्ने र अन्तरिक्ष यात्रीहरूले सास फेर्दा निकाल्ने कार्बन डाइअक्साइडलाई अक्सिजन र इन्धनमा रूपान्तरण गर्ने क्षमता राख्दछ।
यो प्रविधिले दीर्घकालीन चन्द्रमाबासी मानव जीवनको सम्भावना बढाउने विश्वास गरिएको छ, किनभने यसले पृथ्वीबाट ठूलो परिमाणमा पानी र इन्धन लैजानु पर्ने आवश्यकतालाई घटाउनेछ।
"चन्द्रमाको माटोमा यस्तो चमत्कार होला भन्ने सोचेका थिएनौँ"
चीनको हङकङ, शेन्जेनस्थित चिनियाँ विश्वविद्यालयका अनुसन्धानकर्ता लू वाङ भन्छन्, “हामीले चन्द्रमाको माटोमा यस्तो 'जादु' हुने कल्पना गरेका थिएनौँ। पानी निकाल्ने र कार्बन डाइअक्साइडलाई एकैचोटि रूपान्तरण गर्ने एकीकृत प्रणालीले ऊर्जा उपयोगलाई अधिक प्रभावकारी बनाउँछ र संरचना निर्माणको खर्च घटाउँछ।”
चन्द्रमालाई भविष्यको अन्तरिक्ष अन्वेषणको प्रक्षेपण थलो बनाउने अवधारणालाई विभिन्न अन्तरिक्ष एजेन्सीहरूले लामो समयदेखि प्राथमिकता दिँदै आएका छन्। तर, पानीजस्ता आधारभूत स्रोतहरू चन्द्रमामा पुर्याउने खर्च अत्यन्तै महँगो हुने हुँदा दीर्घकालीन बास असम्भवजस्तै देखिन्थ्यो। एक अध्ययन अनुसार अन्तरिक्षमा एक ग्यालोन पानी लैजान करिब ८३,००० अमेरिकी डलर लाग्छ। जबकी, एउटा अन्तरिक्ष यात्रीलाई दैनिक झन्डै ४ ग्यालोन पानी चाहिन्छ।
नयाँ प्रविधिको काम गर्ने तरिका
यस प्रविधिमा सूर्यको प्रकाशलाई प्रयोग गरी 'फोटोथर्मल' प्रक्रिया मार्फत चन्द्रमाको माटो (विशेष गरी इल्मेनाइट नामक खनिज) बाट पानी निकालिन्छ। त्यसपछि त्यसै पानीको प्रयोग गरेर अन्तरिक्ष यात्रीहरूले सास फेर्दा निकाल्ने CO₂ लाई अक्सिजन, हाइड्रोजन र कार्बन मोनोअक्साइडमा रूपान्तरण गरिन्छ। यी तत्वहरू अक्सिजनको स्रोत मात्र होइन, इन्धन निर्माणका लागि पनि प्रयोग गर्न सकिन्छ।
चुनौतीहरू अझै बाँकी
यद्यपि यो प्रयोगशालामा सफल देखिएको भए पनि, चन्द्रमाको चरम तापमान परिवर्तन, तीव्र विकिरण, कम गुरुत्वाकर्षणजस्ता वातावरणीय चुनौतीहरू यसलाई व्यवहारमा उतार्न कठिन हुने वैज्ञानिकहरूको भनाइ छ। साथै, चन्द्रमाको माटोको बनावट सबै ठाउँमा समान छैन, जसले प्रक्रियाको निरन्तरता असर गर्न सक्छ।
“यी प्राविधिक चुनौतीहरू हटाउने र प्रविधिको प्रदर्शन अझ प्रभावकारी बनाउनेतर्फ गम्भीर काम आवश्यक छ,” अनुसन्धानकर्ताहरूले लेखेका छन्।
Comments