झापा र कपिलवस्तुमा सवारी दुर्घटनाले तीन जनाको ज्यान गयो

Bhugolpark

१२ श्रावण, २०८२,११:२३

१२ साउन, काठमाडौं । कपिलवस्तु र झापामा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । कपिलवस्तुमा दुई र झापामा एक जनाको मृत्यु भएको हो ।


दाङबाट पोखरा जाँदै गरेको ग १ ख ९०१३ नम्बरको बस र विपरीत दिशामा रहेको लु १ ह ४१५४ नम्बरको अटो शिवराज नगरपालिका–१ उमरीमा गएराति ठोक्किँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी रितेन्द्र सिंहले जानकारी दिए ।


उनका अनुसार मृत्यु हुनेमा ५० वर्षीय रितबहादुर सुनार र १८ वर्षीया रविना राना छन् । दुर्घटनामा घाइते भएका उमरीका पवित्रा सुनार तथा प्युठान घर भई बलुवा बस्ने १८ वर्षीय शक्ति भण्डारीको सिटी अस्पताल भैरहवामा उपचार भइरहेको छ ।


यसैगरी झापाको मेचीनगरमा स्कारपियो गाडीको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।


मे १ च ६१३१ नम्बरको स्कारपियोले आइतबार बेलुकी साढे ७ बजे मेचीनगर–१२, सहरेडाँगीमा एक पैदलयात्रीलाई ठक्कर दिएर भागेको थियो । अन्दाजी ४५ वर्षीय ती पैदलयात्रीको बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । उनको सनाखत हुन बाँकी छ ।


ठक्कर दिएर भागेको स्कारपियोसहित चालक झापाको हल्दीवारी–१ बस्ने ४८ वर्षीय गजेन्द्रबहादुर विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


81 Views

Comments