सुनचाँदीमा लगाउने घोषणा गरिएको कर फिर्ता गर्न माग

Bhugolpark

८ असार, २०८२,१३:४९

काठमाडौँ, ९ जेठ : नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेटमार्फत सुन तथा गरगहनामा शून्यबाटै कर लाग्ने गरी भएको घोषणा फिर्ता लिन माग गरेको छ । प्रतिनिधिसभा, अर्थ समितिको आजको बैठकमा सुनचाँदी व्यवसायीले सुन जन्मदेखि मृत्यपछिको संस्कारमासमेत आवश्यकपर्ने हुँदा यसलाई विलासिताका रूपमा नहेरी संस्कार, संस्कृति र सम्पतिका रूपमा बुझिदिन सरकारलाई सुझाव दिनुभयो । 


महासङ्घका अध्यक्ष अर्जुन रसाइलीले सुन र गहनामा विभिन्न नाममा ३० प्रतिशतसम्म कर लाग्ने व्यवस्थाले नेपाली व्यवसाय धरासायी हुने बताउनुभयो । उहाँले अहिलेकै घोषणा कायम रहेमा नेपालमा सुन महँगो भई उपभोक्ता मारमा पर्नुका साथै हजारौँ मजदुरको रोजगारी गुम्न सक्नेतर्फ सचेत रहन आग्रह गर्नुभयो । खुला सिमाना भएका कारण भारतीय बजारमा पुगेर सहज सुन किन्न वातावरणले राज्यको ठूलो परिमाणमा राजस्व गुम्न सक्ने पक्षमासमेत सजग रहन जरूरी रहेको व्यवसायीको भनाइ थियो । 


चालु आर्थिक वर्षमा करिब १० लाखसम्म सुन खरिदमा अतिरिक्त कर लाग्ने व्यवस्था रहेकामा यस पटकको बजेटमा शून्यबाटै कर लाग्ने प्रावधान रहने प्रस्ताव गरेको छ । नेपाल सुन चाँदी व्यवसायी तथा कालीगढ सङ्घर्ष समितिका विपेन्द्र रामुदामु सुनचाँदी व्यवसायीलाई राज्यले हर्ने र दृष्टिकोणमै परिवर्तन आउन आवश्यक रहेको बताउनुभयो । नेपालको सुनचाँदी व्यवसायलाई मर्यादित तुल्याउन सहजरूपमा कच्चापदार्थ प्राप्तिको व्यवस्था हुन आवश्यक रहेको बताउँदै उहाँले सुनचाँदीलगायत रत्न सुन्दरताका लागि मात्र नभइ अप्ठेरो परेका बेला खर्च गर्ने वस्तुका रूपमा बुझिदिन सुझाव दिनुभयो ।


नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष अर्जुन विश्वकर्माले मुलुकको व्यापार घाटालाई सन्तुलित तुल्याउन महत्त्वपूर्ण भूमिका खेलेको सुनचाँदी व्यवसायले १२ अर्ब बराबरको राजस्वमा योगदान दिँदैआएको जानकारी दिनुभयो । नेपालमा सुनचाँदी रत्न तथा आभूषणका क्षेत्रमा चार खर्बभन्दा बढीको लगानी रहेको बताउँदै उहाँले नेपालबाट वार्षिकरूपमा चार अर्बभन्दा बढीका गरगहना निर्यात हुँदैआएको तथ्याङक प्रस्तुत गर्नुभयो । 


सुनचाँदी व्यवसाय विस्तारका लागि आवश्यक वातावरण बनाउनुपर्ने, कच्चा पदार्थमा पहुँच विस्तार हुनुपर्ने तथा सङ्कटबाट गुज्रिरहेको व्यवसायलाई सान्त्वना दिन अन्य नीतिगत व्यवस्था घोषणा हुनुपर्ने व्यवसायिको माग छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका प्रतिनिधि दिपेशरत्न शाक्यले नेपाली समाजका संस्कारसँग जोडिएको तथा महत्त्वपूर्ण नगद सम्पतिकारूपमा रहेको सुनचाँदीका गरगहना जहिले पनि निर्यातको सम्भावना बोकेको बस्तु भएकाले यस व्यवसायको संरक्षण र प्रवद्र्धनमा सरकारको ध्यान जान आवश्यक रहेको बताउनुभयो ।


बैठकमा सदस्यले अहिले घोषणा गरिएको करले सुनचाँदी व्यवसाय मात्र नभइ नेपाली उपभोक्तालाईसमेत मर्का परेकाले त्यसमा सरकारको सहजीकरणको आवश्यकता औँल्याउनुभयो । उहाँहरूले अत्यधिकरूपमा बढाइएको करले व्यवसाय सञ्चालनमा अप्ठेरो सिर्जना हुने र उपभोक्ता बढी मारमा पर्ने पाटोमा हेक्का राख्न सरकारलाई सुझाव दिनुभयो ।


यसअघि आन्तरिक राजस्व विभागका उपमहानिर्देशक तीर्थराज सिल्वालले सुन कालोधनको सञ्चयको क्षेत्र भन्ने प्रश्न उठेपछि त्यसलाई नियमन गर्न र पारदर्शी तुल्याउन करलगायत विषयमा नयाँ व्यवस्था गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालमा बैंङ्किङ माध्यमद्वारा छ प्रतिशत मात्र सुनको कारोबार हुन्छ, अरु विभिन्न पक्षबाट करोबार हुन्छ । झोलामा पैसा बोकेर सुन भण्डारण गर्ने कार्यलाई रोक्न सरकारले सारेको अभियानमा सहयोग होस् ।” अर्थ समितिले विभिन्न माग राखेर आन्दोलनमा रहेका सुनचाँदी व्यवसायिका विषयमा छलफल गर्न आजको बैठक बोलाएको हो ।


51 Views

Comments