काठमाडौं,
इजरायली आक्रमणमा इरानी सशस्त्र बलको गुप्तचर इकाइका प्रमुखको मृत्यु भएपछि इरानले कडा जवाफस्वरूप मिसाइल र ड्रोन आक्रमण सुरु गरेको छ। बीबीसीका अनुसार, इरानले सोमबार जुन १६ मा इजरायलतर्फ नयाँ हवाई हमला सञ्चालन गरेको हो।
इरानले ड्रोन तथा ब्यालिस्टिक मिसाइल प्रयोग गरी आक्रमण गरेपछि इजरायलको धेरै क्षेत्रमा क्षति पुगेको इजरायली सेनाले जनाएको छ। इजरायलको राष्ट्रिय आपत्कालीन सेवा मागेन डेभिड एडमका अनुसार, मध्य इजरायलका चार फरक स्थानमा भएका आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने ६७ जना घाइते भएका छन्। तीमध्ये एक महिलाको अवस्था गम्भीर रहेको बताइएको छ। अन्य छ जना घाइतेको अवस्था भने स्थिर छ।
इजरायली अग्निशमन सेवाका अनुसार, हवाई हमलापछि तटीय क्षेत्रमा मिसाइल लागेका स्थानहरूमा खोजी तथा उद्धार कार्य जारी छ। अग्निशमन टोलीले मिसाइल लागेका भवनतर्फ उद्धार टोली पठाएको जानकारी दिएको छ।
यसैबीच, इजरायलको राष्ट्रिय आपत्कालीन संस्थाले हाइफा सहरमा खटाइएको उद्धार टोलीको भिडियो सार्वजनिक गरेको छ। भिडियोमा देखिएअनुसार, मिसाइल लागेका स्थानमा गाडीमा आगो लागेको छ भने एक आवासीय भवनको अगाडिको भाग पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।
इजरायल र इरानबीचको यो नयाँ तनावले क्षेत्रीय अवस्था थप जटिल बनाएको छ। पछिल्लो घटनाक्रमले दुई देशबीचको द्वन्द्व गहिरिँदै गएको संकेत देखिएको विश्लेषकहरू बताउँछन्।
Comments