क्रिकेटमा बजेट वर्षा, फुटबल र भलिबल ओझेलमा

Bhugolpark

१७ जेष्ठ, २०८२,१६:००

काठमाडौँ, जेठ १६: आर्थिक वर्ष २०८२/८३ को लागि बिहीबार अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषण गर्दा क्रिकेट खेलको पूर्वाधारमा धेरै बजेट विनियोजन भयो । तर राष्ट्रिय खेल भलिबल र चर्चित खेल फुटबलको लागि भने बजेटमा खासै नाम आएन । क्रिकेटमा टीयू मैदानसहित अन्य चार मैदानका लागि तोकिएरै बजेट घोषणा हुँदा बजेट भाषणमा भलिबल र फुटबलको नाम उच्चारण समेत भएन । तर युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले राष्ट्रिय खेल भलिबल र फुटबलसहित अन्य खेल पूर्वाधारका लागि पनि बजेट छुट्याइएको बताए । उनले फुटबल र भलिबल दुवैका लागि उपत्यका भित्र नै जग्गा हेरिरहेको बताए। 'यी दुई खेलमा जग्गा उपलब्ध नभएर हाइलाइट नभाको हो । फुटबल र भलिबलका लागि जग्गा उपलब्ध भएपछि हाइलाइट हुन्छ' उनले भने । भलिबल नेपालको राष्ट्रिय खेल हुँदा पनि बजेट भाषणमा कुनै स्थान पनि नपाउँदा यस खेलमा चासो राख्नेहरु चिन्तित थिए। मन्त्री चौधरीले फुटबलको नयाँ अन्तर्राष्ट्रिय स्टेडियम निर्माणका लागि प्रस्ताव गरिएको बताए। 'भक्तपुरमा फुटबलको नयाँ रंगशाला बनाउने प्रस्थाव भएको छ । डिपिआर लगायत प्रक्रिया अघि बढिराछ ' मन्त्री चौधरीले भने ।


225 Views

Comments