गुजरातमा पुल भत्किँदा कम्तीमा १४१ जनाको मृत्यु, प्रधानमन्त्री देउवाद्वारा दुःख व्यक्त

Bhugolpark

१५ कार्तिक, २०७९,०६:०८

 

गुजरात, भारत । भारतको पश्चिमी राज्य गुजरातमा झोलुङ्गे पुल भत्किँदा कम्तीमा एक सय ४१ जनाको मृत्यु भएको छ । एक स्थानीय अधिकारीका अनुसार दुर्घटनामा ज्यान गुमाएकामा अधिकांश महिला, बालबालिका र वृद्ध छन् । दीपावली पर्व मनाउने क्रममा भीडले खचाखच मोरबीको पुल भाँच्चिएको थियो । हालसम्म एक सय ७३ जनाभन्दा बढीलाई उद्धार गरिएको छ । कैयौँ हराइरहेका छन् । 

 

बेलायतको शासनकालमा १९ औँ शताब्दीमा बनेको उक्त पुल मर्मतसम्भारपछि गत सातादेखि सञ्चालन गरिएको थियो । गुजरातका गृहमन्त्रीले उक्त हताहतीबारे जानकारी दिँदै मृतकको सङ्ख्या बढ्नसक्ने बताएका छन् । उक्त दुर्घटनाबारे आपराधिक मुद्दा दर्ता गरिएको छ । राज्य सरकारका प्रहरी प्रमुखको नेतृत्वमा आजैदेखि अनुसन्धान पनि थालिएको छ । 

 

राष्ट्रिय आपत एवम् राहत बल, वायु सेना, नौसेना, राष्ट्रिय एवम् राज्यका सुरक्षा निकायका दुई सयभन्दा बढीले खोज तथा उद्धारका काम रातभर सञ्चालन गरेका थिए । चालीसभन्दा बढी चिकित्सक एवम् स्वास्थ्यकर्मीको टोली घटनास्थलमा आइपुगेको छ ।

 

यसैबीच, प्रधानमन्त्री नरेन्द्र मोदीले पुल भत्केर भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै राहत तथा उद्धारका काममा कुनै किसिमको ढिलासुस्ती नहुने बताएका छन् । दुर्घटनामा ज्यान गुमाएकाहरूका परिवारप्रति समवेदना व्यक्त गर्दै उनले आफ्नो सरकार शोकाकुल परिवारका साथमा रहेको बताएका छन् । 

 

प्रधानमन्त्री देउवाद्वारा दुःख व्यक्त

 

आइतबार गुजरातमा पुल भाँच्चिएर धेरैको अमूल्य जीवनमा भएको क्षतिप्रति रूसी राष्ट्रपति भ्लादिभिर पुटिन, नेपालका प्रधानमन्त्री शेरबहादुर देउवालगायत विश्वका नेताहरूले गहिरो दुःख व्यक्त गरेका छन् । साथै उनीहरूले झोलुङ्गे पुल दुर्घटनामा परी बहुमूल्य जीवन क्षति भएकामा हार्दिक समवेदना व्यक्त गरेका छन् ।  

 

राष्ट्रपति पुटिनले आफ्ना भारतीय समकक्षी द्रौपदी मुर्म र प्रधानमन्त्री नरेन्द्र मोदीप्रति हार्दिक समवेदना व्यक्त गर्दै पीडितहरूका परिवारजनमा सहानुभूति प्रकट गरेका छन् । उनले सबै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् । 

 

प्रधानमन्त्री  देउवाले उक्त घटनाबाट आफू स्तब्ध भएको बताउँदै दुर्घटनामा ज्यान गुमाएकाहरूका परिवारजनका साथै भारत सरकार र त्यहाँका जनताप्रति समवेदना व्यक्त गरेका छन् । उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।  

 

झोलुङ्गे पुल भत्किँदा कम्तीमा एक सय ४१ जनाको मृत्यु भएको छ । एक स्थानीय अधिकारीका अनुसार दुर्घटनामा ज्यान गुमाएकामा अधिकांश महिला, बालबालिका र वृद्ध छन् । दीपावली पर्व मनाउने क्रममा भीडले खचाखच मोरबीको पुल भाँच्चिएको थियो । एएनआई


135 Views

Comments