भरतपुर । वरिष्ठ राजनीतिज्ञ एवं समाजसेवी मैयादेवी श्रेष्ठको ९५ वर्षका उमेरमा आइतबार बिहान निधन भएको छ । नेपाली कांग्रेसकी वरिष्ठ नेतृ श्रेष्ठ पछिल्लो समय निमोनियाबाट अस्वस्थ भई यही कात्तिक ४ गतेदेखि चितवन मेडिकल कलेजको अस्पतालमा उपचाररत थिइन् ।
वरिष्ठ समाजसेवी श्रेष्ठमा श्वासप्रश्वासको समस्या देखिएको थियो । उनलाई गत असोज २५ गते सो अस्पताल भर्ना गरिएकामा पाँच दिनपछि घर लगिएको थियो । पुनः उनको स्वास्थ्य अवस्था जटिल भएपछि सो अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा पूर्वसांसद श्रेष्ठको आइतबार बिहान निधन भएको उनका धर्मपुत्र टङ्कनाथ पौडेलले जानकारी दिए ।
नेपाल आमा सम्मानबाट सम्मानित पूर्वसांसद् श्रेष्ठ भरतपुरस्थित मैयादेवी कन्या क्याम्पसको संरक्षक हुन् । धर्मपुत्र पौडेलका अनुसार दानवीरका रूपमा परिचित श्रेष्ठले हालसम्म दान गरेका सम्पत्ति रु एक अर्बभन्दा माथिको रहेको छ ।
को हुन् मैयाँदेवी ?
मैयाँदेवी बुबा बीरबहादुर श्रेष्ठ र आमा गणेशकुमारी श्रेष्ठबाट तनहुँको बन्दिपुरमा विसं १९८७ असोज ५ गते फूलपातीको दिन जन्मिएकी हुन् ।
वीरगञ्जमा डिठ्ठा रहेका बुबा बीरबहादुरको निधनपछि सानै उमेरबाट आमा गणेशकुमारीको माया ममतामा हुर्किएकी मैयाँदेवीले विवाह गरिनन् । उनको आइतबार बिहान ९५ वर्षको उमेरमा चितवन मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो ।
आइतबार बिहान ९:३० बजेबाट १०:३० बजेसम्म उनको पार्थिव शरीरलाई कांग्रेसको पार्टी कार्यालय कमलनगरमा राखिएको थियो । त्यसपछि उनी संरक्षक रहेको मैयादेवी कन्या क्याम्पसमा राखेर दिउँसो देवघाटमा हिन्दु धर्म संस्कारअनुसार अन्त्येष्टि गरिँदैछ ।
नेपाली कांग्रेसले शोक वक्तव्य जारी गर्दै आइतबारका सबै कार्यक्रम स्थगन गरी शोक मनाउने जनाएको छ ।
एक अर्बभन्दा माथि दान
दानवीर र समाजसेवी उनले हालसम्म दान गरेको सम्पत्ति एक अर्ब रुपैयाँभन्दा माथि रहेको उनका धर्मपुत्र टङ्कनाथ पौडेलले बताएका छन् । उनले नारायणगढमा हाल सञ्चालनमा रहेको बालकुमारी कन्या स्कुललाई १० कठ्ठा जग्गा दान गरी दार्जलिङ्गदेखि शिक्षक बोलाएर पठन पाठन सुरु गराएकी थिइन् । अहिले सो स्कुलमा कक्षा १२ सम्मको पढाइ हुँदै आएको छ ।
उनले भरतपुरको मैयाँदेवी कन्या कलेज स्थापनाका लागि करोडौँ रुपैयाँ खर्च गरेकी छन् । उनी सो कलेजको संरक्षक हुन् । हाल समुदायको व्यवस्थापनमा सञ्चालनमा रहेको यो कलेजमा कक्षा ११ देखि स्नाकोत्तरसम्मको पढाइ हुँदै आएको छ ।
मैयाँदेवी श्रेष्ठले विसं २०४८ सालमा गोरखाबाट निर्वाचित सांसद र पछि मनोनित राष्ट्रियसभाको सांसद गरी लगातार १२ वर्षसम्म सांसद् रहिन् । उनले कांग्रेसको केन्द्रीय कार्यालयका लागि रवि भवनमा तीनतले घरजग्गा पार्टीलाई दान दिएकी हुन् । यस्तै, चितवन कांग्रेसका लागि नारायणगढको मुटु कमलनगरमा रहेको जग्गा र भवन दान गरेकी छन् ।
नेपाली कांग्रेस गोरखाको पार्टी कार्यालय निर्माणका लागि २० लाख, कांग्रेस देवघाटका लागि घडेरी दान, प्रजातन्त्रवादी पत्रकारहरुको संस्था नेपाल प्रेस युनियन चितवनको भवन बनाउनका लागि पनि उनले जग्गा दान गरेकी थिइन् ।
यस्तै, पिस फेडेरेसन भरतपुर ११, नारायणचारी बाबा देवघाटधाम, महेश सन्यास आश्रम देवघाट, पतन्जली योग समिति नारायणगढ, नेवा पुचः नारायणगढलगायतलाई उनले जग्गा दान गरिसकेकी छन् ।
यसैगरी, आफ्नो सेवामा समर्पित हुने धर्मपुत्रहरु, भतिज र अन्य सेवकहरुलाई पनि उनले जग्गा दान गरेकी छन् । सेवा गरेका छोराहरु टंकनाथ पौडेल, ऋषिराम गौतम, हरिनारायण सापकोटा र मधुराम दुवाडीलाई जीवन चल्नेगरी नारायणगढ बजारमा जग्गा दान गरेकी छन् ।
यस्तै, दाइका छोराहरु प्रेमकुमार श्रेष्ठ, सिद्धकुमार श्रेष्ठ र बुहारी कल्याणी श्रेष्ठलाई पनि उनले जग्गा दिएकी छन् । आफूले हुर्काएका नारायणगढका कृष्णप्रसाद श्रेष्ठलाई बजारमै घडेरी दिएकी छन् भने भान्से ईन्दिरा ढकाललाई देवघाटमा घडेरी दिएकी छन् ।
पूजारी रामबहादुर कार्की र उनकी श्रीमती देवीलाई देवघाटमा घडेरी दिएकी छन् भने यौवन अवस्थादेखिका साथी विष्णुमाया श्रेष्ठलाई नारायणगढ बजारमा घडेरी दिएकी छन् ।
श्रेष्ठकी आफन्त मन्दिरा श्रेष्ठलाई देवघाटमा र बुबाको अन्त्यष्टिमा पाल्पाबाट झिकाएका पण्डित शिस्वानी बाजे र बजैलाई पनि उनले नारायणगढ बजारमा घडेरी दिएकी छन् । पुरेत षडानन्द लामिछानेलाई नारायणगढमा, ट्रष्टका सचिव हरि ढकाललाई देवघाटमा, पूर्वमन्त्री चित्रलेखा यादवलाई देवघाटमा, ठूलीआमाको छोरा कृष्णभाइ प्रधानलाई देवघाटमा, नातिनी उन्नति अधिकारी र श्रेया पौडेललाई समेत उनले घडेरी दिएकी छन् ।
पछिल्लो पटक उनले नेपाली कांग्रेसका संस्थापक विपी कोइरालाका छोरा शशांक कोइरालालाई भरतपुरमा झण्डै एक करोड पर्ने जग्गा दान दिएकी छन् । उनको बचेको करोडौँको सम्पत्ति उनकै नाममा ट्रष्ट बनाएर राखिने गरी दान दिएकी छन् ।
Comments