राष्ट्रपतिद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना

२१ आश्विन, २०८१,११:२३

२१ असोज, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल प्रथम महिला सबिता पौडेलसहित बडादसैँको अवसरमा आज बिहान दक्षिणकाली मन्दिर जानुभई दक्षिणकाली माताको पूजाअर्चना गर्नुका साथै पूजारीबाट टीकाप्रसाद ग्रहण गर्नुभयो । काठमाडौँको दक्षिण भेग दक्षिणकाली नगरपालिकामा पर्ने यस मन्दिर उपत्यकाको प्रमुख शक्तिपीठमध्ये एक मानिन्छ । सो अवसरमा दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतले मन्दिर क्षेत्रमा हालैको बाढीले पारेको क्षतिको विवरण प्रस्तुत गर्दै पीडितलाई राहत तथा मन्दिर क्षेत्रको पुनःनिर्माणमा सहयोगका लागि आग्रह गर्नुभयो ।

साथै काठमाडौँ मकवानपुरको सडक छिटो पुनःनिर्माण गरी निर्वाध यातायात सञ्चालनको हुनुपर्नेमा जोड दिनुभयो । राष्ट्रपति पौडेलले बाढी पहिरोले यस क्षेत्रमा भएको धनजनको क्षतिप्रति सहानुभूति व्यक्त गर्दै मन्दिर क्षेत्र र सडक निर्माण एवम् पीडितलाई राहतका लागि सरकारको ध्यानाकर्षण गराउने बताउनुभयो । राष्ट्रपति पौडेल मन्दिर पुग्नुहुँदा स्थानीय निकायका जनप्रतिनिधि, मन्दिर व्यवस्थापन समितिका पदाधिकारी र सर्वसाधारणले स्वागत गरेका थिए ।

यसैबीच नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज पनि आश्विन शुक्ल चौथी तिथि वृद्धि भएकाले नवरात्रमा गरिने दुर्गा पूजाको विधि अनुसार कुष्माण्डा देवीकै पूजा आराधना गर्नुपर्ने जनाएको छ । आज बिहान ०६:१६ बजेसम्म चौथी तिथि रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिनुभयो । यसैले आज पनि दुर्गा पूजाको विधि अनुसार कुष्माण्डा देवीकै पूजा, आराधना गर्नुपर्ने शास्त्रीय विधि रहेको उहाँले सुनाउनुभयो । आइतबार पनि सूर्योदयकालमा चौथी तिथि थियो । आइतबार दिनरात अर्थात् ६० घडी नै चौथी तिथि रहेको थियो ।

घटस्थापनादेखि आज पाँचौँ दिन भए पनि तिथि वृद्धि भएकाले चौथीकै कृत्य आज पनि गर्नुपर्छ । नवदुर्गामध्येकी पाँचौँ देवी स्कन्दमाताको पूजा, आराधना भने आश्विन शुक्ल पञ्चमीमा सूर्योदय हुने मङ्गलबार गर्नुपर्छ । यस वर्ष नवरात्रमा चौथी तिथि वृद्धि भएको छ भने नवमी तिथि टुटेको छ । असोज २५ गते महाअष्टमी तिथिको कृत्य सकेपछि त्यसै दिन केही समय विश्राम गरेर महानवमीको कृत्य गर्नुपर्ने पनि अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । दुर्गा पक्षसमेत भनिने यस वर्षको नवरात्रमा चौथी तिथि वृद्धि भए पनि नवमी तिथि टुटेकाले नौ रातकै नवरात्र रहेको समितिले जनाएको छ । तिथिको घटबढका कारण बेला बेलामा यस्तो हुने गरेको छ ।



150 Views

Comments