“चुनाको बेला फैलने मिथ्या सूचना निवारण गर्न तथ्यजाँच अपरिहार्य” : दीपक अधिकारी

५ भाद्र, २०८१,१६:५०

५ भदौ, काठमाडौँ । हाम्रो नेता डट अनलाइन (HamroNeta.Online) बाट प्रशारित हाम्रो नयाँ पोडकास्ट शृंखलाको यो उद्घाटन एपिसोडमा “मिथ्या वा भ्रामक सूचना Misinformation and Disinformation” शीर्षकमा नेपाल चेकका सम्पादक दीपक अधिकारी र मिडिया कुराकानीका सम्पादक रविराज बरालसँग गरिएको कुराकानीको दोस्रो अंश :

मिथ्या वा भ्रामक सूचना Misinformation and Disinformation को अन्त्य कसरी गर्न सकिन्छ ?

झूट अर्थात् तथ्यहीन, मिथ्या, असत्य, झूटो दाबी वा सामग्री पहिचान गरी तिनको सत्यता प्रमाणित गर्नुपर्छ । सत्यापन गर्न तथ्यजाँच गर्नुपर्छ ।

गलत, भ्रामक र अर्ध-सत्य सामग्री केवल सामाजिक सञ्जालका ‘सर्वसाधारण’ प्रयोगकर्ताले मात्र फैलाउँदैनन्, थुप्रैले ‘विश्वास’ गर्दै मत समेत हाल्ने राजनीतिकर्मी, सार्वजनिक व्यक्तित्व र निर्वाचित पदाधिकारीहरूले पनि जानीजानी वा नजानेरै त्यस्ता सूचना र मन्तव्य दिन्छन्, फैलाउँछन् । 

त्यसैले सार्वजनिक पदाधिकारीहरू, निर्वाचित प्रतिनिधिहरू र राजनीतिक दलका नेता कार्यकर्ताहरूलाई तिनीहरूका भनाइ र दाबीको सत्यापन गर्दै जवाफदेही बनाउनुपर्छ । मैले काम गर्ने नेपाल चेक एउटा स्वतन्त्र र निष्पक्ष मञ्च हो । स्वदेशी र अन्तर्राष्ट्रिय माध्यममा पत्रकारिता गरेका व्यावसायिक पत्रकारहरू र शोधकर्ताहरूले यो वेबसाइट चलाउँछन् ।

हाम्रो नेता डट अनलाइन (HamroNeta.Online) र हामी मिलेर झूट र अर्ध-सत्यको डटेर सामना गरी शंकास्पद दाबीलाई मिलेर तथ्यजाँच र सत्यापन गर्नुपर्छ ।

मिथ्या वा भ्रामक सूचना Misinformation and Disinformation को अन्त्य गरी पारदर्शिता र जवाफदेहिताको प्रबर्धन कसरी गर्न सकिन्छ ?

हामीले सार्वजनिक वृत्तमा गरिएका दाबी सही हुन् कि होइनन् भनी जाँचेर दाबीकर्तालाई जवाफदेही बनाउँनुपर्छ । जानाजानी वा नजानेरै झूट फैलाउने काम रोक्नु वा कम गर्नुपर्छ ।

नेपाली सामाजिक सञ्जालमा फैलिएको मिथ्या जाँच गर्नुपर्छ, तिनको सत्यापन गर्नुपर्छ । हामीले मूलधारका सञ्चारमाध्यममा प्रकाशित वा प्रसारित झूटा दाबीहरू पहिचान गरी प्रमाणित सामग्री प्रकाशन गर्नुपर्छ । हामीले निश्चित पार्टी, समूह वा विचारको पक्ष वा विपक्षमा हुनुहुँदैन्, समर्थन वा विरोध गर्नु पनि हुँदैन् । हामीले मतदाताहरूलाई तथ्यमा आधारित र प्रमाणित सूचना दिई सही निर्णय र छनोट गर्न सघाउँनुपर्छ ।

हामीले तथ्यपरक र विश्वसनीय स्रोतमा आधारित निष्पक्ष रिपोर्टहरू प्रकाशित गरेर मिथ्याको प्रतिवाद गर्नुपर्छ । हामीलाई थाहा छ, धेरैजसो सामजिक विषयहरू जटिल हुन्छन् । तर तिनलाई सकभर सबैले बुझ्ने भाषामा सविस्तार व्याख्या गर्न सकिन्छ । त्यस्ता विस्तृत जानकारीले आम मानिसलाई कुनै पनि विषयमा आफ्नो धारणा बनाउन मद्दत गर्छन् । हामीले सञ्चारकर्मी, राजनीतिकर्मी, विद्यार्थी, व्यवसायी या अन्य जो कोहीलाई मिथ्याको प्रतिवाद गर्ने क्षमता विकास गर्न सघाउँनुपर्छ । त्यसका लागि हामी नेपालमा नियामक निकायले सत्यापन वा तथ्यजाँच र डिजिटल साक्षरतालगायतका विषयमा कार्यशाला, तालिम र छलफल गर्नुपर्नेमा गरेको देखिदैन् । अब तपाई हामीले यो जिम्मेवारी वहन गर्ने हिम्मत गर्नुपर्छ ।

हामीले आगामी २०८४ सालको निर्वाचनमा तथ्यजाँच वा सत्यापन कसरी गर्न सकिन्छ ?

१) सही : सत्यापन वा तथ्यजाँचपछि सही साबित भएका सामाग्री ।

२) गलत : सत्यापन वा तथ्यजाँचपछि गलत साबित भएका सामाग्री ।

३) अर्ध-सत्य : सत्यापन वा तथ्यजाँचपछि अर्ध-सत्य साबित भएका सामाग्री ।

४) भ्रामक : सत्यापन वा तथ्यजाँचपछि भ्रामक साबित भएका सामाग्री ।

५) अप्रासङ्गिक : सत्यापन वा तथ्यजाँचपछि अप्रासङ्गिक साबित भएका सामाग्री ।

सत्यापन वा तथ्यजाँचको केन्द्रमा कुनै पनि सामग्रीको यथार्थ वा सत्य प्रमाणित गर्ने कार्य हुन्छ । हामीले परम्परागत र ओपन सोर्स इन्भेस्टिगेसन (असिन्ट) भनिने सार्वजनिक रूपमा डिजिटल मञ्चमा उपलब्ध स्रोत सामग्री र विधि प्रयोग गरेर दाबी सही हो कि होइन भनी पुष्टि गर्नुपर्छ ।

कुनै सामग्री कति व्यापक रूपमा फैलिएको छ, त्यसको सत्यापन गरिएन भने त्यसले के कस्तो हानि गर्न सक्छ, त्यसलाई ‘प्रभावशाली’ वा कस्ता व्यक्तिले फैलाइरहेका छन् जस्ता केही प्रश्नको जवाफका आधारमा हामी कुनै कुराको सत्यापन गर्ने कि नगर्ने टुंगोमा पुग्नुपर्छ । त्यसपछि हामीले शोध अनुसन्धान गर्नुपर्छ । यसका लागि हामीले अनलाइन माध्यम र विषय विज्ञ दुवैको सहयोग लिनुपर्छ । तथ्यजाँचको निष्कर्ष प्रमाणमा आधारित हुन्छ ।

मिथ्या पहिचान गर्न हामीले परम्परागत र डिजिटल मिडिया र सामाजिक सञ्जालको निगरानी गर्नुपर्छ । सामाजिक सञ्जालमा प्रकाशित हुने हरेक सामग्री (जस्तै मिम, फोटो, भिडियो, पोस्ट वा यी सबैको संयोजन) लाई हामी दाबीका रूपमा बुझ्छौँ । सामाजिक सञ्जाल प्रयोगकर्ता, सार्वजनिक व्यक्ति, सार्वजनिक वृत्तमा रहेका व्यक्ति वा निर्वाचित पदाधिकारी, दलका उम्मेदवार तथा वा राजनीतिक दलका नेताका भनाइ वा मन्तव्य हाम्रालागि दाबी हुन् । कुनै पनि शंकास्पद सूचना वा दाबी देखेपछि हामी त्यसलाई ‘पाँच क’ (कहिले, कसरी, किन, कहाँ र कसले) को कसीमा केलाउँछौँ । जस्तै: के यो सही हो ? के यो भ्रामक छ ? के यो अर्ध-सत्य हो ? त्यसको जाँचपड्ताल गर्छौ र एउटा निर्क्योल निकाल्छौँ ।

सूचनाको केन्द्र नै सरकार भएकाले सरकारले चाहेको खण्डमा तथ्यजाँच गर्न सक्छ । निर्वाचन आयोग एक स्वायत संस्था भएकाले नीति नियमको परिधिभित्र रहेर नियमण र सुपरिवेक्षण गरी निर्वाचनलाई निष्पक्ष धाधली रहित बनाउँन सक्छ । तर निर्वाचन आयोग नै अमूख पार्टी र सरकारको इसारामा चलेको पाइन्छ ।

बाँकी तथा अन्तिम भाग हेर्न पनि नभूल्नुहोला ।



243 Views

Comments