बिर्तामोड — चुनावी सरगर्मी बढेसँगै उम्मेदवारहरू महिनाअगावै घरदैलोमा व्यस्त छन् । झापामा मुख्य प्रतिस्पर्धा एमाले–राप्रपा तालमेल र सत्ता गठबन्धनबीच नै देखिन्छ । जिल्लास्तरीयदेखि पार्टीका केन्द्रीय अध्यक्षसम्मका उम्मेदवार छन् । विगतमा ‘हेभीवेट’ लाई चुनाव जित्न सहज थियो । तर योपल्ट अवस्था त्यस्तो छैन । प्रतिस्पर्धी दलसँगै उनीहरूलाई स्वतन्त्र उम्मेदवारले पनि टक्कर दिने देखिन्छ । झापा ५ मा एमाले अध्यक्ष केपी ओलीलाई गठबन्धनसँगै स्वतन्त्र उम्मेदवार दीपककुमार (युग) पाठकले पनि चुनौती दिने ठानिएको छ । लेखक एवं सामाजिक अभियन्तासमेत रहेका पाठक ओलीका चर्का आलोचक हुन् । युवापुस्ताको वितृष्णा बढेको छ, ओली खराब राजनीति गर्छन्, त्यसैले उनको राजनीतिमाथि हस्तक्षेप गर्न मैले उम्मेदवारी दिएको हुँ ।’
ओली सातौं पटक चुनावी मैदानमा छन् । ०६४ बाहेक पहिलो पटक एमालेका लागि झापा ५ केही कमजोर देखिन्छ । चार पालिका रहेको उक्त क्षेत्रमा एउटामा मात्र एमालेको नेतृत्व छ । ०७४ मा वाम गठबन्धनसँगै राप्रपाको समेत शतप्रतिशत मत पाएका ओलीलाई योपल्ट राप्रपाको मात्र सहयोग छ । छ महिनाअघिको स्थानीय तह निर्वाचनको नतिजाका कारण पनि मंसिर ४ मा ओलीलाई राप्रपाबाट शतप्रतिशत मत पाउनेमा संशय छ ।
ओलीजस्तै तनावमा छन्, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेन । झापा ३ बाट चुनावी मैदानमा होमिएका लिङदेनको मुख्य प्रतिस्पर्धी कांग्रेस नेता कृष्णप्रसाद सिटौला हुन् । नेपाली राजनीतिमा कुटिल खेलाडीका रूपमा हेरिने सिटौलाविरुद्ध चुनाव लड्दै गर्दा सहयोगी दलकै कार्यकर्ताबाट लिङदेनलाई खतरा बढेको हो । झापामा एमाले र राप्रपाबीच चुनावी तालमेल छ । विशेषगरी झापा ३ मा एमालेले लिङदेनलाई तथा ५ मा राप्रपाले ओलीलाई चुनाव जिताउन भन्दै चुनावी तालमेल गरिएको हो । यस्तो तालमेल एमाले र राप्रपाबीच ०७४ मा पनि भएको थियो । उक्त चुनावमा दुवै जना सफल भएका थिए ।
यस पटक अवस्था फेरिएको छ । झापा ५ मा ओली राप्रपाप्रति तथा झापा ३ मा लिङदेन एमालेप्रति पूर्ण विश्वस्त देखिँदैनन् । झापा ३ मा एमालेले प्रतिनिधिसभातर्फ उम्मेदवारी दिएन । उक्त क्षेत्रमा एमालेको उम्मेदवार राप्रपा अध्यक्ष लिङदेन हुन् । तर, राप्रपासँग तालमेल गर्ने पार्टी निर्णयविरुद्ध एमाले जिल्ला सचिवालय सदस्य डम्बर गिरीले उक्त क्षेत्रबाट प्रतिनिधिसभातर्फ उम्मेदवारी दिएका छन् । गिरीको उम्मेदवारीले अध्यक्ष लिङदेनलाई गाह्रो पारेको छ ।
गठबन्धनका हेभीवेट उम्मेदवारविरुद्ध चुनाव जित्ने गरी एमालेको साथ खोजेका लिङदेनको कदममा ठेस लागेको छ । गिरि हल्दिबारी गाउँपालिकाका निवर्तमान उपाध्यक्ष हुन् । गत स्थानीय तह निर्वाचनमा गिरि हल्दिबारीको अध्यक्ष पदमा राजेन्द्रका भाइ रवीन्द्रसँग पराजित भएका थिए । ४० वर्षीय गिरिले उक्त क्षेत्रमा लोकप्रिय युवा नेताको छवि बनाएका छन् । मंसिरको निर्वाचनमा उनले कुनै पद दाबी गरेका थिएनन् । तर, योपल्ट पनि एमालेले राप्रपासँग चुनावी तालमेल गरेपछि पार्टी निर्णयविरुद्ध उनी चुनावमा होमिएका हुन् । ‘हामीले सधैं राप्रपाका लिङदेनलाई भोट हाल्नुपर्ने भयो, राजनीति गर्ने एमालेबाट अनि भोट हाल्नुपर्ने राप्रपालाई ? जसले गर्दा यो क्षेत्रमा एमालेको संगठन नै कमजोर बनाएको छ, त्यसैले मैले पार्टी निर्णयविरुद्ध विद्रोह गरेको हुँ,’ गिरिले भने ।
मनोनयनलगत्तै गिरिको उम्मेदवारी फिर्ता गराउन एमालेको स्थानीयदेखि केन्द्रसम्मकै नेताहरू लागे । तर, गिरिले उम्मेदवारी फिर्ता लिएका छैनन् । यद्यपि, उनलाई कारबाही गरेको विज्ञप्ति एमालेले सार्वजनिक गरेको छ । गिरिले भने आफू एमालेमै भएको दाबी गरेका छन् ।
Comments