काठमाण्डौं प्रतिनिधिसभाका लागि २३ जना 'हेभिवेट' उम्मेदवारले निर्वाचन लड्दैछन् । राष्ट्रिय राजनीतिमा ख्याति कमाइसकेका उनीहरु आगामी निर्वाचनमा जीत हासिल गर्लान भन्नेकुराको सर्वत्र चासो छ । २३ मध्ये पनि झापा–५ बाट उम्मेदवार बनेका एमाले अध्यक्ष केपी शर्मा ओली, झापा १ बाट उम्मेदवार बनेका कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, झापा–३ बाट उम्मेदवार बनेका कांग्रेस नेता कृष्णप्रसाद सिटौला तथा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, मोरङ–६ का कांग्रेस उम्मेदवार शेखर कोइराला तथा एमालेका उम्मेदवार लालबाबु पण्डित, यस्तै इलाम–१ बाट नेकपा एकीकृत समाजवादीका झलनाथ खनाल, इलाम–२ बाट संविधानसभाका अध्यक्ष तथा एमाले नेता सुवासचन्द्र नेम्वाङ, भोजपुरबाट उम्मेदवार बनेका एमाले नेता शेरधन राई, सुनसरी–३ बाट उम्मेदवार बनेका कांग्रेस नेता विजयकुमार गच्छदार बढी चर्चामा छन् । कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीबारे पनि सर्वत्र चासो छ । सबैभन्दा पहिले सर्वाधिक चासोको क्षेत्र बनेको झापा–५ हो ।
ओलीलाई २५ प्रतिस्पर्धीले टक्कर दिएकाछन् ।
झापा–५ बाट उम्मेदवार बनेका एमाले अध्यक्ष केपी शर्मा ओली आगामी निर्वाचनमा जित्छन् या जित्दैनन् भन्ने बहस देशमा मात्रै होइन, विदेशमा पनि छ । हालको सबैभन्दा ठूलो पार्टी एमालेका अध्यक्षसमेत रहेका ओलीले आफूले मात्रै होइन, आफ्नो पार्टीलाई पनि देशभरबाट जिताउनुपर्ने दबाब छ ।
झापा–५ मा अध्यक्ष ओलीका लागि त्यति सहज देखिँदैन । गठबन्धनको चौतर्फी घेराबन्दी र आफ्नै पार्टीभित्र देखिएको सुसुप्त असन्तुष्टि तथा ओलीले गरेको गठबन्धनको सहयात्री दल राप्रपाको एमालेसँग विद्यमान स्थानीय अन्तरविरोधले सहजै ओलीको पोल्टामा मत खस्न गारोछ।
सो क्षेत्रमा सत्ता गठबन्धन दलबाट नेपाली कांग्रेसका खगेन्द्र अधिकारी उम्मेदवार बनेका छन् । अघिल्लो निर्वाचनमा शानदार मत ल्याएर जितेका ओलीका लागि अहिले त्यति सहज भने छैन । यद्यपि नेकपा एमालेले राप्रपाको मत पाएको खण्डमा उनलाई जित्न अप्ठ्यारो पनि देखिँदैन । प्रतिनिधिसभाको उम्मेदवारकै रुपमा सो क्षेत्रमा ओली र अधिकारीबाहेक अन्य २४ जना प्रतिस्पर्धी छन् । झापा–५ मा स्थानीय निर्वाचन २०७९ मा पार्टीगत वडाध्यक्षका उम्मेदवारले पाएको मत यस्तो छ–
एमाले |
४१,६१९
|
कांग्रेस |
२२,०२२
|
माओवादी |
१०,७८८
|
राप्रपा |
८,३५३
|
नेकपा एकीकृत समाजवादी |
१,९८८
|
झलनाथ खनाल
यस्तै इलामको १ नम्बर निर्वाचन क्षेत्र पनि चर्चामा छ । यो क्षेत्रमा सत्तारुढ गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल उम्मेदवार छन् ।
खनाललाई आफ्नै पूर्वपार्टी एमालेका नेता तथा त्यसबेलाका सहकर्मी महेश बस्नेतले टक्कर दिँदैछन् । बस्नेतसहित सो क्षेत्रमा ११ जनाको उम्मेदवारी परेको छ । एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी)पार्टी गठनमा महत्वपूर्ण भूमिका खेलेका खनाललाई निर्वाचन जित्नैपर्ने दबाब छ ।विगतमा कांग्रेसप्रति चर्को विरोध गर्नुभएका झलनाथ खनाललाई कांग्रेसी मतदाताको मन जीत्न चुनौतिपूर्ण देखिन्छ ।
सो क्षेत्रमा स्थानीय तह निर्वाचन २०७९ मा पार्टीगत वडाध्यक्षका उम्मेदवारले पाएको मत यस्तो छ–
एमाले |
२६,२३३
|
कांग्रेस |
२५,७७२
|
एकीकृत समाजवादी |
९,४८१ |
जसपा |
१,८२९
|
माओवादी |
१,२३५
|
राप्रपा |
१,१६९
|
सुवासचन्द्र नेम्वाङ
इलामकै क्षेत्र नम्बर २ को चुनावी भिडन्त पनि सर्वत्र चासोको विषय बनेको छ । त्यस क्षेत्रबाट एमालेका नेता तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् । नेम्वाङलाई सत्ता गठबन्धनको तर्फबाट कांग्रेस स्थानीय नेता डम्बरबहादुर खड्काले टक्कर दिँदैछन् ।
एमाले विभाजन भएका कारण नेम्वाङलाई विगतमा जस्तो सजिलो देखिँदैन । अर्कोतिर गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा सो क्षेत्रमा एमालेको तुलनामा सत्तारुढ दलहरुको मत बढी देखिएको छ । सो क्षेत्रमा स्थानीय निर्वाचन २०७९ मा पार्टीगत वडाध्यक्षका उम्मेदवारले पाएको मत यस्तो छ–
कांग्रेस |
३२,९७८
|
एमाले |
३२,५२७
|
माओवादी |
२,७१७ |
जसपा |
५५४
|
एकीकृत समाजवादी |
२७७ |
राप्रपा |
१३० |
योगेश भट्टराई
पार्टी विभाजनका क्रममा १० बुँदे सहमतिपछि एमालेमै रहेका १० भाइमध्येका एक योगेश भट्टराईलाई यस पटकको निर्वाचन सहज छैन । उनलाई सत्ता गठबन्धनबाट माओवादी नेता खिलप्रसाद बुढाथोकीले चुनौती दिने ठानिएको छ । तत्कालीन नेकपामा हुँदा पार्टी अध्यक्ष केपी ओलीका विरुद्धमा देशव्यापी आन्दोलनमा हिँडेका उनलाई खाँटी ओली पक्षका एमाले कार्यकर्ताले मन पराउँदैनन् ।
उनलाई प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि उम्मेदवार बन्नबाटै रोक्ने कोसिस भए पनि टिकट भने पाए । उनलाई हाल प्रदेशसभामा उम्मेदवार बनेका ताप्लेजुङकै नेता तिलप्रसाद मेन्याङ्बोले रोक्न खोजेका थिए । अन्तिममा टिकट पाएर चुनावमा होमिएका भट्टराईले चुनावी अभियान भने सुरु गरिसकेका छन् ।
उनका आलोचकहरूले ओलीका विरुद्धमा उनले गरेको यसअघिका भाषणहरु सामाजिक सञ्जालमा छरपष्ट पारेका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम सूचीअनुसार ताप्लेजुङमा स्वतन्त्रसहित ११ उम्मेदवार छन् । यसअघि सोही क्षेत्रबाट भट्टराईले वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेर निर्वाचन जितेका थिए । सो क्षेत्रमा स्थानीय निर्वाचन २०७९ मा पार्टीगत वडाध्यक्षका उम्मेदवारले पाएको मत यस्तो छ–
एमाले |
२४,२९५
|
कांग्रेस |
१८,२८४ |
माओवादी |
४,४९७ |
एकीकृत समाजवादी |
१,३०८
|
जसपा |
९२३ |
बसन्तकुमार नेम्वाङ भर्सेज भिष्मराज आङ्देम्बे
पाँचथरमा १५ उम्मेदवार मैदानमा रहँदा कांग्रेसका भीष्मराज आङ्देम्बे र एमालेका वसन्त नेम्वाङबीच कडा टक्कर हुने देखिएको छ । अघिल्लो निर्वाचनमा वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेम्वाङले आङ्देम्बेलाई पराजित गरेका थिए । तत्कालीन वाम गठबन्धनको एक घटक माओवादी केन्द्र यसपटकको निर्वाचनमा कांग्रेससँग मिलेको छ भने एमाले आफै पनि विभाजित भएको छ ।
यसअर्थमा नेम्वाङलाई चुनाव जित्न सकस देखिन्छ । तर, स्थानीयस्तरमा लोकप्रिय रहेका नेम्वाङको व्यक्तिगत प्रभाव पनि राम्रै छ । अर्कोतिर आङ्देम्बेका लागि पनि जित निकाल्न चुनौतिपूर्ण छ । पाँचथरमा १५ जनाले उम्मेदवारी दिएका छन् । सो क्षेत्रमा स्थानीय निर्वाचन २०७९ मा पार्टीगत वडाध्यक्षका उम्मेदवारले पाएको मत यस्तो छ–
एमाले |
३०,९५८ |
कांग्रेस |
२५,०६५ |
माओवादी |
११,८०८ |
जसपा |
२,६४३ |
एकीकृत समाजवादी |
२,१६१ |
राप्रपा |
१,९०९ |
झापा–१ मा विश्वप्रकाश भर्सेस अग्नि
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले यस पटक एमाले नेता अग्नि खरेलसँग प्रतिस्पर्धा गर्दैछन् । खरेलले झापाको २ नम्बर निर्वाचन क्षेत्र रोजेका थिए । यद्यपि उनलाई एमालेले क्षेत्र नम्बर १ बाट शर्मासँग प्रतिस्पर्धामा उतारेको छ ।
यसअघि वाम गठबन्धनबाट उम्मेदवार बनेका माओवादी नेता राम कार्कीले पराजित गरेका शर्मा यस पटक भने निर्वाचन जित्ने दाउमा छन् । सो क्षेत्रमा शर्मा र खरेलसँगै अन्य १३ जना उम्मेदवार मैदानमा छन् । प्रष्ट वक्ता र वाकपटुता भएका शर्मा अध्ययनशील र प्रजातान्त्रिक आचरण भएका नेता मानिन्छन् । सत्ता गठबन्धनभित्रका घटक इमानदार बनेमा उनको पक्षमा नतिजा आउन कठिन छैन ।
सो क्षेत्रमा स्थानीय निर्वाचन २०७९ मा पार्टीगत वडाध्यक्षका उम्मेदवारले पाएको मत यस्तो छ–
एमाले |
३१,२३२
|
कांग्रेस |
२४,०५९
|
राप्रपा |
५,९२२ |
माओवादी |
३,९०५
|
एकीकृत समाजवादी |
१,२५२
|
लोसपा |
१६२ |
झापा–३ मा सिटौला र लिङ्देन
सर्वाधिक चर्चामा रहेको प्रदेश १ कै अर्को निर्वाचन क्षेत्र झापा–३ हो । यो क्षेत्रमा कांग्रेसका नेता तथा शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउन महत्वपूर्ण भूमिका खेलेका कृष्णप्रसाद सिटौला र विपरीत राजनीतिक विचारधारा बोक्ने राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
‘राजनीतिक नेतालाई जनताले चोर आयो भन्न थालेका छन्’ भनेर भाषण गरेपछि चर्चामा आएका लिङ्देन गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता लगायतका संविधानमा उल्लेखित विषयमा असहमति राख्छन् । उनी अहिलेको संविधानले अंगिकार गरेका राज्यका मूल नीतिहरुलाई नै सच्याएर पुरानै व्यवस्था फर्काउनुपर्नेमा जोड दिन्छन् । पुरानो व्यवस्थाको वकालत गर्ने लिङ्देन र अहिलेको राजनीतिक व्यवस्थाको सुत्रपात गर्ने सिटौलाबीचको भिडन्त यसअघि पनि भएको थियो ।
२०७४ सालमा वाम गठबन्धनको साथ पाएर जितेका लिङ्देनले यसपटक पनि एमालेसँग गठबन्धन गरेका छन् । सिटौला र लिङ्देन दुवै राष्ट्रिय राजनीतिका चर्चित अनुहार हुन् । उनीहरुमध्ये एक जना विजेता निश्चित भए पनि कसले बाजी मार्छ भनेर यसै भन्न सकिँदैन । उक्त क्षेत्रमा अन्य १६ जनाले पनि प्रतिस्पर्धा गर्दैछन् । सो क्षेत्रमा स्थानीय निर्वाचन २०७९ मा पार्टीगत वडाध्यक्षका उम्मेदवारले पाएको मत यस्तो छ–
कांग्रेस |
२५,९४९
|
राप्रपा |
२१,१५९
|
एमाले |
२१,०८५ |
माओवादी |
६,६८८
|
जसपा |
५३७
|
लोसपा |
२०८ |
भोजपुरमा शेरधन राई
सत्ता गठबन्धनबाट माओवादीको भागमा परेको भोजपुरमा गठबन्धनलाई निर्वाचन जित्न सहज देखिन्छ । यद्यपि एमाले नेता शेरधन राईको उम्मेदवारी गठबन्धनका उम्मेदवार सुदन किरातीलाई भारी पर्न सक्छ ।
०७४ को प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका नेता किराँतीले ३४ हजार ३९४ मत ल्याउँदा कांग्रेस र जसपासहितको गठबन्धनमा कांग्रेसका उम्मेदवार उमेशजंग रायमाझीले २१ हजार ६९६ मतमात्रै ल्याएका थिए ।
पुनः सोही निर्वाचन क्षेत्रबाट किराँतीले उम्मेदवारी दिएका छन् । ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा एमाले नेता शेरधन राईलाई हराएर विजयी भएका किराँती ०६९ सालमा भने उनै राईसँग पराजित बनेका थिए । उनी ०५६ सालमा २५ वर्षकै उमेरमा चुनाव जितेर प्रतिनिधिसभामा कान्छो सांसद बनेका थिए ।
गत २०७९ वैशाख ३० गते सम्पन्न निर्वाचनको वडाध्यक्षको मत परिणाम अनुसार जिल्लामा एमाले ठूलो पार्टी छ ।
स्थानीय तहको मत परिणाम अनुसार गठबन्धन चार दल कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीको मत जोड्दा ४० हजार हुन्छ भने एमालेको त्यो भन्दा १२ हजार कम अर्थात् लगभग २८ हजार मत रहेको छ ।
राष्ट्रिय राजनीतिमा उदयमान युवा नेताको छवि बनाएका सुदन किराँती पनि निर्वाचन जित्ने दाउमा छन् । सो क्षेत्रमा स्थानीय निर्वाचन २०७९ मा पार्टीगत वडाध्यक्षका उम्मेदवारले पाएको मत यस्तो छ–
एमाले |
२७,६५६ |
कांग्रेस |
२३,५९९
|
माओवादी |
१४,७६१
|
एकीकृत समाजवादी |
१,९४५ |
जसपा |
१,६४५ |
धनकुटामा सुनिल बहादुर थापा
पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनिलबहादुर थापा धनकुटाबाट प्रतिनिधिसभाका उम्मेदवारको रुपमा लड्दैछन् । एमालेको अत्याधिक प्रभाव क्षेत्र रहेको धनकुटामा निर्वाचन जित्नु उनका लागि गाह्रो छ । त्यसमाथि सत्ता गठबन्धनबाट माओवादीका नेता हेमराज भण्डारीले स्वतन्त्र उम्मेदवारी दिएर उनलाई चिन्ता थपेका छन् ।
सत्ता गठबन्धन हुँदा धनकुटाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र कांग्रेसको भागमा पर्ने बुझेका भण्डारीले उम्मेदवारी दर्ता हुनु एक हप्ता अगाडि नै माओवादीबाट राजीनामा दिएर स्वतन्त्र चुनाव लड्ने घोषणा गरेका थिए । धनकुटामा प्रतिनिधिसभामा एमालेबाट राजेन्द्र राई उम्मेदवार छन् । अघिल्लो निर्वाचनमा अत्याधिक मतका साथ विजयी बनेका राईका लागि भण्डारीको स्वतन्त्र उम्मेदवारीले झनै सहज बनाइदिएको छ ।
त्रिपक्षीय भिडन्त नभए पनि भण्डारीले थापा र राईमध्ये कसको बढी भोट काट्छन् भन्ने विषयले पनि नतिजा कसको पक्षमा जान्छ भन्ने निर्धारण गर्नेछ । धनकुटामा माओवादी पार्टी तेस्रो स्थानमा छ । उक्त पार्टीका धेरै कार्यकर्ता भण्डारीको चुनावी प्रचारमा हिँडिरहेका छन् । जसका कारण थापालाई कठिन देखिन्छ । सो क्षेत्रमा स्थानीय निर्वाचन २०७९ मा पार्टीगत वडाध्यक्षका उम्मेदवारले पाएको मत यस्तो छ–
एमाले |
३६,३३६ |
कांग्रेस |
२८,१८२ |
माओवादी |
५,४५८
|
जसपा |
२,२९३ |
एकीकृत समाजवादी |
१,७२८
|
राप्रपा |
३०४ |
मोरङ–२ मा सुजाता कोइराला
मोरङको क्षेत्र नम्बर २ मा भने ३ जना स्वतन्त्रसहित १३ जना उम्मेदवार बनेका छन् ।
उक्त क्षेत्रमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाको उम्मेदवारी परेको छ । यसअघि उक्त क्षेत्रमा कांग्रेसका डा. मिनेन्द्र रिजाल विजयी भएका थिए । कोइरालाको प्रतिस्पर्धामा एमाले गठबन्धनबाट ऋषिकेश पोखरेल छन् ।
अघिल्लो पटकको निर्वाचनमा पोखरेल रिजालसँग पराजित भएका हुन् । २१ वर्षपछि निर्वाचन क्षेत्रमा चुनाव लड्न आएकी सुजाताले दैनिक त्यही क्षेत्रमा घुमिरहेका एमाले नेता पोखरेलसँग चुनाव लडेर जित्न गाह्रो हुने विश्लेषण गरिन्छ । उनले पार्टीको अन्तरविरोध हल गर्दै एमालेको असन्तुष्टि र गठबन्धन दलको मत मिलाएको खण्डमा मात्रै जित हात पार्न सक्नेछिन् । सो क्षेत्रमा यसअघि स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरुले पाएको मत निम्नानुसार छ–
एमाले |
३१,३३० |
कांग्रेस |
२८,६१७ |
माओवादी |
७,२७१
|
जसपा |
५ |
राप्रपा |
२,०६९ |
लोसपा |
५६६ |
नेकपा एकीकृत समाजवादी
|
१८० |
मोरङ ३ मा भानुभक्त ढकाल
मोरङको क्षेत्र नम्बर ३ मा भने १९ जना स्वतन्त्रसहित ३३ जना उम्मेदवार बनेका छन् । उक्त क्षेत्रमा पूर्वमन्त्रीसमेत रहेका एमाले नेता भानुभक्त ढकालले यस पटक पनि दोहो¥याएका छन् । उक्त क्षेत्रमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका डा. सुनिल शर्मा उम्मेदवार बनेका छन् । यसअघि उक्त क्षेत्रमा कांग्रेसका डा. शर्मा एमाले नेता ढकालसँग पराजित बनेका थिए । अहिले पनि प्रतिस्पर्धामा एमाले गठबन्धनबाट ढकाल नै छन् ।
ढकाल र शर्माबीच प्रतिस्पर्धा हुने ठानिएको भए पनि राप्रपाबाट सो क्षेत्रमा उम्मेदवार बनेकी नायिका रेखा थापा दुवै उम्मेदवारका लागि अहिले टाउको दुखाइ बनेकी छन् । थापाले कसको मत धेरै काट्छिन् भन्ने तनाबका बीच ढकालका लागि एमाले विभाजन, टिकट वितरणमा देखिएको असन्तुष्टिको व्यवस्थापन पनि चुनौतीपूर्ण बनेको छ । सो क्षेत्रमा यसअघि स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरुले पाएको मत निम्नानुसार छ–
एमाले |
३७,४१० |
कांग्रेस |
३६,९१६ |
माओवादी |
७,३७३ |
राप्रपा |
२,१२१
|
एकीकृत समाजवादी |
१,८५५ |
जसपा |
४६३ |
मोरङ–६ मा शेखर र लालबाबु
मोरङको क्षेत्र नम्बर ६ मा यस पटक पुरानै प्रतिस्पर्धीको रोचक भिडन्त हुने भएको छ । सो क्षेत्रमा सत्ता गठबन्धनको तर्फबाट कांग्रेस नेता डाक्टर शेखर कोइराला र एमाले गठबन्धनबाट लालबाबु पण्डित उम्मेदवार छन् ।
पण्डितले कोइरालालाई २०७४ सालको निर्वाचनमा पराजित गरेका थिए । त्यसको बदला लिने दाउमा कोइराला छन् । अघिल्लो निर्वाचनमा वाम गठबन्धनबाट उम्मेदवार बनेका पण्डितले ६ सय मतले कोइरालालाई पराजित गरेका थिए । यस पटक भने माओवादीसहितको गठबन्धनबाट उम्मेदवार बनेका कोइरालाले बाजी मार्ने सम्भावना छ । यद्यपि स्थानीय तहको निर्वाचनमा कोइरालाले गठबन्धनविरुद्ध दिएको अभिव्यक्ति र उनका समर्थकको भूमिका अहिले उनकै लागि घातक हुन सक्ने देखिन्छ । सो क्षेत्रमा यसअघि स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरुले पाएको मत निम्नानुसार छ–
कांग्रेस |
२७,०८६
|
एमाले |
२४,५५६
|
माओवादी |
४,९९६
|
जसपा |
३,९३९ |
राप्रपा |
३,११५ |
एकीकृत समाजवादी |
२,३५५ |
लोसपा |
८९५ |
सुनसरी–१ मा अशोक राई
सुनसरीको क्षेत्र नम्बर १ मा २० जनाले उम्मेदवारी दर्ता गराएका छन् । सत्ता गठबन्धनको तालमेलबाट निर्वाचन लड्ने तयारी गरिरहेका जसपाका नेता अशोक राई अन्तिममा एमालेको कित्तामा पुग्नु परेपछि तनावमा छन् । एकल निर्वाचन लड्ने मानसिकतामा रहेको एमालेमा अशोकलाई सघाउने निर्णय भएपछि स्थानीय स्तरमा विद्रोह भएको छ । उनलाई एमाले नेता मनोज मेन्याङ्बोले स्वतन्त्र उम्मेदवारी दिएपछि झट्का लागेको छ ।
सत्ता गठबन्धनको मत पनि नपाउने र एमालेको पनि सबै मत नपाउने, आफ्नो पार्टीको मत कम हुनु उनका लागि यसपटकको निर्वाचन प्रतिकूल हुनसक्छ । सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रले मुक्साहाङ मेन्याङ्बोलाई उम्मेदवार बनाएको छ । सो क्षेत्रबाट यसअघि एमाले नेता जसकुमार राई विजयी भएका थिए । यस पटक पनि राई उम्मेदवारका आकांक्षी थिए । सो क्षेत्रमा यसअघि स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरुले पाएको मत निम्नानुसार छ–
एमाले |
३३,४५३ |
कांग्रेस |
२६,६६४ |
माओवादी |
७,०१८
|
राप्रपा |
४,०७४
|
सुनसरी–२ मा भीम आचार्य
सुनसरीको क्षेत्र नम्बर २ मा नेपाल कम्युनिस्ट पार्टी एमालेले भीमप्रसाद आचार्यलाई उम्मेदवार बनाएको छ । आचार्य प्रदेश १ का मुख्यमन्त्री भइसकेका व्यक्ति हुन् । उनलाई एमालेभित्र १० बुँदे पक्षधर भनेर चिनिन्छ । उनलाई सोही क्षेत्रबाट २०७४ सालमा विजयी बनेका सिताराम मेहताले चुनौती दिएका छन् । आन्तरिक पार्टीको गुटबन्दीले समस्याग्रस्त बनेको सुनसरीमा एमालेको व्यवस्थापन नै आचार्यका लागि पहिलो चुनौती हो । त्यसबाहेक भर्खरै एमालेबाट विद्रोह गरेर माओवादी प्रवेश गरेका द्वारिकलाल चौधरीको असहयोगले पनि आचार्यको जित कठिन बनाइदिएको छ । सो क्षेत्रमा यसअघि स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरुले पाएको मत निम्नानुसार छ–
कांग्रेस |
३७,७३७ |
एमाले |
३६,४७२ |
जसपा |
७,८५५ |
माओवादी |
३,२५० |
राप्रपा |
३,११०
|
एस |
२,११९
|
सुनसरी–३ मा विजय गच्छदार
यसैगरी बालुवाटार जग्गा प्रकरणमा मुछिएका कांग्रेस नेता विजयकुमार गच्छदारको क्षेत्र सुनसरी–३ पनि सधैँ चर्चामा रहने क्षेत्र हो । परिचित प्रतिद्वन्द्वी एमालेकी भगवती चौधरी गच्छदारको लागि सधैँका लागि चुनौती बन्दै आएकी छन् । उनले यस पटक पनि गच्छदारलाई चुनौती दिएकी छन् । चौधरीलाई जसपा र गच्छदारलाई सत्ता गठबन्धनको समर्थन छ । गत २०७४ सालमा वाम गठबन्धनबाट उम्मेदवार बनेकी चौधरीलाई गच्छदारले एक्लैले पराजित गरेका थिए । यसपटक गच्छदारलाई सत्ता गठबन्धन दलहरुको समर्थनले सजिलो बनाए पनि उनको उमेर र उनलाई लागेको आरोपको खण्डन गर्नु चर्को पर्नेछ । सो क्षेत्रमा यसअघि स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरुले पाएको मत निम्नानुसार छ–
एमाले |
३५,०५३
|
कांग्रेस |
३३,५७१ |
जसपा |
५,५१६
|
माओवादी |
३,८०० |
एकीकृत समाजवादी |
६२६ |
राप्रपा |
३,३३१
|
सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की
वाम गठबन्धनको देशभर दबदबा छँदा २०७४ सालमा जितेर कांग्रेसको सिट संख्या बढाएका ज्ञानेन्द्रबहादुर कार्कीलाई यस पटक विगतको तुलनामा निकै सहज छ । पुरानै क्षेत्र सुनसरीको ४ नम्बरबाट उम्मेदवार बनेका उनलाई एमालेका नेता जगदिश प्रसाद कुसियैतले टक्कर दिएका छन् । कुसियैत प्रदेश १ को तत्कालीन मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकारमा पर्यटन मन्त्रीसमेत भएका थिए ।
सांसदको हैसियतमा झण्डै निष्क्रियजस्तै देखिएका मन्त्री कुसियैत कार्यसम्पादनमा कमजोर मानिन्थे । उनको तुलनामा हालका बाहलवाला मन्त्री रहेको र राष्ट्रिय राजनीतिमा चर्चामा रहने पात्र भएको कारण कार्कीलाई निर्वाचन जित्न सहज देखिन्छ । त्यसबाहेक यसअघि एक्लै जितेको क्षेत्रमा माओवादी केन्द्र तथा एमालेबाट विभाजित भएको पार्टी नेकपा एकीकृत समाजवादीले समेत सहयोग गरेको कारण निर्वाचन जित्नेमा कार्की ढुक्क जस्तै छन् । सो क्षेत्र कांग्रेसको प्रभाव क्षेत्र मानिन्छ । पटकपटक भोजपुरबाट पराजय भोगेर सुनसरी झरेका कार्कीले २०७४ सालमा सोही निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभामा जितेका थिए । सो क्षेत्रमा यसअघि स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरुले पाएको मत निम्नानुसार छ–
कांग्रेस |
२८,७५६ |
एमाले |
२३,६१३
|
जसपा |
९,८६३ |
एकीकृत समाजवादी |
३,७००
|
माओवादी |
३,६४६ |
राप्रपा |
३,४५७
|
लोसपा |
१,५०४
|
खोटाङमा विशाल भट्टराई
खोटाङमा एमालेका नेता विशाल भट्टराईसहित ८ उम्मेदवार चुनावी मैदानमा छन् । सो क्षेत्रमा सत्तारुढ गठबन्धनको तर्फबाट माओवादी केन्द्रका रामकुमार राई उम्मेदवार छन् । नेकपा विभाजनपछि चर्चामा आएका भट्टराई काममा धेरै खट्ने नेताको रुपमा छवि बनाएका छन् । अघिल्लो निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका भट्टराईका लागि यसपटक भने चुनौती थपिएको छ । एमाले विभाजन भएको, जातीय सेन्टिमेन्ट अर्कोतिर रहेको र सत्ता गठबन्धन एक भएको अवस्थामा उनलाई जित निकाल्न हम्मेहम्मे पर्ने देखिन्छ । यद्यपि भट्टराईका लागि कांग्रेसमा देखिएको असन्तुष्टि तथा एमाले खोटाङमा एकता कायम गर्दै निर्वाचनमा होमिएको खण्डमा निर्वाचन जित्ने सम्भावना रहन्छ ।
तर, भट्टराईलाई तत्कालीन प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटन र संविधान विरोधी क्रियाकलापलाई समर्थन गरेको कारण भने जनताका कयौं प्रश्नको सामना गर्नुपर्ने देखिन्छ । सो क्षेत्रमा यसअघि स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरुले पाएको मत निम्नानुसार छ –
एमाले |
२८,७९७
|
कांग्रेस |
२६,६३३
|
माओवादी |
१८,७३६
|
जसपा |
२,९१६
|
एकीकृत समाजवादी |
२,१४४
|
राप्रपा |
८१५ |
उदयपुर–१ डा. नारायण खड्का
परराष्ट्रमन्त्रीसमेत रहेका नारायण खड्काले उदयपुर–१ मा सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका छन् । उनको मुख्य प्रतिस्पर्धीमा एमालेकी मन्जुकुमारी चौधरी छन् । वाम गठबन्धन हुँदा पनि सोही क्षेत्रबाट २०७४ सालमा विजयी बनेका खड्काका लागि यो पटक निर्वाचन जित्न झनै सहज छ । उनलाई माओवादी, नेकपा एकीकृत समाजवादीलगायतले सहयोग गरेका छन् । एमालेमा असन्तुष्टि बढ्नु र एमाले विभाजन हुनु पनि उनका लागि ‘प्लस पोइन्ट’ हो । सो क्षेत्रमा यसअघि स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरुले पाएको मत निम्नानुसार छ–
एमाले |
२१,६५२ |
कांग्रेस |
२०,७५७ |
माओवादी |
८,१७९
|
जसपा |
२,४२९
|
एकीकृत समाजवादी |
१,९९४ |
राप्रपा |
१,६३३
|
उदयपुर–२ मा जगन्नाथ खतिवडा
उदयपुर क्षेत्र नम्बर २ का रामकुमार राई कांग्रेसका क्षेत्रीय सभापति हुन् । उनले सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडाका विरुद्धमा उम्मेदवारी दिएका छन् ।
यसअघि २०७४ सालमा माओवादी केन्द्रका नेता सुरेशकुमार राई (हिमाल) विजयी भएको सो क्षेत्र नेकपा एकीकृत समाजवादीको भागमा परेको थियो । जनमत अत्यन्तै कमजोर रहेको नेकपा एकीकृत समाजवादीका नेता खतिवडालाई भाग लगाएपछि कांग्रेसमा असन्तुष्टि छ । खतिवडाका लागि कांग्रेस नेताको उम्मेदवारीले टाउको दुखाइ बनिरहँदा एमालेका उम्मेदवार अम्बर बहादुर रायमाझीका लागि भने राहत भएको छ । एमाले, कांग्रेस र माओवादी तीनै पार्टीको उल्लेख्य जनाधार रहेको उदयपुर–२ मा खतिवडाले निर्वाचन जित्न कांग्रेस र माओवादीको मन जित्नुपर्ने देखिन्छ । सो क्षेत्रमा यसअघि स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरुले पाएको मत निम्नानुसार तल दिइएको छ ।
एमाले |
१८,५७३ |
कांग्रेस |
११,३४४ |
माओवादी |
८,२०२ |
एकीकृत समाजवादी |
३,४२७
|
जसपा |
१,४३४
|
Comments